पेशागत स्वास्थ्य र सुरक्षा

Share News
पेशागत स्वास्थ्य र सुरक्षाका विषयमा अधिकांश मजदूरलाई थाहा नहुँदा अनाहकमा ७५ प्रतिशत मजदूर दीर्घ रोगबाट पीडित छन् । रोजगारदाता र श्रमिक यो विषयप्रति संवेदनशील हुन नसक्दा अनजानमै कामदारहरू रोग बोक्न बाध्य भएका हुन् । बाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले गरी आएको पेशाकै कारण उत्पन्न हुने गरेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनअनुसार ७५ प्रतिशत दीर्घरोगीमध्ये ३२ प्रतिशतमा आँखाको समस्या, १३ प्रतिशतमा हाडको समस्या र १२ प्रतिशतमा पेटसम्बन्धी रोग छ । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीका अनुसार नेपालमा पेशागत रोगबारे पर्याप्त जानकारी नभएकाले शारीरिक श्रमिक र बौद्धिक श्रमिक पनि उत्तिकै मात्रामा रोगी भएका छन् । उद्योग, कार्यालय, कलकारखाना, विद्यालयलगायत औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीमा समेत रोगको स्थिति भयावह छ भने निर्माण, घरेलु कामदार, कृषिलगायत अनौपचारिक क्षेत्रमा रहेका असङ्गठित कामदारको पेशागत स्वास्थ्य झनै पीडादायी रहेको पाइएको छ । केन्द्रका अनुसार कामदारले सुरक्षासामग्रीको प्रयोग नै नगरी धूलो, धुवाँ र चर्को ध्वनिमा काम गर्ने गरेका छन् । औपचारिक क्षेत्रमा गहु्रँगो सामान उचाल्न लिफ्टरको प्रयोग भए पनि अनौपचारिक क्षेत्रमा बोझिलो सामान उपकरणको प्रयोग नै नगरी उचाल्ने गरिएको छ । उमेर र बल भएसम्म केही नहुने भएकाले कामदारले हेलचेक्र्याइँ गर्ने गरेको पाइएको छ । औपचारिक क्षेत्रमा काम गर्ने बौद्धिक पेशाकर्मीमध्ये १७ प्रतिशत एउटै शैलीमा दिनभरि काम गर्छन् भने ३३ प्रतिशत एउटै ठाउँमा बसेर काम गर्छन् । यसले गर्दा शरीरमा हाड र नसाको समस्या देखिने हाडजोर्नी विशेषज्ञ डा. सरोजकुमार सुवाल बताउँछन् । पेशागत स्वास्थ्यका एकमात्र विज्ञका रूपमा रहेका काठमाडौं मेडिकल कलेजका प्राडा सुनीलकुमार जोशीले श्रमिकले काम गरेपछि ज्याला र तलबसँगै रोग पनि लिएर आउने गरेको र सोही रोगका कारण समयअगावै मृत्यु वा दीर्घरोग बोक्नुपर्ने अवस्था नेपालमा रहेको बताए । उनले भने, ‘नेपालमा खुट्टा भाँचियो भने उपचार आफैंले गर्नुपर्छ । कथंकदाचित् क्षतिपूर्ति १ लाख पाए पनि कामबाट निस्कनुपर्ने र जीवनभर अपाङ्ग भई बाँच्नुपर्ने अवस्था छ । उनका अनुसार श्रम ऐनले पेशागत रोग लागेको छ भने रेकर्डिङ र रिपोर्टिङ गर्नुपर्छ भनेको छ । तर, व्यवसायजन्य रोग भनेर कसले कसरी पत्ता लगाउने र कहाँ रिपोर्टिङ गर्ने, थाहा छैन ।उपभोक्ता महासङ्घका अध्यक्ष प्रेमलाल महर्जनले कृृषि मजदूरले सुरक्षा पद्धति नअपनाउँदा क्यान्सरजस्ता जघन्य रोग लागेको र इँटाभट्टामा १२ घण्टा लगातार धूलोमा काम गर्दा छातीमा गम्भीर रोग लाग्ने गरेको बताए । मजदूरलाई मास्क लगाएर काम गर्नुपर्ने, खाल्डोको पानीमा नुहाउन नहुनेबारे उद्यमीले नै बताउनुपर्ने उनको बुझाइ छ ।ट्रेड युनियन काङ्ग्रेसका आशासिंह ठकुरी पेशागत स्वास्थ्यको सुरक्षाले रोजगारदाता र श्रमजीवी दुवैलाई फाइदा हुने बताउँछन् । त्यस्तै, श्रमिकहरूमा चेतनाको कमी भएको र ‘जागीर पहिलो कि स्वास्थ्य’ भन्दा जागीर भन्ने उत्तर आउने गरेकाले पेशागत स्वास्थ्य सुरक्षित नभएको जीफण्टका दीपक पौडेल बताउँछन् । एक अध्ययनअनुसार पेशाबाट उत्पन्न हुने स्वास्थ्य र दुर्घटनाकै कारण विश्वमा दैनिक ३ हजार ६ सयजना मर्छन् भने वर्षेनि ३ अर्ब १७ करोडओटा पेशाजन्य दुर्घटना भई स्वास्थ्यमा जोखीम आउँछ ।श्रम ऐनमा गरिएको व्यवस्था श्रम ऐन २०७४ ले रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि कार्यस्थलमा अपनाउनुपर्ने उपाय तथा व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद–१२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी व्यवस्था गरिएको छ । यसमा रोजगारदाताले सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने उल्लेख छ । रोजगारदाताले कार्यस्थलमा श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाई कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । रोजगारदाताले कुनै उपकरण, वस्तु वा पदार्थबाट कार्यस्थलमा सम्बद्ध व्यक्तिको सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपयुक्त ढङ्गले सञ्चालन वा प्रयोग गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्नुपर्ने पनि ऐनमा व्यवस्था गरिएको छ । त्यस्तो उपकरण, वस्तु वा पदार्थको प्रयोगबाट सुरक्षा वा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खतरा पत्ता लगाई खतरा हटाउन वा घटाउन आवश्यक अनुसन्धान, प्रयोग वा परीक्षण गर्नुपर्ने कुरा ऐनमा रहेको छ । कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग गर्दा सुरक्षा र स्वास्थ्यको दृष्टिले अपनाउनुपर्ने आवश्यक कुराबारे पूर्ण रूपमा जानकारी गराउन दिग्दर्शन तयार गर्नुपर्ने दायित्व पनि रोजगारदाताको छ ।श्रमिकको कर्तव्य
  • कार्यस्थलमा जानीजानी वा लापरवाहीपूर्वक आफ्नो वा अरू कसैको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने कुनै पनि कार्य गर्नु हुँदैन ।
  • कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग सुरक्षित तथा होशियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्न तयार गरिएकोे दिग्दर्शन, सल्लाह तथा अन्य कुराको सम्बन्धमा जानकारी प्राप्त गर्नुपर्छ ।
  • कार्यस्थल, उपकरण, वस्तु वा पदार्थ सञ्चालन तथा प्रयोग गर्न तयार पारिएको दिग्दर्शन जानकारी तथा सल्लाहबमोजिम त्यस्तो कार्यस्थल, उपकरण वा पदार्थ सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्नुपर्छ ।
  • रोजगारदाताले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा साधनको प्रयोग अनिवार्य गर्नुपर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।