छैटौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०६९

Share News

रुपन्देही :प्राङ्गारिक उत्पादनमा अग्रणी बन्दै
व्यापारका दृष्टिले पश्चिमाञ्चलको अग्रणी नगरका रूपमा रहेको रूपन्देहीको बुटवलमा पछिल्लो समय प्राङ्गारिक उत्पादनमा जोड दिन थालिएको छ । अष्ट्रिच, बट्टाइजस्ता बजारमा बढी माग भएका मासुजन्य उत्पादनमा पनि यो क्षेत्र अग्रणी बन्ने सम्भावना देखिएको छ । यसका अतिरिक्त विषादीरहित फलफूल तथा तरकारीको उत्पादन गर्न पनि जिल्ला अग्रसर हुन थालेको छ । यहाँका किसानहरू प्राङ्गारिक उत्पादनमा आकर्षित हुँदै जानुका साथै व्यावसायिकसमेत बन्न थालेका छन् । विशेषगरी बुटवलवरपर रहेका बैङ्क तथा वित्तीय संस्थामा प्राङ्गारिक कृषिका लागि ऋण लिन जाने किसानको सङ्ख्या पनि विस्तारै बढ्न थालेको सम्बद्ध संस्थाका अधिकारीहरूले बताएका छन् । यसबाट पनि रूपन्देही प्राङ्गारिक उत्पादनमा अग्रणी बन्ने बाटोमा लागेको स्पष्ट हुन्छ ।

प्राङ्गारिक कृषि उत्पादनमा किसानलाई जागरुक गर्न र उपभोक्तालाई यस्ता उपज प्रयोगको बानी बसाल्न विभिन्न समयमा बुटवल उद्योग–वाणिज्य सङ्घले मेलाको आयोजना गर्दै आएको छ । ‘प्राङ्गारिक कृषि उपजहरूलाई जनसमक्ष परिचित गराई यसको व्यवसाय प्रवद्र्धन गर्नु मेलाको प्रमुख उद्देश्य हो,’ बुटवल उद्योग–वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ भन्छन् । प्राङ्गारिक कृषि उपज स्वस्थकर हुनुका साथै स्वादिलोसमेत हुने सन्देश उपभोक्तालाई दिन मेला प्रभावकारी हुने उनको विश्वास छ । कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको संयुक्त आयोजनामा मेला आयोजना गरिएको हो ।

मुलुकका ३६ जिल्लाका प्राङ्गारिक उत्पादनलाई मेलामा निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको श्रेष्ठले बताए । ‘यो मेलाले प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकलाई जागरुक बनाउनेछ,’ उनले भने । मेलाले निर्यातयोग्य वस्तुहरूको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउने तथा दिगो कृषि विकासका लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकताबोध गराउने पनि आयोजकको विश्वास छ । ‘मेलाले कृषि क्षेत्रको व्यवसायीकरण एवम् आधुनिकीकरणमा सहयोग पुर्‍याउने विश्वास पनि हामीले लिएका छौं,’ सङ्घका वरिष्ठ उपाध्यक्ष महेशमान सिंहले भने । उच्च हिमाली क्षेत्र मनाङ–मुस्ताङ तथा नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गरेको एक गाउ एक उत्पादनअन्तर्गत सिन्धुलीको जुनारदेखि गुल्मीको कफीलगायतका कृषि उपज मेलामा रहनेछन् ।

मेलामा स्टलको सहभागिताका लागि आयोजकहरूले किसान घरदैलो अभियानसमेत सम्पन्न गरेका छन् । मेलामा सम्बन्धित किसान तथा सरोकारवालाको सहभागिताका लागि रूपन्देही, कपिलवस्तु र नवलपरासीका ग्रामीण क्षेत्रका व्यावसायिक तथा प्राङ्गारिक कृषि पेशामा संलग्न व्यक्ति–समूहको घरदैलोमा पुगी स्टल सहभागिता र अवलोकनका लागि आमन्त्रण गरिएको छ । यस्तै, सञ्चारमाध्यम, पर्चा–पम्प्लेट, ब्रोसरबाट पनि मेलाको प्रचारप्रसार गरिएको छ । ‘हाम्रो मुख्य ध्येय मेलाको बढीभन्दा बढी किसान तथा उपभोक्ताले अवलोकन गरून् भन्ने हो,’ सङ्घका उद्योग उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले भने । मेलामा आयोजना गरिने गोष्ठी तथा सेमिनारले पनि प्राङ्गारिक कृषिको महत्वलाई उजागर गर्ने आयोजकको भनाइ छ । अष्ट्रिच नेपालका सञ्चालक नवराज श्रेष्ठ एकीकृत विकास र सरकारी कार्यालयको समन्वयसहित कृषिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

अहिले मुलुकभर हुने मेला–महोत्सवको श्रेय बुटवललाई नै जाने अध्यक्ष श्रेष्ठको दाबी छ । बुटवलबाट नै मेला–महोत्सवको परम्परा विकास भएको उनको भनाइ छ । सङ्ख्यात्मक रूपमा पनि बुटवलमा मेला–महोत्सव बढी हुँदै आएको छ । बुटवल मण्डपमा यही माघ २६ देखि २९ सम्म चल्ने छैटौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला– २०६९ मेलाले भने जिल्लाका किसानलाई व्यावसायिक कृषि तथा प्राङ्गारिक कृषिमा लाग्न उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । यो मेलामा करीब १ सय ५० स्टल रहनेछन् । त्यसको ६० प्रतिशत स्टल प्राङ्गारिक कृषि उपजको नै हुनेछ । मेलाले प्रत्यक्ष आर्थिक लाभ दिलाउने भन्दा पनि प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

मेलालाई आकर्षक बनाउन कृषि उपज तथा प्रविधिको प्रदर्शन गर्नुका साथै कृषिसम्बन्धी विभिन्न प्रतियोगिता पनि आयोजना हुने आयोजकको भनाइ छ । प्राङ्गारिक उत्पादनबारे जनचेतना जगाउने खालका सांस्कृतिक कार्यक्रमहरूसमेतको आयोजना गर्ने तयारी गरिएको छ । मेला औद्योगिक व्यापार मेला वा अन्य ठूलो खालको प्रदर्शनजस्तो नभएकाले निःशुल्क प्रवेशको व्यवस्था छ । निःशुल्क प्रवेशका कारण लक्षित समूहभन्दा अन्य दर्शक बढी आउने र भीड हुने हो कि भन्ने चिन्ता पनि आयोजकको छ । किसान समूह तथा कृषिक्षेत्रका सरोकारवालाहरूलाई लक्षित गरी आयोजना गरिएकाले मेलालाई बढी उपलब्धिमूलक बनाउने प्रयास उद्योग वाणिज्य सङ्घको छ । ६० प्रतिशत स्टल निःशुल्क हुनुका साथै प्रवेश पनि निःशुल्क भएको हुँदा कारोबारको आकार ठूलै हुने अपेक्षा पनि आयोजकले गरेको छैन । तर, करीब १ लाख जनाले मेला अवलोकन गर्ने विश्वास भने आयोजकको रहेको छ ।

सरकार नै मुख्य आयोजक रहेको यसपटकको कृषि मेलालाई स्थानीय उद्योगी–व्यवसायीको पनि उत्तिकै साथसहयोग रहेको छ । चौतर्फी रूपमा पायक पर्ने स्थान भएका कारण जिल्लामा व्यावसायिक कृषिको सम्भावना बढेर गएको छ । यसले बेमौसमी तरकारी खेती, उन्नत बीउबिजन एवम् वर्णशङ्कर जातहरूको प्रयोगमा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो समय उत्पादन वृद्धिसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको छ । यसले किसानलाई व्यावसायिक बन्न प्रेरणा मिलेको उनीहरू नै बताउँछन् ।

साना तथा मझौला उद्योगको बाहुल्य
साना तथा मझौला उद्योगहरूको बाहुल्य रहेको रूपन्देही जिल्लामा ६ हजार उद्योग छन् । तीमध्ये आधा उद्योग बुटवल र यसवरपर सञ्चालित छन् । बुटवल औद्योगिक क्षेत्रमा प्लाष्टिक उद्योगको बाहुल्य छ । औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष तिलप्रसाद भट्टराई भन्छन्, ‘बुटवल औद्योगिक क्षेत्र प्लाष्टिकजन्य उद्योगको हब हो भन्दा फरक नपर्ला ।’ बुटवल टेक्निकल इन्ष्टिच्युटको स्थापनासँगै यहाँ औद्योगिक विकास शुरू भएको मानिन्छ । यो इन्ष्टिच्युटले अहिले पनि औद्योगिक विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

बुटवलको मैनाबगरमा नमूना अटो भिलेज छ । यहाँका ग्रील उद्योगीहरूले अहिले ‘ग्रील जोन’को माग गर्दै आएका छन् । यसले बुटवलमा विस्तारै विशिष्टीकृत व्यवसायको शुरू हुन थालेको बुझ्न सकिन्छ । ‘अबको बजार विशिष्टीकृत नै हुनुपर्छ,’ रूपन्देही व्यापार सङ्घका अध्यक्ष टङ्कप्रसाद पोखरेल भन्छन् । स्थानीय प्राङ्गारिक उत्पादनहरूलाई विशिष्टीकृत गर्ने प्रयासमा बुटवल उद्योग वाणिज्य सङ्घ, सम्बद्ध किसान, सरकारी निकाय, निजीक्षेत्र लागिपरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।