इण्टरनेटको ३ दशक

Share News

सन् १९८३ मा अमेरिकी सरकारले सूचनाको आदानप्रदानका लागि मान्यता दिएको इण्टरनेट अथवा वेब सञ्जालले ठ्याक्कै ३० वर्ष पार गरेको छ । तर, विश्वव्यापी कम्प्युटर सञ्जाल (इण्टरनेट) लाई पुरानो र नयाँ दुवै रूपमा हेरिनुपर्छ । पुरानो, किनभने इण्टरनेट अहिले मानव जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ– विश्वको कुल जनसङ्ख्याको लगभग एक तिहाइ हिस्सा नियमित रूपमा अनलाइन हुने गरेको छ । इण्टरनेटको प्रयोग यति सर्वव्यापक भइसकेको छ कि ४० वर्ष उमेर नाघेका थुप्रै मानिसहरूले पनि योविनाको जीवन पहिले कस्तो हुन्थ्यो भनेर लगभग बिर्सिसकेका छन् ।

किनभने इण्टरनेट अहिले तीव्रगतिमा आफ्नो रूप परिवर्तन गर्दै नवीन ढङ्गले अगाडि बढिरहेको छ । ९० को दशकसम्म ई–मेल सन्देश पठाउन÷पाउन र वेबसाइट ‘सर्फ’ गर्न प्रयोग गरिने इण्टरनेटलाई नयाँ पुस्ताले सामाजिक सञ्जाल र क्लाउड कम्प्युटिङजस्ता नवीन सेवा पाउन, डाउनलोड गर्न, किनमेल गर्न, अध्ययन–अनुसन्धान गर्न र विभिन्न ‘ट्रेण्ड’हरूबारे जानकारी लिन व्यापक ढङ्गमा प्रयोग गरिरहेको छ । अहिले कम्प्युटरका स्क्रीनअगाडि नै बसेर इण्टरनेट चलाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । बाटोमा हिँडिरहँदा पनि स्मार्टफोन र ट्याब्लेट पीसीबाट तत्काल ‘कनेक्ट’ हुनुहोस् र इण्टरनेट चलाउनुहोस्, बस् ।

वैज्ञानिकहरूले सन् ५० को दशकतिरै कम्प्युटर सञ्जालको निर्माण गरेका थिए । तर, सन् ७० को दशकको अन्त्यतिर मात्र ती नेटवर्कबाट सजिलै सूचनाहरूको आदानप्रदान सकिने एउटै साझा ‘कम्प्युटर ल्याङ्ग्वेज’को विकास भयो । साझा कम्प्युटर ल्याङ्ग्वेज विकासको नेतृत्व अमेरिकी सेनाले लिएको थियो । सञ्चारका विविध प्रविधिलाई व्यवस्थित नगरे भविष्यमा ‘सञ्चार सञ्जाल’ डाँवाडोल हुने अवस्थालाई हटाउन अमेरिकी सेनामाथि यस्तो प्रविधिको विकास गर्नैपर्ने बाध्यकारी स्थिति सृजना हुन पुग्यो । ‘निकै जटिल बन्नपुगेको सञ्चारप्रविधिको विविधतालाई सम्बोधन नगरिएको भए उनीहरू यो समस्यामा नराम्ररी फँस्ने थिए,’ म्यासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का कम्प्युटर वैज्ञानिक डेभिड पी रिड भन्छन् ।

रिड वैज्ञानिकहरूको त्यो टोलीमा सामेल थिए जसलाई अमेरिकी सेनाले ‘आन्तरिक नेटवर्क’ विकास गर्न खटाएको थियो । रिड र उनका सहकर्मीहरूले यो समस्या जटिल हुनुका साथै रोचक पनि भएको पाए । यसक्रममा कम्प्युटर नेटवर्कमा विभिन्न प्रकारका परिक्षणहरू गरिएपछि ‘ट्रान्समिशन कण्ट्रोल प्रोटोकल÷इण्टरनेट प्रोटोकल’ (टीसीपी÷आईपी) को जन्म भयो । सबैजसो परीक्षणको नतीजा सकारात्मक देखिएपछि केही प्रमुख विश्वविद्यालयका लगभग ५ सय कम्प्युटरलाई एकल नेटवर्कमा आबद्ध गर्न सन् १९८३ को जनवरी १ मा अमेरिकी सरकारले यसलाई मान्यता दिएको हो ।

त्यसयता इण्टरनेट सरकारी तथ्याङ्क र जानकारी आदानप्रदानमा मात्र सीमित रहेन, सबैले चलाउनै पर्ने प्रविधिका रूपमा विकास भयो । इण्टरनेटका विकासकर्ताहरूले भविष्यमा यसले मानव जीवनमा कस्तो परिवर्तन ल्याउला भनेर कुनै आँकलन गर्न सकेको भने देखिँदैन । ‘इण्टरनेट जथाभावी पार्टपुर्जाहरूको प्रयोग गरेर बनाइएको एक उपकरण जस्तै छ, तर यसले काम भने निकै सफलतापूर्वक ग¥यो,’ कुनैबेला इण्टरनेट प्रविधि विकासमा नेतृत्व लिएको दूरसञ्चार कम्पनी बेल ल्याबोरेटरीमा समेत काम गरिसकेका मिनेशोटा विश्वविद्यालयका गणित प्राध्यापक एण्ड्र्यु ओल्डिज्कोको कथन छ ।

सन् ९० को मध्यदेखि इण्टरनेट व्यापक हुन थालेको पाइन्छ । सन् १९९५ को डिसेम्बरमा विश्वभरका १ करोड ६० लाख मानिसहरू आईपी प्रोटोकलमार्फत वेब सञ्जालमा आबद्ध हुन पुगे । अनलाइन व्यापारको आरम्भ पनि त्यसै बेलादेखि भयो । सन् ९० को अन्त्यतिर आइपुग्दा त इण्टरनेट र कम्प्युटर प्रविधि लगानीको सबैभन्दा आकर्षक क्षेत्र बन्न पुग्यो । अनियन्त्रित लगानीका कारण सन् १९९९ मा सूचनाप्रविधि क्षेत्रमा सङ्कट उत्पन्न भयो, जसलाई ‘डट कम स्टक मार्केट बबल’ भनिन्छ । तर, १२ वर्षपछाडि फर्केर हेर्दा त्यतिबेलाको विकासलाई ‘पुड्के’ मान्न सकिन्छ । हाल विश्वभरका २ अर्ब ४० करोड मानिसहरू वेब सञ्जालमा प्रत्यक्ष रूपमा आबद्ध भएका छन् । र, इण्टरनेटले सबैक्षेत्रमा गहिरो प्रभाव पारिरहेको छ ।


 (एजेन्सीहरूको सहयोगमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।