आन्तरिक तथा बाह्य पर्यटनलाई लक्षित गर्दै सञ्चालित ट्राभल एण्ड टुर्समा व्यावसायिक आकर्षण बढ्दै गएको छ । नेपालमा विदेशी पर्यटक हरेक वर्ष बढ्दै गएका र ती पर्यटकले गर्ने विभिन्न प्रकारको भ्रमणमा ट्राभल एजेन्सीकै प्रयोग हुने भएकाले व्यावसायिक आकर्षण बढेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का महासचिव अच्युत गुरागाईंले बताए । नेपालमा पर्यटक बढ्दै जानुका साथै आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुन थालेकाले पनि पर्यटन क्षेत्रमध्येको ट्राभल एण्ड टुरमा व्यावसायिक आकर्षण हरेक वर्ष बढेको उनको भनाइ छ । नेपालमा व्यावसायिक घरानादेखि सामान्य टिकेटिङ गर्ने व्यवसायीले पनि सहजता र व्यावसायिक लाभ देखेकाले यसतर्फ आकर्षण बढेको उनको बुझाइ छ । ठूला व्यावसायिक घरानाको विदेश आवतजावत गरिरहनुपर्ने र विदेशीहरूलाई पनि आफ्नो कम्पनीमा विभिन्न कामका लागि निम्त्याइरहनुपर्ने भएकाले ट्राभल एजेन्सी स्थापना गरेरै व्यवसाय बढाउने प्रचलन बढ्न थालेको छ ।
सानो लगानीबाट शुरू गरेर ठूलै तामझाम पनि गर्न सकिने भएकाले सानादेखि ठूला व्यावसायिक घरानासम्मको आकर्षण भएको पनि नाट्टाका महासचिव गुरागाइँ बताउँछन् । हाल व्यावसायिक घरानाका नामले चिनिएका हामा आइरन ग्रूप, दुगड ग्रूप, गोल्छा अर्गनाइजेशनलगायतले आफै ट्राभल एजेन्सीको व्यवसाय गरिरहेका छन् । यसैगरी वैदेशिक रोजगारमा कामदार पठाउने कम्पनीले पनि एकैपटकमा धेरै टिकट खरीद गर्ने भएकाले बढी लाभ लिन आफै टिकेटिङको काम गर्ने प्रचलन बढेको छ, जसका कारण ती कम्पनीले टिकेटिङको व्यवसायसँगै पर्यटक नेपाल भित्र्याउने कामसमेत गर्दै ट्राभल एण्ड टुर्स व्यवसाय सञ्चालन गरेका छन् । कतिपयले टिकेटिङ मात्र गर्ने गरी ट्राभल एजेन्सी दर्ता गराएका छन् ।
ट्राभल व्यवसाय गर्ने उद्देश्यले व्यवसाय दर्ता गर्ने क्रम अस्वाभाविक रूपमा नै बढिरहेको भए पनि सक्रियतापूर्वक काम गरिरहेका कम्पनीको सङ्ख्याको तथ्याङ्क राख्ने व्यवस्था भने नरहेको पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाअन्तर्गत ट्राभल शाखाकी शाखा अधिकृत मुक्ता बास्कोटाले बताइन् । उनका अनुसार सन् २०१२ मा महाशाखामा १ सय ८३ ओटा ट्राभल एजेन्सी दर्ता भएका छन् । सन् २०१२ सम्ममा दर्ता भएका यस्ता व्यावसायिक कम्पनीको सङ्ख्या भने २ हजार १ सय १९ ओटा पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
महाशाखामा दर्ता भएका ट्राभल कम्पनीमध्ये नवीकरण नगरेका, खारेजीमा परेका र निष्क्रिय रहेका कम्पनीको तथ्याङ्क भने अनुगमनपश्चात् मात्र भन्न सकिने पनि बास्कोटाले बताइन् । उनका अनुसार महाशाखामा ट्राभल एजेन्सी दर्ता गर्न चुक्ता पूँजी रू. १० लाखसहित रू. ३ लाखको बैङ्क ग्यारेण्टी हुनुपर्ने प्रावधान छ । हरेक कम्पनीले दर्ताशुल्कबापत रू. १५ हजार बुझाउनुपर्ने व्यवस्था पनि मन्त्रालयले गरेको छ । हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको यस्ता एजेन्सीले निर्धारित समयमै नवीकरण गरेको अवस्थामा रू. १० हजार शुल्क तिर्नुपर्छ । सो समयावधिमा ३ महीना ढिलो गरे थप रू. २ हजार ५ सय र ६ महीनाभित्रमा अर्का ५ हजार जरीवाना तिरेर ट्राभल नवीकरण गर्न सक्छन् । ६ महीनासम्म पनि नवीकरण नगर्ने कम्पनीलाई मन्त्रालयले खारेज गर्न सक्ने व्यवस्था छ ।
नेपालमा अधिकांश पर्यटक ट्राभल एजेन्सीकै माध्यमबाट आउने गरेका छन् भने विदेश जाने नेपाली पर्यटकका लागि त्यस्ता कम्पनीले सहजकर्ताको भूमिका पनि निर्वाह गरिरहेका छन । ट्राभल एजेन्सीले नेपाल भित्रिने विदेशी पर्यटकका लागि नेपालका आन्तरिक पर्यटकीय गन्तव्य र पर्यटकीय गतिविधिका लागि इनबाउण्ड प्याकेज बनाउने गरेका छन् । नेपाल भित्रिने पर्यटकहरू विशेषगरी पर्यटनको ‘गोल्डेन ट्र्याङ्गल’ मानिएका पोखरा, चितवन र लुम्बिनी जाने गरेका छन् । तीबाहेकका स्थानमा पुग्ने पर्यटक भने व्यवसायीले बनाउने प्याकेजमा भर पर्ने महासचिव गुरागाईंले बताए ।
नेपालबाट पर्यटक बनेर विदेश घुम्न (आउटबाउण्ड टुर) जाने नेपाली पर्यटकका लागि पनि आकर्षक प्याकेज बनाउने गरेको सम्बन्धित ट्राभल एजेन्सीले बताएका छन् । नेपालबाट सन् २०११ मा ३२ हजार नेपाली पर्यटक बनेर विभिन्न मुलुक घुमेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालबाट पर्यटक बनेर मनोरञ्जन लिनकै लागि बाहिरिनेमा २० हजार २ सय ४२ जना पुरुष र ११ हजार ८ सय २१ जना महिला रहेका छन् । नेपालमा विदेशी पर्यटक घुमाउने र नेपालीलाई विदेशमा घुमाउन ट्राभल व्यवसायीले आफ्नै ढङ्गबाट व्यावसायिक प्याकेज तयार गर्ने एस ट्राभलकी कर्पोरेट कम्युनिकेशन अधिकृत सदीक्षा श्रेष्ठले बताइन् । उनका अनुसार एस ट्राभलले पर्यटकको चाहनाअनुसारका १ सयभन्दा बढी आन्तरिक गन्तव्य तथा सो क्षेत्रमा हुने पर्यटकीय गतिविधिको प्याकेज विक्री गर्छ । एस ट्राभलले आउटबाउण्ड सेवाका लागि ५० भन्दा बढी प्याकेज बनाएको उनले जानकारी दिइन् ।
ट्राभल तथा टुरको व्यवसाय हरेक वर्ष २० प्रतिशतले बढ्दै गएको नाट्टाका अध्यक्ष पवित्रकुमार कार्की बताउँछन् । उनका अनुसार पर्यटन क्षेत्रले लिएको सकारात्मक गति तथा सरकारीस्तरबाट यसलाई आर्थिक विकासमा योगदान दिने मूल आधार मानिएकाले पनि यस क्षेत्रमा व्यावसायिक आकर्षण बढेको हो । नेपालमा अहिले करीब ८ सयदेखि ९ सय ट्राभल एजेन्सीले सक्रियतापूर्वक काम गरिरहेको र ती एजेन्सीमा रू. ४० अर्बभन्दा बढीको लगानी भएको अनुमान छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।