पश्चिमाञ्चल विकासक्षेत्रमा रहेको स्याङ्जा विभिन्न क्षेत्रमा सम्भावना बोकेको जिल्ला हो । वालिङ स्याङ्जाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा उदय भइरहेको छ । कृषि तथा पर्यटन स्याङ्जाको विकासका मुख्य आधार हुन् । वालिङ भएर जाने सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको करीब ८२ किलोमिटर क्षेत्रसमेत यहीँ पर्ने हुनाले यातायातका हिसाबले यो जिल्ला सुगम नै मानिन्छ । यसबाहेक अन्य सहायक सडकले पनि स्याङ्जाका प्रायः सबै क्षेत्रलाई समेटेको छ । यातायातको पहुँचले गर्दा पनि यहाँका सम्भावनालाई मूर्तरूप दिने आधार बनेको छ ।
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ यही जिल्लामा सञ्चालित छ । देशकै ठूलो पहाडी सिँचाइ योजना चापाकोट टार सिँचाइ योजना, नेपालको पहिलो नमूना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुबारी, नेपालकै नमूना मानिने पाल्पा र स्याङ्जाको सिमानासँग जोड्ने कालीगण्डकी नदीमाथि रहेको राम्दीको पुल जिल्लाका महत्वपूर्ण चिनारीका रूपमा रहेका छन् । साथै नगदेबालीका रूपमा ताजा तरकारी, गोलभेंडा, सुन्तला, कफी, अदुवा र उखुखेतीमा जिल्लाले आफ्नो पहिचान स्थापित गरिसकेको छ ।
पुतलीबजार, वालिङ र गल्याङ गरी जिल्लामा तीनओटा व्यापारिक केन्द्र छन् । दुई नगरपालिका र ६० गाविस रहेको स्याङ्जाका तीनओटै व्यापारिक केन्द्र पाल्पा, गुल्मी र पर्वतका केही गाविसका लागि पनि केन्द्र नै बन्न पुगेका छन् । जडीबुटी र कृषिमा प्रशस्त सम्भावना रहे पनि स्रोत परिचालनका लागि आवश्यक शीपको अभावमा अपेक्षित विकास हुन नसकेको स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला बताउँछन् । कृषि तथा पर्यटनको प्रवद्र्धन गर्न सकेमा जिल्लाले महत्वपूर्ण विकास गर्न सक्ने उनको बुझाइ छ ।
कृषि
स्याङ्जा जिल्ला कृषिखेतीका लागि निकै सम्भावना भएको क्षेत्र हो । यहाँका आँधीखोला, ज्याग्दीखोला, सेतीखोला, दरौखोला र कालीगण्डकीआसपासका क्षेत्र निकै उर्वर भूमि हुन् । जिल्लाका ठूलो क्षेत्रफलमा राजमार्गको पहुँच पुगेको छ भने सबै ठाउँमा शाखा सडक पुगेको छ । स्याङ्जाको चापाकोट, स्वरेक, कालीगण्डकी, लामागेलगायतका क्षेत्रमा प्रशस्त धानखेती हुने गर्छ । नगदेबालीका रूपमा स्याङ्जाका अधिकांश क्षेत्रमा गोलभेंडा, कफी, सुन्तला र अदुवाखेती हुँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले धान, मकैलगायत खाद्यान्न बाली र अन्य नगदेबालीमा स्याङ्जा आत्मनिर्भर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लाको कृषिक्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासको सम्भावना उत्तिकै छ ।
जिल्लाका विभिन्न गाविसमा शुरू भएको व्यावसायिक तरकारी खेतीमार्फत बुटवल र पोखरामा समेत तरकारी निर्यात गरिरहेको अवस्था छ । दूध तथा दुग्धपदार्थबाट पनि यहाँका कृषकले राम्रै आम्दानी गरिरहेका छन् । जिल्लामा सञ्चालित ३६ ओटा दुग्ध सहकारीमार्फत सङ्कलित दूधमध्ये ४ हजार लिटरभन्दा बढी दूध दैनिक पोखरा तथा बुटवलतर्फ निर्यात हुने दुग्ध उत्पादक सहकारी सङ्घ स्याङ्जाका अध्यक्ष ढाकाराम अर्यालले जानकारी दिए । पशुपालन गर्ने कृषकलाई आवश्यक तालीम दिएर व्यावसायिक बनाउने प्रयास गर्न सके आम्दानीको राम्रो स्रोत बन्ने निश्चित छ ।
पर्यटनको सम्भावना
कृषिपछि जिल्लाको सबैभन्दा धेरै सम्भावना बोकेको क्षेत्रका रूपमा पर्यटनलाई लिइन्छ । नेपालकै पहिलो नमूना ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी, सम्भवतः विश्वकै ठूलो शिला सेतीबेनीको शालिग्राम, पञ्चासे, नुवाकोट, कृषि पर्यटकीय क्षेत्र जगतभञ्ज्याङको आरुपाटा–पित्लेक, मिलेनियम ट्रेकलगायत यहाँका मुख्य पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रमा सन् २०१२ मा आन्तरिक तथा बाह्य गरी १ लाखभन्दा बढी पर्यटकले अवलोकन गरिसकेको जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । सन् २०१२ मा जिल्लामा पर्यटन व्यवसायबाट करीब ३० करोड रुपैयाँको कारोबार भएको उनले जानकारी दिए । यीबाहेक खर्सु, साल्मेडाँडा, सिर्सेकोट, गडहरे गुफा, हुनीकोट, चित्रे, कुवाकोट, महगाउँ यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । त्यस्तै प्याराग्लाइडिङ शुरू गरेकै स्थानमा ल्याण्ड गर्न सकिने ठाउँका रूपमा चिनिएको खिलुङ पनि यहाँको मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास भइसकेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पर्यटकीय क्षेत्रका पञ्चासे, छाङछाङदी, गह्रौंकालिका मन्दिर, आलमदेवी, हरिनाश पर्यटन विकास क्षेत्रलगायत ठाउँको पनि व्यावसायिक पर्यटनको सम्भावना उत्तिकै छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना स्थल र मिर्मीदेखि सेतीबेनीसम्मको जलविहार यहाँको मुख्य आकर्षण बनिसकेको छ । जिल्लामा पर्यटक भित्र्याउन यसको पनि योगदान छ । यद्यपि, यस्ता ठाउँहरूको उचित प्रचारप्रसार भने हुन सकेको छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।