यन्त्रीकरण र स्वचालित कार्यप्रणाली : श्रमिकका लागि चुनौती कि अवसर ?

Share News
दुर्गा लामिछाने/रमा सुवेदी १९औं शताब्दीको शुरूमा बेलायतमा औद्योगिक क्रान्ति शुरू हुँदा टेक्सटाइल मजदूरहरूले मेशिनले रोजगारी खोस्ने डरले धागो कात्ने मेशिन तोडफोड गरे । गतवर्षको मध्यतिर फेसबुकका सीईओ मार्क जुकरबर्गले विकास गरेको कृत्रिम बौद्धिकता (एआई)युक्त ‘च्याटबोट’ले एकअर्कासँग कुरा गर्न आफैले नयाँ भाषा विकास गरेपछि उक्त परियोजना नै बन्द गरियो । नेपालमा शुरूशुरूमा कम्प्युटर भित्रिँदा टाइपिष्टहरूमा आफ्नो रोजगारी गुम्ने र कार्यालयका हाकीमहरूमा कार्यालयका सम्पूर्ण सूचनाको नियन्त्रण तल्लो तहका कर्मचारीको हातमा जाने त्रास थियो । माथिका उदाहरणहरूले नयाँ प्रविधिका सम्बन्धमा रहेको भय उजागर गर्दछ । जसरी १९औं शताब्दीको शुरूतिर मेशिनले रोजगारी खोस्छ भन्ने डर थियो अहिले पनि एआईको उच्चतम् विकासले मानव सभ्यता नै खतरामा पर्ने चिन्ता छ । एआईले निम्त्याउन सक्ने जोखीमका सम्बन्धमा हलिवूड, बलिवूडलगायत धेरै फिल्म उद्योगले सयौं चलचित्र पनि बनाएका छन् । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इङ्कका सह–संस्थापक तथा सीईओ एलन मस्कले रोबोटले मानिसको काम खोस्दै जाँदा आम बेरोजगारी बढ्ने सङ्केत गरेका छन् । त्यस्तो बेरोजगारी भयावह सामाजिक चुनौती बन्ने भन्दै भविष्यमा एआईको सामना गर्ने तरीका सोच्न र समय घर्कनु अगावै त्यसको नियमन गर्न पनि चेतावनी दिएका थिए । अमेरिकी व्यवसायी तथा माइक्रोसप्mट कर्पोरेशनका सह–संस्थापक विल गेट्सले अहिले मानिसले जसरी आम्दानीको केही रकम करका रूपमा तिरिरहेका छन् । भविष्यमा मानवीय काम खोस्ने रोबोट (यस्ता रोबोट प्रयोग गर्ने कम्पनी)लाई पनि यस्तै कर तिराउनुपर्ने अवधारणा राखेका थिए ।दिवङ्गत बेलायती खगोलशास्त्री तथा भौतिकशास्त्री स्टेफन हकिङले त कलकारखाना स्वचालित बन्दै जाँदा परम्परागत उत्पादन क्षेत्रमा रोजगारी घटेको र एआईको उदयका कारण मध्यमवर्गीय मानिसले सबैभन्दा धेरै रोजगारी गुमाउने बताएका थिए । हकिङले एआईको विकासलाई मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धि बताउँदै यसबाट उत्पन्न जोखीम टार्न सकिएन भने यो नै अन्तिम उपलब्धि हुने चेतावनी नै दिएका थिए ।कामको यन्त्रीकरण र एआईले रोजगारी खोस्छ कि खोस्दैन भन्ने विषय यतिबेला सबैभन्दा ठूलो प्रश्न बनेर तेर्सिएको छ । हिजोका दिनमा सयौं भरियाले बोक्ने सामान अहिले एउटै ट्रकले बोकिदिन्छ । हजारौैं मानिसले महीनौं/वर्षौं लगाएर फोड्ने पहरो एउटा एस्क्याभेटरले केही दिनमै फोडिदिन्छ ।

रोजगारी प्रभाव पर्ने र नपर्ने क्षेत्र उन्नत प्रविधि, रोबोट र यन्त्रको बढ्दो प्रयोगले आगामी केही दशकमा विश्वबाट लाखौं रोजगारीका क्षेत्र हराउने खालका प्रक्षेपणहरू अहिले सार्वजनिक भइरहेका छन् । यन्त्रीकरणले कहिले कसलाई कसरी प्रभाव पार्छ भन्नेबारे पछिल्ला केही वर्षमा विभिन्न सर्वेक्षण र अध्ययन भएका छन् । यसै वर्षको शुरूमा २९ देशका २ लाख कामदारको अध्ययन गरेर बजार अनुसन्धाता संस्था पीडब्ल्यूसीले एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । यसमा स्वचालनका तीन लहर एल्गोरिदम, अग्मेण्टेशन र अटोनोमी र यसले रोजगारीका अवसरमा पार्ने प्रभाव उल्लेख गरिएको थियो । औद्योगिक उत्पादन, यातायात, निर्माण क्षेत्रका २ चौथाइभन्दा बढी रोजगारी क्षेत्र स्वचालित हुने प्र्रतिवेदनले देखाएको छ । थोक र खुद्रा व्यापारलगायत क्षेत्रका रोजगारीमा यसको प्रभाव धेरै पर्ने छ । यसले अदक्ष र न्यून शैक्षिकस्तरका श्रमिकले अहिले गर्दै आएको काम बढी खोस्नेछ ।नेपालमा डिजिटाइजेशनको प्रक्रिया नै शुरू भएको छैन । यहाँका गाउँगाउँमा अहिले पनि बिजुली, कम्प्युटरको पहुँच छैन । त्यसैले प्रतिवेदनमा भनिएअनुरूप हाम्रो देशमा स्वचालनको प्रभाव परिहाल्ने स्थिति छैन । पीडब्ल्यूसीको प्रतिवेदनले यातायात, भण्डारण, उचाल्ने तथा स्थानान्तरण, हिसाब राख्ने, कारखाना, खेती किसानी, भवन निर्माण, थोक तथा खुद्रा व्यापारका साथै सेवाक्षेत्रका निश्चित कामहरूमा स्वचालनले सबैभन्दा बढी प्रभाव पार्ने देखाएका छ । यी क्षेत्रका तुलनामा स्याहारसुसार, विवेक लगाउनुपर्ने काम, शिक्षण, मानवीय संवेदना तथा सम्पर्क चाहिने काम, मानव स्वास्थ्य र सामाजिक कार्य आदिमा स्वचालनले कम प्रभाव पार्छ ।रोजगारी खोसिनेले के गर्ने ? संसारभर एकैपटक र सबै क्षेत्रमा स्वचालन आउँदैन । आएका नयाँ प्रविधि सबै आफै चल्ने नभई धेरैजसो मानिसको संलग्नता आवश्यक पर्ने हुन्छन् । बेलायतमा टेक्सटाइल मजदूरहरूले गरेको आन्दोलन(लुड्डाहट आन्दोलन)पछिको अवस्थालाई हेर्ने हो भने पनि यो कुराको पुष्टि मिल्छ । मेशिनको प्रयोगले रोजगारी गुम्ने डरले मेशिन तोडफोड गरेका भए पनि प्रविधिको प्रयोगसँगै उत्पादन बढ्यो । यसले गर्दा मेशिनले गर्नेभन्दा बाहेकका काम गर्न प्रशस्तै मजदूरले काम पाए र कपडा पनि सस्तो भयो । नेपालमा पनि कामदारको ज्यालादर र उनीहरूबाट काम सम्पन्न हुँदा लाग्ने समयका तुलनामा मेशिनले गर्दा सस्तो र छिटो पर्ने कारणले मिलेसम्मका कामहरू मेशिनले गर्ने प्रचलन बढ्दो छ । साथसाथै त्यही ठाउँमा यस्ता मेशिन सञ्चालन गर्ने शीप भएका अपरेटरहरूको भने माग बढ्दो छ । त्यसैले बदलिँदो समयसँगै उपलब्ध रोजगारीका लागि आवश्यक शीप, शिक्षा र दक्षता प्राप्त गर्दै जानुपर्छ । यस्ता व्यक्तिहरूको उत्पादकत्व बढी हुन्छ र उत्पादनमा वृद्धिसँगै तलब, सुविधाहरू पनि बढ्दै जान्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।