हेभी इक्वीपमेण्ट विकासको सहयात्री

Share News

चालू आवको कात्तिक महीनासम्म नेपालका बैङ्क तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ८५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका छन् । आवास, गैरआवास तथा ठूला निर्माण क्षेत्रमा वित्तीय संस्थाले गरेको लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ५५ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैङ्कको कात्तिक महीनाको वित्तीय विवरणले देखाएको छ ।

आव २०६८/६९ को कात्तिक महीनासम्म नेपालमा सञ्चालित वित्तीय संस्थाहरूले निर्माण क्षेत्रमा ८० अर्ब ४ करोड रुपैयाँ लगानी गरेका थिए । साना तथा ठूला निर्माण क्षेत्रका लगानीमा भएको वृद्धिसँगै नेपालका हेभी इक्वीपमेण्ट व्यवसायीहरू पनि हौसियका छन् । यस्ता इक्वीपमेण्टको विक्री बढे पनि देशको वर्तमान अवस्थाले आशातित बजार लिन नसकेको नेपाल हेभी इक्वीपमेण्ट व्यवसायी सङ्घका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन् । उनी भन्छन्, ‘विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने हेभी इक्वीपमेण्ट साधनको विक्री बढेको छ । तर, विगत ६ महीनायता राजनीतिक अस्थिरता तथा विकास निर्माणको क्षेत्रमा देखिएको शिथिलताले यसको बजारले प्रगति भने गरेको छैन ।’

ग्रामीण सडक, पुल, हाउजिङ कम्पनी, जलविद्युत्लगायत ठूला निर्माण कार्यमा हेभी इक्वीपमेण्टको प्रयोग बढी हुने गर्छ । नेपालमा अहिले वार्षिक करीब १ अर्ब रुपैयाँबराबरको हेभी इक्वीपमेण्ट विक्री हुने गरेको व्यवसायीहरू बताउछन् । हेभी इक्वीपमेण्टलाई ‘अर्थमुभिङ इक्वीपमेण्ट’ पनि भनिन्छ । यस्ता साधनलाई ‘निर्माण’, ‘माइनिङ’ र ‘युटिलिटी’ गरी तीन वर्गमा छुट्ट्याइन्छ । निर्माण कार्यमा प्रयोग हुने ठूला मेशिनहरूमा स्काभेटरको हिस्सा करीब ५० प्रतिशत छ । निर्माणका लागि सानो आकारका स्काभेटर, डोजर, लोडर, ग्रेडर र डम्प ट्रकको बढी प्रयोग हुन्छ । तर, माइनिङ तथा युटिलिटीका लागि ठूला स्काभेटर, डोजर, लोडर र डम्प ट्रक आवश्यक पर्छ । यस्ता साधनको खपत पनि नेपालमा बढिरहेको छ ।

के हो हेभी इक्वीपमेण्ट ?
निर्माण कार्यमा प्रयोग हुने मेशिनलाई ‘अर्थमुभिङ इक्वीपमेण्ट’ भनिन्छ । यस्ता मेशिनहरू तुलनात्मक रूपमा ठूला र गह्रौं खालका हुन्छन् । साधारण अर्थमा सडक, पुल, ठूला भवनलगायतका निर्माण कार्यमा प्रयोग हुने ठूला मेशिनलाई हेभी इक्वीपमेण्ट भनिन्छ । यस्ता मेशिनले सयौं मानिसलाई दिनभर लाग्ने काम केही मिनेटमै गर्न सक्छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।