स्थापनाको ४६औं वर्षमा आइपुग्दा कृषि विकास बैङ्कले करीब पौने २ लाख कर्जाग्राहीलाई वित्तीय सेवा पुर्याउँदै आएको छ । हाल बैङ्कले नेपालका सबै जिल्लामा २ सय ४३ ओटा शाखामार्फत वित्तीय सेवा पुर्याउँदै आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले बताए । गत आवमा बैङ्कले रू. १ अर्ब ८६ करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै हाल बैङ्कको निक्षेप सङ्कलन रू. ४३ अर्ब ९४ करोड ८७ लाख रहेको छ । करीब ७ लाख ५५ हजार जना निक्षेपकर्ताको उक्त रकम सङ्कलन गरिएको बैङ्कले बताएको छ । स्थापनाकालदेखि विसं २०६९ असार मसान्तसम्म बैङ्कले रू. ३ खर्ब ९३ अर्ब ७० करोड कर्जा प्रवाह गरिसकेको छ । त्यसमध्ये रू. ३ खर्ब ४८ करोड असुली भइसकेको र बाँकी रू. ४४ अर्ब ९८ करोड लगानीमा रहेको बैङ्कले बताएको छ । राष्ट्र बैङ्कको निर्देशनबमोजिम यो बैङ्कले पनि प्राकृतिक (व्यक्तिगत) निक्षेपकर्ताको रू. २ लाखसम्मको निक्षेप सुरक्षण गरेको छ ।
यही माघ ७ गतेदेखि कृषि विकास बैङ्क ४६औं वर्षमा प्रवेश गरेको छ । वित्तीय यात्राका ४५औं वर्ष पूरा गरिसक्दासम्म पनि शाखा सञ्जाल र पूँजीगत संरचनाका हिसाबले नेपालको सबैभन्दा ठूलो बैङ्कका रूपमा आफ्नो पहिचान कायम राख्न सफल देखिन्छ । बैङ्कले सरकारको नीति तथा कार्यक्रमअनुसार अनुदान सहयोगमा विकास बैङ्क र वित्तीय सङ्घसंस्थालाई सुलभ तरीकाबाट थोक कर्जा प्रदान गर्दै आएको छ । साथै बैङ्कले ग्रामीण भेगमा स्थानीय शीप तथा उद्यमशीलता विकास तालीमका साथै उद्यमी–व्यवसायीलाई लघुवित्तीय सेवा पनि उपलब्ध गराउँदै आएको छ । हालसम्म यो बैङ्कले साना किसान विकास बैङ्क र यसका १० ओटा इलाका कार्यालय, अन्य २९ ओटा विकास बैङ्क तथा वित्तीय सङ्घसंस्था गरी ४० वित्तीय संस्थालाई थोक कर्जाबापत रू. ६४ करोड १४ लाख ६८ हजार कर्जा उपलब्ध गराइसकेको प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले जानकारी दिए । हाल यो बैङ्कको अधिकृत पूँजी रू. १३ अर्ब र चुक्ता पूँजी रू. ९ अर्ब ४३ करोड ७५ लाख रहेको छ । सोमध्ये सर्वसाधारण शेयरधनी (२ लाख २७ हजार जना) को रू. १ अर्ब ४१ करोड २५ लाखबराबरको शेयर लगानी रहेको छ । यस्तै विसं २०६७ भदौ १० गते देखि नेपाल स्टक एक्सचेञ्जमा यो बैङ्कको शेयर कारोबार भइरहेको छ । विसं २०६९ साउन १ गतेदेखि यस बैङ्कले केन्द्रीय निक्षेप प्रणाली (सीडीएस)को सदस्यतासमेत प्राप्त गरिसकेको छ ।
आधुनिकीकरणको बाटोमा बैङ्क
बैङ्कले आफ्ना सम्पूर्ण शाखा कार्यालय (२ सय ४३ ओटा) बाट पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने योजना बनाएको छ । सोही कार्यक्रमअन्तर्गत गत पुस मसान्तसम्ममा १ सय ६८ ओटा कार्यालयबाट आधुनिक बैङ्किङ सेवा सञ्चालन गरिसकेको छ । बाँकी कार्यालयबाट पनि छिट्टै यो सेवा विस्तार गर्दै लैजाने नीति रहेको छ । यस्तै प्रतिस्पर्धी वित्तीय बजारमा छिटो, छरितो र भरपर्दो बैङ्किङ सेवा प्रदान गर्न बैङ्कले अत्याधुनिक बैङ्किङ प्रणाली ‘टेमेनस– २४’ जडान कार्यलाई तीव्रता दिँदै आएको छ । हालसम्म उक्त प्रणाली क्षेत्रीय कार्यालय काठमाडौंका ३२, पोखराका ५, भैरहवाका ६, वीरगञ्जका ८ र विराटनगरका १० गरी कुल ६१ ओटा कार्यालयमा जडान गरी अनलाइन बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । विसं २०७० असार मसान्तसम्ममा बैङ्कले क्षेत्रीय कार्यालय नेपालगञ्ज, धनगढी, राजविराज र जनकपुरअन्तर्गतका कार्यालयमा पनि ‘कोर बैङ्किङ सिष्टम – सीबीएस’ जडान गर्ने योजना बैङ्कले बनाएको छ ।
यस्तै हालसम्म बैङ्कले रामशाहपथ, रत्नपार्क, न्यूरोड, नयाँ बानेश्वर, गौशाला, त्रिपुरेश्वर, मङ्गलबजार, विराटनगर, धरान, पोखरा, दमक, नेपालगञ्ज तथा गठ्ठाघर कार्यालयबाट लकर सेवा उपलब्ध गराउँदै आएको छ । चालू आवमा यो सेवा शहरी क्षेत्रका अन्य शाखामा पनि विस्तार गर्ने योजना रहेको बैङ्कले बताएको छ ।
हाल बैङ्कले काठमाडौंमा दुई स्थानबाट एटीएम सुविधा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा काठमाडौंमा थप ७ स्थानमा र चालू आवमा उपत्यकाबाहिर २४/२५ स्थानमा एटीएम जडान गर्ने योजना रहेको बैङ्कले बताएको छ । यसका साथै बैङ्कले आफ्ना शाखाहरूमा अन्तरशाखा बैङ्किङ कारोबार पनि सञ्चालन गर्दै आएको छ । यसैगरी बैङ्कले प्रतीतपत्र (एलसी) सुविधा पनि उपलब्ध गराउँदै आएको छ । बैङ्कले शैक्षिक कर्जा, आवास कर्जा, घर खरीद कर्जा, घर मर्मत कर्जा, सुनचाँदी कर्जा, जमानत व्यवसाय र वैदेशिक रोजगार कर्जा पनि उपलब्ध गराउँदै आएको छ । यस्तै बैङ्कले ट्रेजरी व्यवसायअन्तर्गत सुनचाँदी खरीदविक्री, ट्राभल्स चेक तथा वैदेशिक विनियमको कारोकारसमेत सञ्चालनमा ल्याएको छ ।
विप्रेषण सेवामा बैङ्क
विगत केही वर्षयता कृषि विकास बैङ्कले ‘एडीबीएल रेमिट अनलाइन’मार्फत विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ । हाल बैङ्कका १ सय ७३ शाखामार्फत विप्रेषण सेवा प्रदान गर्दै आएको बैङ्कले बताएको छ । विप्रेषण सेवालाई अझै प्रभावकारी बनाउन यो बैङ्कले वेष्टर्न युनियन मनी ट्रान्सफर, एक्सपे्रस मनी सर्भिस, इण्टरनेशनल मनी एक्सप्रेस, मनिग्राम, प्रभु मनी ट्रान्सफर, पृथ्वी रेमिट, सिद्धार्थ रेमिट, सेवा मनीलगायत विष्रेषण कम्पनीसँगको सहकार्यमा विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ । प्रतिष्ठित र भरपर्दो विप्रेषण कारोबार गर्ने कम्पनीहरूसँगको सहयोग र साझेदारीमा यो व्यवसायलाई थप विस्तार गरी वैदेशिक मुद्राको आर्जन एवम् आय वृद्धि गर्दै लगिने बैङ्कले जानकारी दिएको छ । यसैगरी यस बैङ्कको आफ्नै क्धषत ऋयमभ ९ब्म्द्यील्एप्ब्० मार्फत विदेशी मुद्रा संसारभर पठाउन तथा प्राप्त गर्न सकिनेसमेत सुविधा रहेको छ । हाल बैङ्कले स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क तथा बैङ्क अफ काठमाडौंमार्फत रकमान्तर सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यस्तै बैङ्कले कर्पोरेट बैङ्किङ कार्यालय रामशाहपथ, रत्नपार्क, न्यूरोड र बाँकेको नेपालगञ्जस्थित कार्यालयबाट भारतमा भारतीय मुद्रामा बैङ्क ड्राफ्ट जारी गर्दै आएको छ भने बेलायती पाउण्ड र यूरोपेली मुद्रा (यूरो)मा संसारभर ड्राफ्ट जारी गर्दै आएको बैङ्कले बताएको छ ।
पशु तथा बाली बीमामा बैङ्क
व्यावसायिक रूपमा खेतीपाती तथा पशुपालनमा आबद्ध कृषकका लागि बैङ्कले बाली तथा पशुधन सुरक्षण (बीमा) कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत हाल बैङ्कले ४९ जिल्लाका ३ सयभन्दा बढी सङ्घसंस्थामा आबद्ध कृषक समूहका करीब २ लाख ९५ हजार पशुको सुरक्षण (बीमा) गरी हालसम्म करीब रू. २० करोड ९१ लाख १ हजार रुपैयाँ (प्रिमियम) अनुदान उपलब्ध गराइसकेको छ । यस्तै बाली बीमा कार्यक्रमअन्तर्गत २६ जिल्लाका १ सय ५० सहकारी सङ्घसंस्था तथा कृषक समूहको १ हजार ६ सय ५८ हेक्टर जग्गामा लगाइएको तरकारी बाली बीमाका लागि रू. ३ करोड २६ लाख २५ हजार प्रिमियमबापत अनुदान उपलब्ध गराइसकिएको बैङ्कले बताएको छ ।
सामाजिक सेवामा बैङ्क
स्थापनाकालदेखि नै कृषि विकास बैङ्क सामाजिक सेवामा सहभागी हुँदै आएको छ । सो कार्यक्रमअन्तर्गत हालसम्म बैङ्कले बाटोघाटो, शौचालय, विद्यालय, अनाथ बालबालिका तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नुका साथै शहरको सौन्दर्य बढाउने अभिप्रायले काठमाडौंको माइतीघर मण्डलामा समेत सहयोग गर्दै आएको छ । यस्तै बैङ्कले तनहुँ जिल्लाको धारापानीमा सरोकार युवा क्लबको सक्रियतामा खानेपानीका लागि ढुङ्गेधारा निर्माण गरेको छ । पृथ्वी राजमार्गमा रहेको उक्त ढुङ्गेधारामा दैनिक सयौं यात्रुले खानेपानी सुविधा पाउँदै आएका छन् । पिउनुका साथै विश्रामसमेत गर्ने गरेका छन् । यसैगरी, नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत वितरण गरिने सामाजिक सुरक्षा भत्ता यस बैङ्कका शाखा कार्यालयहरूबाट वितरण हुँदै आएको बैङ्कले जानकारी दिएको छ ।
परिचय
कृषि विकास बैङ्क ऐन, २०२४ अनुसार विसं २०२४ माघ ७ गते यो बैङ्क स्थापना भएको हो । सहकारी बैङ्क ऐन, २०१९ अन्तर्गत विसं २०२० भदौ २८ गते स्थापना भएको सहकारी बैङ्कलाई प्रतिस्थापन गर्दै यो बैङ्क स्थापना गरिएको हो । यस्तै विसं २०३० मा तत्कालीन भूमिसुधार बचत संस्थान यसै बैङ्कमा गाभियो । त्यसपछि २०३२ सालदेखि यो बैङ्कबाट साना किसान विकास कार्यक्रममार्फत गरीबी निवारण अभियान प्रारम्भ गरियो । २०४१ साल भदौमा काठमाडौं रत्नपार्कबाट कम्प्युटरीकृत पहिलो वाणिज्य बैङ्कका रुपमा कारोबार शुरु गरेको हो । सन् १९८० को दशकमा सरकारले अवलम्बन गरेको उदार अर्थनीतिअनुरुप अधिकांश बैङ्क तथा सार्वजनिक संस्थान निजीकरणको प्रक्रियामा लगियो ।
यस्तै २०५७ सालदेखि नेपाल सरकारले विश्व बैङ्कको संलग्नतामा शुरु गरेको वित्तक्षेत्र सुधार कार्यक्रमअनुसार दोस्रो चरणमा कृषि विकास बैङ्कलाई पुनःसंरचनाको प्रक्रियामा लगियो । सोहीअनुरुप २०६२ साल असार ३१ गतेदेखि यो बैङ्क पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भयो । यस्तै २०६२ साल चैत ३ गतेदेखि तत्कालीन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६२ अनुसार नेपाल राष्ट्र बैङ्कबाट ‘क’ श्रेणीको वाणिज्य बैङ्कका रुपमा कारोबार गर्न अनुमति प्राप्त गरेको हो ।
हाल बैङ्कले कृषि तथा गैरकृषिक्षेत्रमा लगानी गर्दै आवश्यकताअनुसार प्राविधिक सहयोगका साथै साना तथा ठूला परियोजनाको क्षमता वृद्धिका लागि स्थिर तथा सञ्चालन पूँजी उपलब्ध गराउँदै आएको छ । यसैगरी शहर तथा ग्रामीण क्षेत्रका सबै स्तरका नागरिकलाई वित्तीय सेवा पुर्याउँदै आएको छ ।
अहिले यो बैङ्क कार्य सञ्चालन, पूँजी संरचना, शेयरधनी, जनशक्ति र ग्राहकका आधारमा नेपालको सबैभन्दा ठूलो तथा अग्रणी बैङ्क बनेको छ । हाल बैङ्कमा रु. ४ अर्बभन्दा बढीको स्थिर सम्पत्ति (घर÷जग्गा) रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।