कण्टेनरमा क्लिङ्कर ढुवानी गर्न सकिन्छ

Share News
बारा र पर्साका सिमेण्ट उद्योगले यतिबेला कच्चापदार्थको आपूर्तिमा भोग्नुपरेको समस्याबाट सिमेण्ट उत्पादनको लागत बढ्न गएको छ । यसबाट अन्य क्षेत्रका उद्योगसित मूल्यका आधारमा प्रतिस्पर्धा गर्न कठिनाइको सामना गरिरहनुपरेको छ । रक्सौलबाट भइरहेको ढुवानी मुजफ्फरपुरनजीकैको नारायणपुरबाट हुन थालेपछि ढुवानी खर्च अप्रत्यासित रूपमा बढ्ने नै भयो । यसबाट प्रतिबोरा सिमेण्टमा ७० रुपैयाँदेखि १ सय रुपैयाँसम्म लागत बढेको छ । आयातकर्ताले नारायणपुरमा एक र्‍याक सिमेण्टमा जरीवानामात्रै ५० लाखदेखि १ करोड भारूसम्म तिर्नुपरेको छ । भारतीय रेलवेले बेलाबेलामा जरीवानाको दर ६ गुणासम्म बढाउने गरेको छ । रक्सौलमा ३ लाइनमा अनलोड हुने गरेकोमा नारायणपुरमा २ लाइनमात्र उपलब्ध हुनाले पनि समस्या थपिएको छ । यसबाट ढुवानीमा ढिलाइ भइरहेको छ । यसबाट जरीवाना बढ्न जान्छ । क्लिङ्कर आयातमध्ये करीब आधाजति परिमाणमा जरीवाना लाग्ने गरेको छ । जरीवानाको अन्तिम असर उत्पादन लागतमै पर्ने हो । पूर्वी र पश्चिम नेपालका सिमेण्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अत्यन्तै कठिन भइरहेको छ । अहिले क्लिङ्करको भाउ पनि बढेको छ । नेपालका क्लिङ्कर उत्पादकले समेत भारतबाट आयात हुने क्लिङ्कर नेपालमा आइपुग्दा पर्ने मूल्यलाई आधार मानेर भाउ राख्ने हुनाले झन् समस्या भएको छ । बारा र पर्साका १३ ओटा उद्योगको भविष्य सुरक्षित गर्नेबारेमा सरकारको भूमिका देखिएन । यस्तै हो भने यी उद्योग पनि नेपालमा घीउ र चामल उद्योगजस्तै बन्द हुने स्थितिमा पुग्न सक्छन् । वीरगञ्ज सुक्खा बन्दरगाहमा क्लिङ्कर अनलोडको व्यवस्था मिलाउनुपर्छ । त्यहाँ ठाउँ साँघुरो भएमा बन्दरगाहमा आउने बोराबन्द र फलामको कार्गोलाई रक्सौलमा झारेर क्लिङ्करलाई यहाँ अनलोडको व्यवस्था मिलाउन नसकिने होइन । अर्काे विकल्प, कण्टेनरमा क्लिङ्करको ढुवानी गर्न सकिन्छ । यसो भयो भने कण्टेनरमा सुक्खा बन्दरगाहसम्म क्लिङ्कर आउन सक्छ । त्यहाँबाट उद्योगसम्म कण्टेनरमै पु¥याउँदा प्रदूषणको समस्या र यसको बहानामा विरोध र अवरोधको सम्भावना पनि रहँदैन । समस्याको समुचित निकासमा अब पनि विलम्ब गर्ने हो भने बारा र पर्साका सिमेण्ट उद्योगको अर्बौं रुपैयाँबराबरको लगानी डुब्न सक्छ । सरकार र सरोकारका निकाय बेलैमा सचेत हुन जरुरी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।