कास्की । पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीले मङ्गलवारदेखि काम छाडेर आन्दोलनमा उत्रेपछि अस्पतालका आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प भएका छन् । कर्मचारी र अस्पताल प्रशासनबीचको द्वन्द्वले अस्पतालका सेवा प्रभावित भएपछि गाउँबाट उपचारार्थ आएका बिरामी स्वास्थ्योपचारबाट वञ्चित भएका छन् । अस्पतालमा दैनिक करीब १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।
फार्मेसीमा अनियमितता गरेको आरोपमा चारजना कर्मचारीलाई अस्पताल प्रशासनले निकालेपछि अस्पतालमा कार्यरत अन्य कर्मचारी पुनर्वहालीको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुरलाई प्रशासनले फार्मेसीमा आर्थिक अनियमितता र संस्थाको हितविपरीत कार्य गरेको आरोप लगाएर निकालेपछि कार्यरत कर्मचारीले अस्पतालको आकस्मिक सेवाबाहेकका सेवा ठप्प पारेका छन् ।
निष्कासित कर्मचारीले अस्पतालमा सिण्डिकेट र कार्टेलिङ गरी चर्को मूल्यमा औषधि सप्लाई गरेको अस्पताल प्रशासनको आरोप छ । कर्मचारीका आफन्तसँग सम्बन्धित एनआरटी सर्जिकल र एनआरटी मेडिसेल्स नामबाट विगत ८ वर्षदेखि अस्पतालमा खरीद हुने ठूलो परिमाणको औषधि सप्लाई हुँदै आएको अस्पतालका प्रशासक भानु भारद्वाजले बताए ।
‘कर्मचारीले कर्मचारीको भूमिकामा आफ्नो काम गर्नुपर्छ, दुःखीगरीबका लागि स्थापना भएको अस्पतालमा जनताको ढाड सेक्ने गरी कसैले औषधि विक्री गर्नुहुँदैन,’ उनले भने, ‘हामीलाई धेरै पछि मात्र थाहा भयो, यहाँको फार्मेसीमा ठूलो आर्थिक अनियमितता भएको रहेछ ।’
अस्पताल प्रशासनले बनाएको छानविन समितिको प्रतिवेदनको आधारमा कर्मचारीले संस्थाको हितविपरीत
जनतालाई ठग्ने गरी फार्मेसीमा औषधि सप्लाई गरेको पुष्टि भएपछि अस्पतालले बाध्य भएर बोहरासहितका चारजना कर्मचारीलाई निष्कासन गरेको प्रशासक भारद्वाजले बताए ।निश्कासनमा परेका कर्मचारी बोहराले अस्पतालमा भ्रष्टाचार गरेको पुष्टि गरे आफूले राजीनामा दिन तयार रहेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।