चुनौतीपूर्ण बन्दै बाह्य क्षेत्र सन्तुलन : चालूखाता घाटा पौने २ खर्ब

Share News
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को ९ महीनामा सरकारको चालू खाता करीब पौने रू. २ खर्ब घाटामा छ । गत आवदेखि घाटामा गएको देशको चालूखाता घाटा गहिरिँदै गएपछि केन्द्रीय बैङ्कले मुलुकको बाह्य क्षेत्र सन्तुलन चुनौतीपूर्ण बनेको बताएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीवार सार्वजनिक गरेको चालू आवको नौमहिने समष्टिगत आर्थिक प्रतिवेदनले चालूखाता रू. १ खर्ब ७२ अर्ब घाटामा रहेको देखाएको छ । गत आवको ९ महीनामा मुलुकको उक्त खाता रू. १० अर्ब ३४ करोडले घाटामा थियो । सङ्घीयता कार्यान्वयन शुरू भएसँगै सरकारी खाता घाटामा गएको हो । अर्थशास्त्रीले चालूखाता घाटा बढ्नुलाई जोखीमपूर्ण भनेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा शङ्कर शर्मा चालूखाता लगातार घाटामा रहँदा अर्थतन्त्र जोखीममा पर्न सक्ने बताउँछन् । राष्ट्र बैङ्कले भने आयात उच्च दरमा बढेकाले चालू खाता उच्च घाटा भएको भनेको छ । वस्तु तथा सेवा व्यापारको सन्तुलन मापक चालूखाता घाटामा गएसँगै समग्र शोधनान्तर रू. १४ अर्ब ६० करोडले घाटामा छ । गत आवको यसै अवधिमा यस्तो शोधनान्तर रू. ५० अर्ब ६० करोडले बचतमा थियो । चालू आवको चैत महीनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत छ । गतवर्षको यसै अवधिको यस्तो मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत थियो । यस अवधिमा तरकारी, फलफूल, दुग्ध पदार्थ र अण्डाको मूल्य बढेकाले समग्र खाद्य मुद्रास्फीति बढेको हो । यद्यपि समीक्षा अवधिको औसत उपभोक्ता मुद्रास्फीति भने ४ दशमलव १ प्रतिशत छ । यसमा खाद्य मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति शून्य दशमलव ७ प्रतिशत थियो । गतवर्ष ६ दशमलव ३ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फीति भने ५ दशमलव ८ प्रतिशतमा सीमिति छ । लत्ताकपडा, जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण र शैक्षिक सामग्रीको मूल्य वृद्धिदर गतवर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति नियन्त्रणमा रहेको हो । नेपालबाट ९ महीनामा रू. ६० अर्बको वस्तु निर्यात भएको छ । त्यसमा चीनतर्फ हुने निर्यातभन्दा भारततर्पmको निर्यात न्यून दरमा वृद्धि भएको छ । यसै अवधिमा कुल वस्तु आयात भने २० दशमलव ६ प्रतिशतले बढेर रू. ८ खर्ब ७६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९ दशमलव ७ प्रतिशतले बढेको थियो ।यस अवधिको विप्रेषण आप्रवाह ५ दशमलव ६ प्रतिशतले बढेर रू.५ खर्ब ४० अर्ब ३८ करोड छ । यस्तो आप्रवाह वृद्धिदर गत आवको सोही अवधिको तुलनामा भने कम हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।