महोत्सवले स्याङ्जाका सम्भावनालाई देखाउनेछ

Share News

पुण्यप्रसाद अर्याल
अध्यक्ष, वालिङ उद्योग वाणिज्य सङ्घ


हामीले वालिङ महोत्सवलाई राष्ट्रिय पर्वजस्तै महत्व दिएका छौं । जसरी नेपालमा मुख्य चार्डपर्वहरूमा सबै घरघरमा खुशियाली छाउँछ, त्यसैगरी महोत्सवले समग्र स्याङ्जाबासीमा खुशियालीको रौनक ल्याएको छ । हामी आयोजकहरूले पनि यसको प्रचारप्रसारलाई तीव्रता दिएका छौं । महोत्सवमा सबै जातजाति, धर्मसंस्कृति र भाषाका समुदायले आफ्नो प्रतिभा देखाउन पाउनेछन् । यहाँको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न महोत्सवले निकै सहयोग पु¥याउनेछ । वालिङ स्याङ्जाको मुख्य व्यापारिक केन्द्र पनि हो । यसको विकासका लागि यो महोत्सवले थप सहयोग पुर्‍याउनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । पछिल्लो समय नेपालमा चन्दाआतङ्क निकै बढेको छ । राजनीतिक दल तथा तिनका भातृसङ्गठनले जथाभावी चन्दा उठाइरहेका छन् । यसले व्यापारीलाई निकै समस्या परेको छ । राज्यले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिन सकेको छैन । जिल्लामा इँटा उद्योगको प्रचुर सम्भावना छ । हामीले भैरहवाबाट इँटा लिँदा निकै महँगो पर्छ । त्यसैले, जिल्लामा यस प्रकारका उद्योग सञ्चालन गर्न सकिन्छ ।

जिल्लामा पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरू खुलिरहेका छन् । शैक्षिक हिसाबले पनि जिल्ला अघि बढिसकेको छ । यहाँ ठूला उद्योगको सम्भावना छ । यहाँका पहाडमा चुनढुङ्गाको राम्रो सम्भावना छ । स्याङ्जामा सिमेण्ट उद्योग स्थापना गर्न सकिन्छ । यसले जिल्लाको मात्र नभई समग्र मुलुकको विकासमा सहयोग पुर्‍याउनेछ । स्याङ्जा पर्यटकीय जिल्ला पनि हो । यहाँका पर्यटकीय स्थलको उचित प्रचारप्रसार हुन सकेमा र लगानी आउन सकेमा निकै राम्रो हुने थियो । त्यसैगरी स्याङ्जामा बाँस, निगालोको पनि राम्रो उत्पादन भइरहेको छ । यहाँ अग्र्यानिक कृषि उत्पादनको विकास गर्न सकिन्छ । अहिले व्यावसायिक क्षेत्रमा अध्ययनशील मान्छेहरू आउन नसकेको अवस्था छ । जागीर पाउन नसकेका र विदेश पनि जान नसकेकाहरू व्यवसायमा आउने गरेका छन् । अब व्यवसायीहरूलाई सचेतना जगाउन जरूरी छ । यो महोत्सवलाई ४ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखेका छौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।