कच्चापदार्थको आपूर्तिमा उत्पन्न समस्याका कारण वर्तमान परिप्रेक्षमा बारा र पर्साका सिमेण्ट उद्योगहरूको उत्पादन विक्री खस्किएको छ । सामान्यतया माघ/फागुनदेखि जेठसम्म सिमेण्टको माग बढी नै हुन्छ । तर, यही समयमा यहाँका उद्योगका लागि कच्चापदार्थको आपूर्ति ज्यादै सकसपूर्ण बन्यो । रक्सौलमा क्लिङ्कर अनलोड रोकिएपछि केही समय त यहाँका उद्योग करीब बन्दजस्तै भए । समस्याको समाधानका लागि धेरै पटक छलफल भए । भारतीय रेलवे र सरोकारका नेपाली अधिकारीलाई आग्रह गरियो । तर, अहिलेसम्म समाधानको कुनै पनि आशलाग्दो प्रत्याभूति हुन सकेको छैन । रक्सौलमा हुँदै आएको अनलोड रोकिएपछि अहिले नारायणपुरबाट क्लिङ्कर ल्याउनुपरेको छ । कतिपय उद्योगले भारतको मध्यप्रदेशका क्लिङ्कर उद्योगबाट गाडीमै क्लिङ्कर ल्याउने गरेका छन् । बर्खायाममा नारायणपुरबाट हुने ढुवानी झनै समस्याग्रस्त हुने निश्चित छ । बर्खाको पानीले भिजेर कच्चापदार्थ बिग्रिन्छ । यसरी कच्चापदार्थको अभाव टार्दा बारा र पर्साका उद्योगले उत्पादन गर्ने सिमेण्टको लागत प्रतिबोरा ७५ रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढी पर्न गएको छ, जसको प्रत्यक्ष असर बजारमा पर्नु स्वाभाविकै हो । अहिले पश्चिम नेपालका सिमेण्ट उद्योगले पूर्वको बजार कब्जाजस्तै गरेका छन् । जब कि, त्यो यस क्षेत्रका उद्योगको बजार थियो । यो सबै प्रतिकूल असर उत्पादनको लागत बढ्नुको परिणाम हो । यस्तै, अवस्था रहेमा बारा र पर्साका १३ ओटा सिमेण्ट उद्योगको भविष्य के हुन्छ, यसै भन्न सकिन्न ।
सरकारले तत्काल यसको वैकल्पिक समाधान निकाल्नुपर्छ । तत्कालका लागि रक्सौलमा अनलोड सुचारु गर्नुपर्दछ । नेपाल सरकारले एउटा समयसीमाभित्र आफ्नै भूमिमा विकल्प मिलाउने प्रतिबद्धतासहित आग्रह गर्ने हो भने हाललाई यो पनि समाधानको एउटा उपाय हो, यो असम्भव छैन । दीर्घकालका लागि बारा–पर्सा कोरिडोर आसपासको क्षेत्रमा उपयुक्त स्थान छनोट गरी प्रदूषण नियन्त्रणको प्रविधिसहितको अनलोड स्थल बनाउनु उपयुक्त देखिन्छ । सरकारले यस्ता स्थानहरूको सम्भाव्यता अध्ययन गरिरहेको भन्ने पनि यदाकदा सुनिएको छ । साथै, क्लिङ्करमा आत्मनिर्भर हुन सरकारले खानीको प्राप्ति र आवश्यकीय भौतिक र कानूनी पूर्वाधारको प्रबन्धलाई बलियो र व्यावहारिक तुल्याउनु पनि अपरिहार्य देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।