‘सात तालको बाटिका शहर’का रूपमा परिचित कास्कीको लेखनाथले आफ्नो छुट्टै पहिचान बनाएको छ । पर्यटन, कृषि तथा औद्योगिक व्यवसायमा लगानीका लागि पनि लेखनाथ नयाँ क्षेत्रका रूपमा विकसित हुन थालेको छ । समथर भूभाग बढी रहेको लेखनाथमा उद्योग–व्यवसायको वृद्धिसँगै बैङ्क तथा वित्तीय संस्थाहरू पनि आकर्षित हुन थालेका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ नगरपालिका तथा स्थानीय पर्यटन व्यवसायीलगायतको संयुक्त सहकार्यमा विगत ९ वर्षदेखि लेखनाथको विकासका लागि यस महोत्सवको आयोजना हुँदै आएको छ । उक्त महोत्सवको निरन्तरतास्वरूप शुक्रवारबाट नवौं लेखनाथ महोत्सवको आयोजना हुँदै छ । माघ २६ देखि फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा लेखनाथको पर्यटन प्रवद्र्धन गरी व्यवसायलाई प्रोत्साहन गर्न स्थानीय राजनीतिक दल, उद्योगी–व्यवसायी, युवा क्लबहरू तथा सम्पूर्ण आमा समूहहरूको उत्साहजनक सहभागिता रहने लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन भट्टराईले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव लेखनाथबासीका लागि गौरव र प्रतिष्ठाको विषय भएको उनको भनाइ छ ।
लेखनाथको पर्यटन विकास, सम्भावनाको खोजी, स्थानीय उत्पादनहरूको पहिचान तथा बजारीकणका लागि महोत्सव महत्वपूर्ण रहँदै आएको छ । सुन्दर हिमालयको दृश्य, ठूलासाना गरी सातओटा ताल, जैविक विविधता लेखनाथका पर्यटकीय सम्भावनाका संवाहक हुन् । त्यस्तै, कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा उनकै नामबाट नामकरण गरिएको लेखनाथ नगरपालिकामा साहित्यिक पर्यटनको पनि प्रशस्त सम्भावना रहेको पाइन्छ । पोखरा भ्रमणका लागि आउने पर्यटकहरू लेखनाथ नपुगी फर्किए उनीहरूको भ्रमण अपुरो नै रहने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।
लेखनाथमा औद्योगिक लगानी
पछिल्लो समय लेखनाथ नगरपालिकाले औद्योगिक नगरीका रूपमा पनि पहिचान बनाउने तयारी गरिरहेको छ । पोखरासँग जोडिएको, पृथ्वीराजमार्गले छोएको, राजधानीबाट नजिक तथा तराईसँग सीधा सम्पर्क रहेको लेखनाथमा औद्योगिक प्रतिष्ठानहरू खुल्ने क्रम बढिरहेका छन् ।
उत्पादन र सेवा दुवै क्षेत्रका उद्योगहरूका लागि लेखनाथ उपयुक्त स्थल भएको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भट्टराई बताउँछन् । सुजल फुड्स, जया कन्फेक्सनरी, गण्डकी आयल मिल, कर्माचार्य प्लाष्टिकलगायतका नेपालकै प्रतिष्ठित उद्योग यहीँ छन् । चक्लेट, तोरीको तेल, बिस्कुट र ग्यास उत्पादनमा लेखनाथ नेपालमै अग्रणी रहेको छ । त्यस्तै, लेखनाथमा रहेका राइस मिल, स–मिल, पेट्रोल पम्पमा पनि लगानी थप हुँदै आएको छ । चोकोफन र ल्याक्टो चक्लेट, कोसेली तेल, एग्रिनो चामल, च्याम्प बिस्कुट, इको मिनरल वाटर, शक्ति र गृहलक्ष्मी ग्यासलगायतका नेपालमा स्थापित भइसकेका ब्राण्डहरू लेखनाथका उत्पादन हुन् । त्यस्तै, लेखनाथमा व्यवस्थित बसोबासका लागि सामूहिक आवास निर्माण कार्य पनि शुरू भइसकेको छ । अन्नपूर्ण रेसिडेन्सी र हिमालय हाइल्याण्ड डेभलपमेण्ट प्रोजेक्टले यहाँ करोडौं रकम लगानीमा सामूहिक आवास निर्माण कार्यको शुरूआत गरिसकेका छन् । लेखनाथ तथा पोखरा औद्योगिक लगानीका लागि उपयुक्त क्षेत्र भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको भनाइ छ । प्रत्येक वर्ष आयोजना हुने लेखनाथ महोत्सवले यस क्षेत्रमा लगानी भित्र्याउन थप सहयोग गर्ने उनी बताउँछन् ।
लेखनाथ महोत्सवले यस नगरपालिकाका उद्योग–प्रतिष्ठानमा लगानी गर्न व्यवसायीहरूलाई प्रोत्साहित गरिरहेको उद्योगपति तथा लक्ष्मी गू्रपका अध्यक्ष गणेश श्रेष्ठको बुझाइ छ । राजनीतिक सङ्क्रमणकालीन अवस्थाले उद्योगहरूमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा लेखनाथमा भने उद्योग–व्यवसाय प्रवद्र्धन गर्न महोत्सव आयोजना हुनु आफैमा सकारात्मक पक्ष हो । सम्भावनाहरूको पहिचान गरी स्थानीय उत्पादनलाई बजारसम्म ल्याउन महोत्सव सफल हुने लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको भनाइ छ ।
पर्यटन क्षेत्रमा लेखनाथ
नेपालकै तेस्रो ठूलो बेगनास ताल अवलोकनका लागि मात्र लेखनाथमा दैनिक सयौं पर्यटक आउने गर्छन् । यसैकारणले पनि पछिल्लो समय लेखनाथमा पर्यटकीयस्तरका ठूला होटलमा लगानी पनि बढिरहेको छ । बेगनास लेक रिसोर्ट, बेगनास ग्राण्ड होटल, रूपा भ्यू गेष्ट हाउस, होटल डे ब्रेकलगायतका होटलले लेखनाथ आएका पर्यटकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । यीबाहेक अन्य साना होटलहरूको सङ्ख्यासमेत उल्लेख्य रहेको छ ।
नेपालकै चौथो ठूलो रूपाताल पनि लेखनाथमै पर्छ । न्यूरेनी, मैदी, दीपाङ, खास्टे र गुँदेतालले समेत यहाँको पर्यटकीय सम्भावनालाई बढाइरहेका छन् । जैविक विविधता, प्राकृतिक सुन्दरताले धनी भएकै कारण लेखनाथको पर्यटकीय सम्भावना अत्यधिक रहेको अध्यक्ष अधिकारीको भनाइ छ । बेगनास र रूपातालका माछाको स्वाद लिन मात्र पनि यहाँ पर्यटकहरू आउने गरेको पर्यटन व्यवसायी दामोदरभक्त थापा बताउँछन् । विश्वकै १० उत्कृष्ट पैदलमार्गमा पर्ने राउण्ड अन्नपूर्ण जाने वैकल्पिक मार्गका रूपमा बेगनास ताल, लमजुङको करापुटार, नाल्मा हुँदै खुदी निस्कने मार्गलाई विभिन्न पर्यटकीय गाइड बूकहरूमा उल्लेख गरिएको थापाले जानकारी दिए । ग्रामीण पर्यटनका लागिसमेत उपयुक्त रहेको लेखनाथमा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक स्रोतहरू पर्याप्त रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘स्थानीय निकाय र स्थानीय जनताको विशेष पहल हुन सकेमा यस क्षेत्रको पर्यटन विकास राम्रोसँग अगाडि बढ्न सक्छ ।’ त्यस्तै, साहित्यिक पर्यटनको समेत पर्याप्त सम्भावना रहेको लेखनाथमा कविशिरोमणि लेखनाथ पौडेलको नाममा सङ्ग्राहलय स्थापना गर्न पहल भइरहेको स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
बैङ्किङ लगानी बढ्दै
आर्थिक–सामाजिक क्रियाकलापहरूमा वृद्धि हुँदै आएपछि लेखनाथमा बैङ्कहरूसमेत आकर्षित हुन थालेका छन् । अपी फाइनान्स लेखनाथकै पहिलो फाइनान्स कम्पनीका रूपमा स्थापित भएर यस क्षेत्रमा बैङ्किङ सेवा प्रदान गरिरहेको छ । कामना विकास बैङ्क लेखनाथमै मुख्य कार्यालय रहेको पहिलो विकास बैङ्क हो । पोखरामा स्थापना भएका अन्य विकास बैङ्कहरूले समेत लेखनाथमा शाखाहरू सञ्चालनमा ल्याएका छन् । गण्डकी विकास बैङ्क लेखनाथमा शाखा खोल्ने पोखराको पहिलो विकास बैङ्क बनेको छ । लेखनाथकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बेगनास ताल क्षेत्रमा नेपाल कञ्जुमर डेभलपमेण्ट बैङ्कले पहिलोपटक शाखा सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गरिरहेको छ । त्यस्तै, लेखनाथ क्षेत्रमा माछापुच्छ्रे बैङ्क, एभरेष्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, विश्व विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, कामना विकास बैङ्क, मेट्रो डेभलपमेण्ट बैङ्क, अपी फाइनान्स, गण्डकी विकास बैङ्क, कैलाश विकास बैङ्क, नेपाल कञ्जुमर डेभलपमेण्ट बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थाले लेखनाथबासीलाई सरल बैङ्किङ सेवा प्रदान गरिरहेका छन् । लेखनाथमा स्थापना भएका बैङ्कहरूले बढी कृषि र पर्यटनमा लगानी गरिरहेको कामना विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले बताए । स्थानीय व्यवसायको प्रवद्र्धनका लागि साना कर्जा प्रवाहमा जोड दिँदै लगानी गरिएको कैलाश विकास बैङ्कका मुख्य प्रबन्धक बुद्धिराज बरालले जानकारी दिए ।
धेरै सङ्ख्याका बैङ्कहरूले सेवा प्रदान गरिरहे पनि लेखनाथ क्षेत्रका ग्रामीण भेगमा भने बैङ्कहरूको पहुँच पुगिसकेको पाइँदैन । पोखरामा केन्द्रीय कार्यालय रहेका वित्तीय संस्थाहरूले लेखनाथमा शाखा नभए पनि पेखराबाटै बैङ्किङ सेवा प्रदान गरिरहेको बैङ्कहरू बताउँछन् । यहाँका ओम फाइनान्स लिमिटेड, सिटी डेभलपमेण्ट बैङ्क, साङ्ग्रिला डेभलपमेण्ट बैङ्क, गरिमा विकास बैङ्क, कास्की फाइनान्स, फेवा फाइनान्स, पोखरा फाइनान्सलगायतले पोखराबाटै लेखनाथ क्षेत्रलाई प्राथमिकतामा राखी बैङ्किङ लगानी गरिरहेका छन् । पोखरापछि लगानीको राम्रो सम्भावना लेखनाथ रहेको सिटी डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । त्यस्तै, लेखनाथ क्षेत्रलाई प्राथमिकतामा राखी आफूहरूले कर्जा प्रवाह गरिरहेको ओम फाइनान्सका महाप्रबन्धक बुद्धि मल्लले बताए । मेट्रो डेलपभेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद तिवारी, साङ्ग्रिला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल पनि लेखनाथ बैङ्किङ लगानीका लागि उपयुक्त थलो भएको बताउँछन् ।
कृषिमा अग्रणी बन्दै
कृषिलाई व्यावसायिक रूपमा अँगाल्नेहरूको सङ्ख्या लेखनाथमा बढिरहेको छ । विशेषगरी माछा, गाई, कुखुरा, मौरीपालनलाई यहाँका किसानले व्यावसायिक रूपमा अगाडि बढाइरहेका छन् । व्यावसायिक तरकारी खेती गर्नेहरू पनि उल्लेख्य सङ्ख्यामा छन् । लेखनाथमा कुखुरापालन व्यवसायलाई प्रवद्र्धन गर्न दर्जनौं पोल्ट्री फार्म सञ्चालनमा छन् । यहाँ उत्पादित कुखुरा लेखनाथ तथा पोखरालगायत छिमेकी जिल्लाहरूमा निर्यात हुने गरेको विशाल पोल्ट्री फार्मका सञ्चालक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव बाबुराम गिरिले बताए । नगरपालिकाको ढोडबेशी र मालेपाटन उखु उत्पादनका लागि प्रसिद्ध छन् ।
लेखनाथको बेगनास र रूपाताल क्षेत्रमा उत्पादित माछा पर्यटकको रोजाइको परिकार बनेको छ । लेखनाथमा व्यक्तिगत मात्रै नभई सहकारीमार्फत पनि माछापालन व्यवसायमा लगानी भएको पाइन्छ । माछापालन गर्ने कृषहरूलाई मत्स्य अनुसन्धान केन्द्र बेगनासले प्राविधिक सहयोग गर्दै आएको छ । लेखनाथमा ९० ओटा पोखरीमा माछापालन व्यवसाय भइरहेको लेखनाथ महोत्सवका कृषि संयोजक तथा अग्रणी कृषक दयाराम तिवारीले जानकारी दिए । गतवर्ष मात्र लेखनाथबाट ४ सय मेट्रिक टन माछा उत्पादन भएको थियो । यसलाई बढाएर ८ सय मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
कफी र सुन्तला खेतीका लागि समेत लेखनाथ अग्रणी छ । यहाँ उत्पादित कफी र सुन्तलाले राम्रो बजार पाउन सफल रहेको व्यवसायीहरू बताउँछन् । विसं २०६४/६५ बाट शुरू ‘एक गाउँ एक उत्पादन’ अभियानले पनि लेखनाथ क्षेत्रमा कृषिअन्तर्गत मौरी, सुन्तला, कफी, दूधजन्य उत्पादन र माछापालन व्यवसायमा सहयोग पुगिरहेको स्थानीय किसानहरूको भनाइ छ । लेखनाथको कृषिक्षेत्र प्रवद्र्धन गर्न लेखनाथ महोत्सवमा समेत स्थानीय र कृषि उत्पादनलाई प्राथमिकता दिने आयोजकको तयारी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।