जेठ १९, कास्की । पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सेवा सूचारु भएको छ । डेढहप्तादेखि आन्तरिक विवादका कारण अस्पतालका सेवा ठप्प भएपछि स्थानीय प्रशासन, नागरिक समाज र प्रदेश सरकारको दबाबपछि शुक्रवार साँझबाट सेवा सुचारु भएको हो ।
अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत ४ जना कर्मचारीलाई आर्थिक हिनामिना गरेको आरोपमा निस्कासन गरेपछि मणिपालका कर्मचारी युनियनको अगुवाईमा आन्दोलन चर्किएका कारण आकस्मिक बाहेकका अन्य सेवा ठप्प थियो ।
अस्पतालको ओपिडी, जनरल वार्ड सहित सबै सेवाहरु निर्वाध सञ्चालनमा आएको अस्पताल प्रशासन प्रमुख भानु भारद्वाजले बताए । आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच कुनै लिखित सम्झौता नभएको उनले बताए । ‘आन्दोलनरत कर्मचारी र विभिन्न ठाउँबाट दाबाब आएको थियो तर, हामीले कुनै सम्झौता गरेनौँ’ प्रमुख भारद्वाजले भने । ‘हामीले आर्थिक अनियमितता भएको पुष्टि गरेरै उनीहरुलाई निष्कासन गरेका हौ,’ उनले भने, ‘कुनै सम्झौता गर्ने कुरै भएन ।’
निस्कासनमा परेका कर्मचारी टेकबहादुर विकले पनि अस्पताल प्रशासनसँग कुनै लिखित सम्झौता बिना नै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । ‘अस्पताल प्रशासनले कर्मचारीका मागलाई बेवास्ता गर्दै मुकदर्शक बनेपछि मानवीय संवेदनालाई मध्यनजर गर्दै आन्दोलन स्थगन गरेका हौं,’ उनले भने, ‘मानवीय संवेदनशीलतालाई बुझेर कर्मचारी साथीहरुलाई काममा फर्कन आग्रह गरेका छौं ।’
अस्पतालमा आन्दोलन चर्किएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्देशनमा सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा बसेको बैठकमा सर्वपक्षीय छानबिन समिति गठन गरिनुपर्ने प्रस्ताव राखिएको थियो । तर, अस्पताल प्रशासनले बर्खास्तमा परेका कर्मचारीलाई अस्पतालले छानबिन पश्चात दोषी पाइएकाले निकालिएको जिकिर गर्दै सर्वपक्षिय छानबिन समिति गठन गर्न नपर्ने अडान लिएको थियो । अस्पतान सहमतिमा नआएपछि आन्दोलनरत कर्मचारी नै पछि हटेपछि सेवा सुचारु भएको हो ।
आन्दोलनरत कर्मचारी युनियन तत्कालका लागि आन्दोलनबाट पछि हटेपनि आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको बिकले बताए । ‘अब, आन्दोलनलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेर थप आन्दोलन गर्छौँ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।