तनहुँ महोत्सव : तनहुँको समग्र विकासको आधार

Share News

तनहुँको परिचय विशेषतः ऐतिहासिक, धार्मिक र पर्यटनसँग जोडिएको छ । यद्यपि, आर्थिक विकासका विभिन्न क्षेत्रहरूको यहाँ उत्तिकै सम्भावना छ । जलविद्युत्, कृषि तथा उद्योग सञ्चालनको प्रशस्त सम्भावना बोकेको यस जिल्लामा सोअनुरूप काम भने त्यति हुन सकेको छैन । तनहुँका यिनै सम्भावनालाई साकार रूप दिन महोत्सवको आयोजना गरिँदै आएको छ । विगतका महोत्सवले यस क्षेत्रको विकासमा पुर्‍याएको योगदानलाई अझ मजबुत बनाउन महोत्सव आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवकुमार श्रेष्ठ बताउँछन् । विसं २०६३ बाट संस्थागत रूपमा तनहुँ उद्योग वाणिज्य सङ्घले शुरू गरेको महोत्सवको शृङ्खलालाई त्यसयता हरेक २ वर्षको फरकमा निरन्तरता दिँदै आएको छ । त्यसैको निरन्तरतास्वरूप आजदेखि ‘चौथो तनहुँ महोत्सव एवम् दोस्रो पश्चिमाञ्चल औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी’ दमौलीमा हुँदै छ । यो महोत्सवबाहेक तनहुँको खैरेनीटारमा हुने खैरेनीटार चैतेदशैं महोत्सव, बन्दीपुरमा हुने बन्दीपुर महोत्सव, डुम्रे र विमलनगरमा हुने विभिन्न महोत्सवले जिल्लाको सम्भावना प्रचारप्रसारमा योगदान पुर्‍याएका छन् । तर, सहभागिता तथा प्रभावका हिसाबले अन्य महोत्सवभन्दा तनहुँ महोत्सवको फरक पहिचान बनिसकेको छ । यो महोत्सवले जिल्लाको उद्योग–व्यवसाय, पर्यटन र कृषिको प्रवद्र्धनमा योगदान दिने श्रेष्ठको भनाइ छ । यस्ता महोत्सवले उत्पादकलाई बजार तथा उपभोक्तालाई उत्पादनसँग परिचित गर्न सहयोग पुग्ने उनको धारणा छ ।

स्थानीय जनताको समेत संलग्नता रहने यस्ता महोत्सवको दीर्घकालसम्म प्रभाव रहने तनहुँका स्थानीय विकास अधिकारी छविलाल रिजाल बताउँछन् । तत्कालीन रूपमा साना व्यवसायको प्रवद्र्धनमा काम भए पनि यस्ता महोत्सवबाट पछिसम्म आर्थिक विकासमा मद्दत पुग्ने उनको विश्वास छ । पश्चिमाञ्चलस्तरीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा पश्चिमाञ्चलका उद्योग, मौलिक उत्पादनको प्रवद्र्धन हुने भएकाले यसपटकको महोत्सवले औद्योगिक विकासमा समेत सहयोग पुग्ने उनको धारणा छ । महोत्सवले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आफ्नो उत्पादन तथा सेवाबारे जानकारी गराउन राम्रो भूमिका खेल्ने क्षेत्रीय होटल सङ्घ तनहुँका निवर्तमान अध्यक्ष प्रमोद खनाल बताउँछन् ।

महोत्सवको संरचनामा परिवर्तन ल्याउँदै स्थानीय विकासमा जोड दिन सक्नुपर्ने उनको भनाइ छ । विगतका महोत्सवबाट प्राप्त गरेको अनुभवलाई यसपटकको महोत्सवमा सकारात्मक परिमार्जन गरिने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णराज पण्डितले बताए । यसपटकको महोत्सव दीर्घकालीन प्रभाव हुने किसिमले तयारी गरिएको महोत्सव आयोजक समितिका सदस्य एवम् क्षेत्रीय होटल सङ्घ तनहुँका अध्यक्ष सन्तोषकुमार श्रेष्ठ बताउँछन् । महोत्सवमा यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्याकेजको समेत व्यवस्था गरेको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताए । ग्रामीण पर्यटनअन्तर्गतको होमस्टे, र्‍याफ्टिङ आदिका लागि स्थानीय र व्यवसायीहरूको संलग्नतामा र त्यस्तो प्याकेज बनाइएको उनले जानकारी दिए । समिति तनहुँ महोत्सवको शुरुआतदेखि नै सक्रिय रूपमा लाग्दै आएको छ । फरक किसिमबाट आयोजना हुन लागेको महोत्सवले विशेष प्रभाव पार्नेमा महोत्सवका सदस्यसचिव एवम् तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव पविन्द्रकुमार श्रेष्ठ पनि विश्वस्त छन् ।

स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसपटकको महोत्सवमा ४० ओटा स्टल छुट्ट्याइएको छ । पश्चिमाञ्चलका १६ ओटै जिल्लाको उपस्थिति रहने गरी त्यस्ता स्टलको व्यवस्था गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख नारायणमणि लामिछानेले जानकारी दिए । पर्यटनको क्षेत्रमा र्‍याफ्टिङ र होमस्टे प्याकेजका साथै पहिलोपटक हेलिकोप्टरमार्फत जिल्ला भ्रमणको समेत व्यवस्था गरिएको छ । सुलभ मूल्यमा सञ्चालन गरिने यस्तो प्याकेज धेरैको आकर्षण हुने हेलिकोप्टर समिति संयोजक डिल्लीराम विकले बताए । यसले दिगो पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । महोत्सवमा कृषिक्षेत्रको प्रवद्र्धन गर्न कृषि प्रदर्शनी पनि आयोजना गरिएको छ । तनहुँका कृषकलाई यसले आफ्नो उत्पादनबारे जानकारी गराउन सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्रकुमार मल्ल बताउँछन् । कृषकहरूलाई व्यावसायिक कृषिको महत्वबारे जानकारी दिन पनि यो प्रदर्शनी फलदायी हुने उनले बताए । महोत्सवले जिल्लाको आर्थिक सम्भावना प्रचारप्रसार तथा योजनाबद्ध आर्थिक विकासमा राम्रो पहल गर्ने यहाँका उद्योगी–व्यवसायीहरू बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी तनहुँमा भएका समथर फाँट औद्योगिक तथा व्यावसायिक कृषिका हिसाबले निकै सम्भावनाका क्षेत्र भएको बताउँछन् । व्यावसायिक कृषि अथवा उद्योगमध्ये एकलाई प्राथमिकतामा राखेर अघि बढ्न सके यसले समग्र देशकै अर्थतन्त्रमा प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

आजदेखि तनहुँ महोत्सव
आजदेखि तनहुँको सदरमुकाम दमौलीमा ‘चौथो तनहुँ महोत्सव एवम् दोस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी २०६९’ शुरू हुँदै छ । तनहुँ उद्योग वाणिज्य सङ्घ, जिविस र व्यास नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको उद्घाटन दिउँसो १ बजे बीपी वनवाटिका मैदानमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडाले गर्ने कार्यक्रम छ । त्यसअघि बिहान ११ बजे विभिन्न जातजाति, धार्मिक सम्प्रदाय, सामाजिक सङ्घसंस्थालगायतको र्‍यालीले दमौली बजारको परिक्रमा गर्नेछ । महोत्सवको सबै तयारी पूरा भइसकेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा घरेलु उत्पादन, कृषि प्रदर्शनी, खाना, व्यापार–व्यवसाय, पर्यटनलगायत क्षेत्रका गरी १ सय ९२ स्टल रहनेछन् । यसमध्ये घरेलु उत्पादनका मात्र ४० स्टल रहनेछन् । महोत्सवमा सहभागी हुन साधारण रू. ४० र सहुलियत दरमा ३० रुपैयाँ पर्ने टिकटको व्यवस्था गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।