प्रदेश नं. ४ को बजेट १ अर्ब

Share News
कास्की । प्रदेश नम्बर ४ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिका लागि बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । आगामी बजेटलाई पूर्वाधारको विकास कार्यान्वयनमा लैजाने उद्देश्यअनुसार प्राथमिकता निर्धारण गरी अर्थमन्त्री गुरुङले बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री गुरुङले कानून तर्जुमा र कार्यान्वयन, प्रदेश गौरवका आयोजनाको पहिचान, आयोजना बैङ्कको तयारी, भौतिक पूर्वाधार निर्माणका सबै चुनौतीपूर्ण कार्यलाई प्रदेश निर्माणको अवसरको रूपमा लिएको बताए । थोरै समयका लागि बजेट ल्याइएको भन्दै उनले बजेटमा सबै पक्षलाई सम्बोधन गर्न नसकेको धारणा राखे । नेपाल सरकारबाट भौतिक संरचनाको उचित व्यवस्थापन र वित्तीय व्यवस्थापन गर्न अनुदानको रूपमा विनियोजित भएको १ अर्ब २ करोड ५ लाख मात्रै बजेटको स्रोत भएकोले सोहीअनुसारको बजेट विनियोजना गरिएको हो । बजेटमा पूँजीगततर्फ ५४ करोड १ लाख २५ हजार र चालूतर्फ ४८ करोड ३ लाख ७५ हजार रुपैयाँ छुट्टाइएको छ । सरकारले चालू आवको नीति र कार्याक्रममा पर्यटन, ऊर्जा, कृषि उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकताको क्षेत्रमा राखेको थियो । सोही क्षेत्रलाई नै लक्षित गरी बजेट विनियोजन गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।