डेरी उद्योग कलश मिल्क इण्डष्ट्रिज गाउँको मुहार फेर्ने अभियानमा

Share News

स्थानीय युवाको सक्रियतामा पर्साको धोरे गाविस वडा नं ५ मा स्थापना भएको कलश डेरी उद्योग यस क्षेत्रकै अनुकरणीय उधम बन्न सफल भएको छ । ४ वर्षअघि शुरू गरिएको उद्योग विभिन्न निकाय तथा सङ्घसंस्थाको प्रोत्साहनबाट कलश मिल्क इण्डष्ट्रिजमा रूपान्तरण भएको छ । उधोग मार्फत बारा र पर्साका करीब ५ हजार किसान लाभान्वित भएको स्थानीय उधोगका प्रबन्ध निर्देशक श्यामवदन यादव बताउछँन । उधोग बाट उत्पादित दुध स्थानीय स्तरमै विक्री हुन थालेपछि ग्रामीण भेगका युवाहरूको जीवनस्तरमा पनि सुधार आएको छ ।

लागूऔषध गाँजा र चरेसको उत्पादनका कारण कुख्यात पर्साका किसानलाई अवैध खेती निरुत्साहित गर्ने अभिप्रायले श्यामवदन यादवको प्रयासबाट यो परिवर्तन सम्भव भएको हो । महीनावारी ९० हजार रुपैयाँको आकर्षक तलब हात लाग्ने इञ्जिनीयरको जागीर छाडेर यादवले आफ्नै गाउँमा कलश मिल्क इण्डष्ट्रिज खोलेर स्थानीय किसानलाई आयआर्जनको वैकल्पिक बाटो मात्र देखाएका हुन् । उनकै व्यवस्थापकीय अगुवाइमा सञ्चालनमा रहेको उद्योगले मुलुककै प्रवेशद्वार र आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्जमा दूधको कुल मागको आपूर्तिमा दोस्रो स्थान ओगट्न सफल भएको
छ । ‘वीरगञ्जमा दूधको कुल माग करीब २० हजार लिटर छ । त्यसमध्ये हामीले झण्डै ३ हजार ५ सय लिटर आपूर्ति गर्दै आएका छौं,’ यादवले भने, ‘आगामी २ महीनाभित्र उत्पादन थप गरी देशका प्रमुख शहरमा उत्पादन पुर्‍याउने योजना छ ।’

उधोगले हवाइट गोल्ड ब्राण्डमा दूध, दही, घिउ, पनिर, आइसक्रीम, बटर, लस्सीलगायत दूधजन्य उत्पादन विक्री गर्छ । २२ लाख रुपैयाँको लगानीमा शुरू भएको उद्योगमा हालसम्म साढे ५ करोड रुपैयाँ लगानी भइसकेको छ । १२ हजार लिटर दूध उत्पादनको क्षमता रहेको उद्योगले दूध सङ्कलनका लागि स्थानीय किसानहरूलाई ३९ ओटा भैसी पनि वितरण गरेको छ । त्यस्तै आफ्नै स्वामित्वमा उद्योग सञ्चालनमा रहेको धोरेमा १५ ओटा  गाईसहितको गौशालासमेत सञ्चालन गरेको छ ।

आवश्यक दूध सङ्कलनका लागि पर्साको पोखरिया तथा बाराको डुमरवाना र कोल्वीमा चिस्यान केन्द्र सञ्चालनमा रहेको यादवले बताए । कार्य आरम्भलगत्तै समृद्धि फाउण्डेशनले प्रदान गरेको ग्लोबल इण्टरप्यानलशिप अवार्ड तथा सूर्य सोसल इण्टरप्यानलशिप अवार्डबाट उत्साहित उद्योग व्यवस्थापन नेदरल्याण्डको सहयोगमा फरेन डाइरेक्ट इन्भेष्टमेण्ट (एफडीआई भित्र्याउन सफल भइसकेको छ ।

‘नेदरल्याण्डबाट भित्रिएको अत्याधुनिक प्रविधिबाट उत्पादनमा सहजता र सरलता थपिएको छ । साथसाथै यो नयाँ प्रविधिले उत्पादनमा गुणस्तर कायम राखी बजार प्रतिस्पर्धामा उत्रिन सजिलो भएको प्रबन्ध निर्देशक यादवले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।