नेरोल्याक पेण्ट्ण्स : नेरोल्याक रङको साइनो

Share News

कान्साई पेण्ट्स नेपाल प्रालिले नेरोल्याक पेण्ट्स नेपाली बजारमा ल्याएको छ । नेरोल्याक पेण्ट्स लिमिटेड इण्डिया र नेपालको शालिमार प्रालिसँगको संयुक्त लगानीमा स्थापना भएको कान्साई पेण्ट्सले नेपालमै पहिलोपटक आधुनिक प्रविधि प्रयोग गरी पेण्ट्स उत्पादन शुरू गरेको कान्साई पेण्ट्स नेपाल प्रालिका कण्ट्री हेड राजेन्द्र देसाईले बताए । उनी भन्छन्, ‘जापानी तथा भारतीय प्रविधिको प्रयोग गरी उत्पादन गरिएको पेण्ट्स मानवीय स्वास्थ्यलाई ध्यानमा राखी उत्पादन गरिएको छ ।’ कान्साई नेरोल्याक पेण्ट्समा जापानको कान्साई पेण्टको पनि संयुक्त लगानी रहेको छ । अहिले नेपालमा स्थापना गरिएको कम्पनीमा भने नेरोल्याकको ६८ प्रतिशत तथा शालिमार पेण्ट्सको ३२ प्रतिशत लगानी रहेको छ । नेपालको वीरगञ्जबाट उत्पादन हुने नेरोल्याक पेण्ट्समा शुरुआती लगानी रू. २८ करोड रहेको कान्साई पेण्ट्स नेपाल प्रालिका निर्देशक अशोक वैद्यले बताए । नेपाली बजारमा करीब एक दशक अगाडिदेखि भित्रिएको नेरोल्याक पेण्ट्स नेपाली वातावरणसुहाउँदो भएको उनको भनाइ छ । उनी भन्छन्, ‘यो पेण्ट्स लगाएको छोटो समयमै सुक्ने भएकाले बढी चिसो मौसम भएको नेपालमा बढी उपयोगी हुन्छ ।’ नेरोल्याक पेण्ट्स लगाउँदा यसबाट गन्ध आउँदैन तथा यो चाँडै सुक्छ । सोहीकारण विशेषगरी सेवाप्रदायक संस्थाहरू होटल, कलेज, हस्पिटललगायत स्थलमा नेरोल्याकको प्रयोग राम्रो हुन्छ । कम्पनीले इनामेल, डिष्टेम्पर, इमल्सन तथा सिमेण्ट पेण्ट्स उत्पादन गरिरहेको छ । अहिले कम्पनीको मासिक ६० किलोलिटर इनामेल तथा १ सय ६० टन डिष्टेम्पर उत्पादन क्षमता छ ।

त्यस्तै इमल्सन १ सय ८० किलोलिटर प्रतिमहीना तथा सिमेण्ट पेण्ट्स ६० टन प्रतिमहीना उत्पादन क्षमता रहेको वैद्यले जानकारी दिए । कम्पनीले आफ्नो उत्पादन शुरू गरेपछि अटोमोटिभ पेण्ट्सबाहेक अन्य पेण्ट्समा नेपाल आत्मनिर्भर हुने उनको दाबी छ । कम्पनीले चाँडै नै आफ्नो उत्पादन सीमाक्षेत्रको भारतीय बजार तथा भुटानमा समेत निर्यात गर्ने लक्ष्य राखेको छ । पेण्ट्स उत्पादनका लागि आवश्यक प्याकेजिङका सामग्री, क्याल्साइडलगायत केही कच्चापदार्थ स्वदेशबाट नै लिने गरेको छ । त्यस्तै १ सयभन्दा बढी आवश्यक कच्चापदार्थ भने भारत तथा अन्य तेस्रो मुलुकबाट आयात गर्ने गर्छ । अहिले नेपाली बजारको तेस्रो स्थानमा रहेको नेरोल्याक पेण्ट्स आउँदो ३ वर्षभित्र दोस्रो स्थानमा पुर्‍याउने कम्पनीको लक्ष्य छ । त्यसपछि चाँडै नै नेरोल्याक पेण्ट्स नेपाली पेण्ट्सको बजारको पहिलो स्थानमा पुग्ने उनी बताउँछन् ।

कान्साई नेरोल्याक पेण्ट्स लिमिटेड
भारतीय पेण्ट्सको बजारमा ठूलो बजारहिस्सा ओगटेको कान्साई नेरोल्याक पेण्ट्स लिमिटेड विश्वप्रसिद्ध जापानी पेण्ट कान्साई ब्राण्डको भारतीय उत्पादन हो । भारतीय पेण्ट्स कम्पनी गुडलास नेरोल्याक पेण्ट्स लिमिटेड र कान्साई कम्पनीबीचको सहकार्यमा यसको नाम कान्साई नेरोल्याक पेण्ट्स लिमिटेड राखिएको हो । सन् १९२० मा गहगन पेण्ट्स र वर्निस कम्पनी लिमिटेडका रूपमा स्थापना भएको ३७ वर्षपछि सन् १९५७ मा गुडलास नेरोल्याक पेण्ट्स कम्पनी लिमिटेडको स्थापना भएको थियो । सन् १९७३ मा टाटा फोब्र्स ग्रूपअन्तर्गत सञ्चालनमा आएको यो कम्पनीको मुख्य शेयर लगानीकर्ता विदेशी नागरिक फोब्र्स गोकाक थिए । कम्पनीले आफ्नो प्राविधिक क्षमता विस्तार गर्न सन् १९९९ मा जापानको कान्साई पेण्ट कम्पनी लिमिटेड र निहोन टोकुसु टोर्यो कम्पनी लिमिटेडसँग सम्झौता गरेको थियो । सन् २००६ मा कान्साई कम्पनीसँगको सहकार्य र संयुक्त लगानीमा यस कम्पनीको रिब्राण्डिङ गरिएको थियो । त्यसपछि यसको नाम कान्साई नेरोल्याक पेण्ट्स लिमिटेड राखियो ।

आफ्ना ग्राहकलाई नै आफ्नो मुख्य सम्पत्ति मान्दै आएको यस कम्पनीले यही मान्यतालाई नै कम्पनीको निरन्तरको विकासको आधारका रूपमा लिने गरेको छ । यसैको परिणाम पनि होला, कम्पनीले पेण्ट्सको क्षेत्रमा प्रदान गरिने विभिन्न अवार्डबाट सम्मानित हुने अवसर पाएको छ । कम्पनीले हाल डेकोरेटिभ र इण्डष्ट्रियल गरी दुई किसिमका पेण्ट्सको बराबर उत्पादन गर्दै आएको छ । डेकोरेटिभअन्तर्गत विभिन्न मूल्यसूचीमा आन्तरिक र बाह्य दुवै किसिमको सजावटका लागि आवश्यक पेण्ट्स उत्पादन हुँदै आएको छ । त्यस्तै कम्पनीले इण्डष्ट्रियलअन्तर्गत प्राइमर, टपकोट्स, क्लियर कोट्स, थिनर्स र फिलर्सको उत्पादन गर्दै आएको छ । कान्साई कम्पनीको अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरिएकाले यो ब्राण्डका पेण्ट्स विश्वबजारको मापदण्डअनुरूपका छन् । कम्पनीको हाल भारतभर १५ हजार डिलर्स तथा ९ ओटा सेल्स डिभिजन छन् । त्यस्तै कम्पनीको भारतभर पाँचओटा म्यानुफ्याक्चरिङ युनिट छन् ।

कान्साई पेण्ट कम्पनी लिमिटेड
सन् १९१८ मे १७ मा स्थापना भएको कान्साई पेण्ट कम्पनी लिमिटेड विश्वको उत्कृष्ट १० पेण्ट कम्पनीमध्येमा पर्छ । कम्पनीले हाल सबै किसिमका पेण्टको उत्पादन तथा यसको डिजाइन र परीक्षणसमेत गर्छ । पेण्ट्सको कार्यमा प्रयोग हुने विभिन्न सामग्रीको समिश्रण तथा रङको उचित डिजाइनसमेत कम्पनीले गर्दै आएको छ । यसबाहेक कम्पनीले बायोटेक्नोलोजी र इलेक्ट्रोनिक क्षेत्रका विभिन्न सामग्रीको उत्पादन तथा विक्री गर्छ । कुल २५ हजार ६ सय ५८ मिलियन येनबराबरको सम्पत्ति रहेको यस कम्पनीमा हाल करीब ११ हजार मानिसले रोजगारी पाएका छन् । कम्पनीले सन् २०११ मा मात्र कुल १ लाख ४१ हजार १ सय ९३ मिलियन येनको पेण्ट्सको विक्री गरेको थियो । कम्पनीले हाल अमेरिका र यूरोपसहित विश्वभरका विभिन्न २३ देशमा पेण्ट्सको उत्पादन गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।