काठमाडौं । मुलुकभित्र सञ्चालन रहेका सबै ग्यास उद्योगले अन्ततः नेपाल गुणस्तर ‘५३३–२०७०’ प्रमाणपत्र (एनएस चिह्न) लिन चासो देखाएका छन् । सरकारले एनएस चिह्न लिन अटेर गर्ने ग्यास उद्योगीलाई ‘नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७’ अनुसार कारबाही गर्ने चेतावनी दिएसँगै उद्योगीले एनएसका लागि निवेदन पेश गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी गराएको हो ।
विभागले २०७३ माघ २९ गतेसम्म सबै ग्यास उद्योगलाई एनएस चिह्न लिन अनिवार्य गरेको हो । हाल मुलुकमा कुल ५८ वटा ग्यास उद्योग रहेकोमा ८ वटाले भने एनएस चिह्न प्राप्त गरिसकेको विभागकी प्रवक्ता रोमी मानन्धरले बताइन् । उनका अनुसार श्रीकृष्ण, साईबाबा, नेपाल ग्यास, मनोज ग्यास, मेट्रो काठमाडौं, एनएल ग्यास, जानकी र मारुती ग्यास उद्योगले एनएस चिह्न प्राप्त गरेका छन् । आवेदन दिएकामध्ये १८ वटा ग्यास उद्योगको विभागले २ पटक अनुगमन गरिसकेको विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले बताए । अनुगमनको क्रममा उद्योग सञ्चालनका लागि आवश्यक सबै पक्षको व्यवस्थापन गर्न निर्देशन दिएको समेत उनले स्पष्ट पारे । यी उद्योगहरुले प्रक्रिया पूरा गरेको जानकारी विभागमा गराउनासाथ तुरुन्तै एनएस चिह्न पाउने व्यवस्था छ । बाँकी रहेका ३२ ग्यास उद्योगको पनि पहिलो पटकको अनुगमन प्रक्रिया पूरा गरेको र ती उद्योगलाई आवश्यक अन्य विषय÷प्रक्रिया पूरा गर्न निर्देशन दिएको ठाकुरको भनाइ छ । ती उद्योगमा दोस्रो चरणको अनुगमन गरेपछि मात्र एनएस चिह्नका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।
नेपाल गुणस्तरअन्तर्गत ‘स्ट्याण्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ मापदण्डअनुसार देशैभरका यस्ता बोटलिङ प्लाण्टलाई निश्चित दायरामा आउन विभागले निर्देशन दिएको थियो । तर, उक्त निर्देशनलाई ग्यास उद्योगीले अटेरी गरेपछि विभागले उद्योगीको पीडीओ (प्रडक्ट डिलेभरी अडर) रोक्न नेपाल आयल निगमलाई पत्राचार समेत ग¥यो । पीडीओमा निगमको कडाइ र विभागले उद्योगमा अनुगमन गरी बन्द गर्न शुरू गरेसँगै सबै ग्यास उद्योगी मापदण्डमा आउन तयार भएको विभागले प्रष्ट पारेको हो ।
विभागले मापदण्डअन्तर्गत, ग्यास भर्ने सिलिण्डर र उद्योगको पूर्वाधारसम्बन्धी आधार हेर्ने गरेको बताएको छ । गुणस्तर ऐनले तोकेअनुसार सिलिण्डर प्रयोग नभएको पाइए कारबाही हुने विभागको दाबी छ । विभागका अनुसार तोकिएको मापदण्डअनुसार सिलिण्डर बाक्लो हुनुपर्ने, नियमित रूपमा सिलिण्डरको हाइड्रोलिक टेष्ट गरेको हुनुपर्ने र हाइड्रोलिक टेष्ट गर्ने उपकरणको अवस्था पूर्णरूपमा सही हुनुपर्ने व्यवस्था छ । सिलिण्डरमा सेफ्टी क्याप लगाएको हुनुपर्ने, सिलिण्डर नकुच्चिएको र लेदो नजमेको हुनुपर्ने र बोटलिङ प्लाण्टमा काम गर्ने कामदार उपकरण सञ्चालनमा दक्षता प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।