प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा प्रबन्ध गर्न सरकारको आग्रह

Share News
कास्की । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्याराग्लाइडिङ कम्पनीलाई सुरक्षा व्यवस्था मिलाएर उडान गर्न आग्रह गरेको छ । प्याराग्लाइडिङ गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी नअपनाए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्याराग्लाइडिङ हुने पोखरालगायत अन्य स्थानमा पर्यटक वा यात्रु उच्च जोखीममा परेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरक्षाबारे गम्भीर चासो देखाएको हो । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा चिनियाँ पर्यटक पटक–पटक दुर्घटनामा परेपछि नेपालका लागि चिनियाँ राजदूत आफै मन्त्रालय पुगेर मन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्ण देवकोटालाई ध्यानाकर्षण गराएका थिए । राजदूतले सुरक्षा तथा व्यवस्थापकीय कमजोरी हटाउन आग्रह गरेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नियमविपरीत कार्य गरेको पाइए प्याराग्लाइडिङ सञ्चालक र पाइलटमाथि फौजदारी मुद्दा चलाउन परिपत्र गरेको छ । चिनियाँ राजदूतावासले वेबसाइटमा पोखराको प्याराग्लाइडिङबारे सूचना जारी गर्दै आफ्ना नागरिक उच्च जोखीममा परेको उल्लेख गरेको छ । सूचनामा उडानका क्रममा आवश्यक सुरक्षा व्यवस्था नहुँदा धेरै चिनियाँ पर्यटकको बहुमूल्य सामान खस्ने गरेको र ल्याण्डिङ गर्दासमेत दुर्घटनामा परेको बताइएको छ । पोखरामा दैनिक ६३ कम्पनीले उडान गर्दै आएका छन् । दैनिक हुने उडानमा करीब ५० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ सङ्घ (नेफाद्द)का महासचिव शैलेन्द्र राउतले बताए । प्याराग्लाइडिङको सुरक्षा व्यवस्थाको सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, नेफा र नेपाल हवाई खेलकुद संस्थालाई बोधार्थ गरी परिपत्र गरेको छ । मन्त्रालयले प्याराग्लाइडिङ उडान गर्ने कम्पनीको सञ्चालनपत्रको वैधता छानविन गर्न निर्देशन गर्दै गैरकानूनी रूपमा कुनै कम्पनीले उडान गरे प्रचलित फौजदारी कानूनअन्तर्गत सञ्चालक र पाइलटलाई कारबाही गर्न आग्रह गरेको छ । परिपत्रमा एक कम्पनीलाई दैनिक दुई उडान मात्र गर्ने अनुमति दिने उल्लेख गरिएको छ । मन्त्रालयले गरेको परिपत्रबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाले आफ्ना मातहतका सबै प्रहरी कार्यालयलाई जानकारी गराइसकेको बताए । परिपत्रअनुसार कुनै पनि कम्पनी वा पाइलटले नियम उल्लङ्घन गरेको पाइएमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि पोखरा नागरिक उड्डयन कार्यालयलाई कडा अनुगमन गर्न निर्देशन दिएको छ । प्याराग्लाइडिङलाई व्यवस्थित बनाउन र दुर्घटनाको जोखीम न्यूनीकरण गर्न संस्कृति तथा पर्यटन उड्डयन मन्त्रालयले सचिवको अध्यक्षतामा प्याराग्लाइडिङ निर्देशिका तयारी समिति गठन गरेको छ भने क्यानका हवाई सुरक्षा उपनिर्देशक राजु श्रेष्ठको अध्यक्षतामा ड्राफ्ट कमिटी बनाइएको छ । पोखराका व्यवसायीले यसअघि पनि निर्देशिका र ‘ईबिलिङ सिष्टम’ लागू गर्न सरकारसँग माग गर्दै आएका थिए । प्याराग्लाइडिङ कम्पनीका अनुसार बिचौलियाले प्रत्येक ग्राहकसँग १२ हजारसम्म रकम लिने गरेका छन् । तर, उनीहरूले व्यवसायीलाई जम्मा ४ देखि ५ हजार रुपैयाँ मात्र रकम बुझाउने गर्छन् । व्यवसायीका अनुसार बिचौलियाका कारण राज्यको करोडांैको कर गुमेको छ । ‘ईबिलिङ सिष्टम’ लागू भएपछि करोडौंको कर सङ्कलन हुने उनीहरूको दाबी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।