ल्यापटप किन्नुअघि यी कुरालाई ध्यान दिनुहोस्

Share News

अहिले बजारमा धेरै ब्राण्डका ल्यापटप उपलब्ध छन् । तर, बजारमा राखिएका विभिन्न मोडल, डिजाइन र हार्डवेयर क्षमताका ल्यापटपको छनोटले भने खरीद गर्ने योजना बनाइरहेकाहरूलाई अलमलमा पार्ने सम्भावना पनि उत्तिकै छ । ल्यापटपको आकार, विविध फिचर, तिनको क्षमता, प्रयोगमा सहजतालगायत विषयले खरीदकर्तालाई अलमलाउने पाइएको छ । यसै सन्दर्भमा नयाँ ल्यापटप किन्न खोजिरहेकाहरूको आवश्यकता पूरा गर्न सहयोगी हुने ठानेर केही सुझाव यहाँ प्रस्तुत गरिएको छ :

सीपीयूको छनोट : सेण्ट्रल प्रोसेसिङ युनिट अथवा सीपीयू ल्यापटपलगायत कुनै पनि कम्प्युटरजन्य उत्पादनको केन्द्रीय एवम् महत्वपूर्ण भाग हो । यसले नै कम्प्युटर सञ्चालन गर्छ । बजारमा हाल झण्डै १० भन्दा बढी प्रकारका सीपीयूयुक्त ल्यापटप पाइन्छन् । तिनमा मुख्यतया विश्वका दुई ठूला चिप निर्माता इण्टेल र एएमडीका विभिन्न शृङ्खलाका सीपीयूको वर्चस्व छ । र, तिनका प्रकारअनुसार ल्यापटपको शक्ति र प्रदर्शन पनि फरकफरक हुने गर्छ । घर तथा कार्यालयमा गरिने सामान्य प्रकारका काम जस्तै अफिस एप्लिकेशन, इण्टरनेट सर्फिङ, सङ्गीत सुन्ने र फिल्म हेर्न इण्टेलको डुअल–कोर प्रोसेसर भएका ल्यापटप नै काफी हुन्छन् । तर, मल्टिमिडीया एप्लिकेशन, भिडियो गेम अथवा कम्प्युटर प्रोग्रामिङका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने इण्टेलको ‘आई’ शृङ्खला विशेषगरी आई फाइभ र आई सेभेन सीपीयू भएका ल्यापटपले तपार्इंको आवश्यकता पूरा गर्नेछन् ।

मोबाइल प्रयोग र कम भोल्टेज : कामको सिलसिलामा विभिन्न ठाउँमा गइरहनुपर्नेहरूलाई ल्यापटप बोकेर हिँड्दा ब्याट्री चार्जिङको समस्याले सताउने गर्छ । यदि तपार्इं पनि ल्यापटपको खरीद मोबाइल (पोर्टेबल) प्रयोगका लागि गर्दै हुनुहुन्छ भने कम विद्युत् खपत गर्ने प्रोसेसरयुक्त उत्पादन छान्नुहोस् । यस्ता ल्यापटपको शक्ति केही थोरै हुन्छ ।

तर, पावर ब्याकअप धेरै समयसम्म टिक्ने हुनाले त्यसको फाइदा बढी हुन्छ । ब्याकअप क्षमताका आधारमा ल्यापटपमा ९ ओटा सेल अथवा १२ ओटा सेलयुक्त ब्याट्री भएको/नभएको विषयमा पनि ध्यान दिनुहोस् ।

वाइफाई : केही वर्षयता ताररहित इण्टरनेट कनेक्टिभिटीका लागि वाइफाई एक अत्यावश्यक उपकरण बनेको छ । तर, वाइफाई पनि ८०२.११ बी/जी र ८०२.११ एन गरी दुई प्रकारका छन् । पछिल्ला २ वर्षदेखि निकै प्रचलित वाइफाई ८०२.११ बी/जीले द्रुतगतिको इण्टरनेट कनेक्शन गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिनुहोस् ।

की–बोर्ड र माउस : ल्यापटप चलाउन अत्यावश्यक हार्डवेयरमध्ये की–बोर्ड र माउस पनि पर्छन् । तर, डेस्कटपको तुलनामा ल्यापटपका की–बोर्ड र माउस कमसल हुन सक्छन् भनेर पनि ख्याल गर्नुहोस् । आकर्षक डिजाइनमा लोभिएर ल्यापटप खरीद गरेका कतिपय प्रयोगकर्ताहरू की–बोर्ड र माउस टचप्याड चलाउँदा समस्या देखिएको भनेर बारम्बार गुनासो गर्ने गर्छन् । यसबाट बच्न किन्नुअघि नै की–बोर्ड सुविधाजनक भए/नभएको र माउस टचप्याडले राम्ररी काम गरे/नगरेको निक्र्योल गर्नुहोस् ।

ल्यापटपको च्यासिस : तपाईंले किन्न खोजेको ल्यापटपको ‘बडी’ प्लाष्टिक अथवा धातु केबाट बनेको हो, त्यो कुरा थाहा पाउन जरुरी छ । प्लाष्टिक ‘बडी’ भएका ल्यापटपको तुलनामा धातु प्रयोग भएका उत्पादन बढी सुरक्षित हुनुका साथै आकर्षक पनि देखिन्छन् । विशेषगरी अल्मुनियम च्यासिस भएका ल्यापटप बढी हल्का हुनुका साथै बढी सुरक्षित मानिन्छन् ।

तौल : मोबाइल कम्प्युटिङका लागि नै लक्षित गरेर बनाइने भए पनि ल्यापटपको आकार र त्यसको हार्डवेयरका कारण तौल बढी पनि हुन सक्छ, जसले गर्दा बोकेर हिँड्न कठिनाइ हुन सक्छ । विशेषगरी डिस्प्ले अथवा स्क्रिनको आकार सानो भएका ल्यापटपको तौल पनि कम हुने भएकाले त्यस्ता उत्पादन नै किन्नु राम्रो हुन्छ ।

ग्राफिक्स : मल्टिमिडिया एप्लिकेशनको प्रयोग र भिडियो गेम खेल्न पनि अहिले थुप्रै मानिसले ल्यापटप किन्ने गर्छन् । तर, डेस्कटप कम्प्युटरको तुलनामा कतिपय ल्यापटपका ग्राफिक्स कार्ड कम शक्तिशाली हुने गर्छन् । त्यसैगरी कतिपयमा ग्राफिक्स कार्ड नभई सामान्य प्रकारको ‘इण्टिगे्रटेड’ ग्राफिक्स प्रणाली मात्रै राखिएको हुन्छ, जसबाट मल्टिमिडिया र गेमिङ एप्लिकेशन चलाउन सम्भव हुँदैन । त्यसैले, ल्यापटपको ग्राफिक्स प्रणाली ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) को शक्तिलाई राम्ररी जाँच्नुहोस् ।

स्रोत : पीसी म्याग

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।