हेलिकोप्टरबाट दृश्यावलोकनको व्यवस्था

Share News

‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला २०६९’ मा अवलोकनकर्ताले हेलिकोप्टरबाट दृश्यावलोकन गर्न पाउने भएका छन् । महोत्सव मूल आयोजक दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले अन्य महोत्सवभन्दा पृथक् बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

मेला अवधिभर एयर डाइनेष्टीको हेलिकोप्टर दृश्यावलोकन गराउन उपलब्ध रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मधुसूदन वैद्यले बताए । ‘एयर डाइनेष्टीको हेलिकोप्टर जिल्लामा ल्याउन सम्झौता भइसकेको छ,’ उनले भने । १० दिनका लागि रू. २ लाख ५० हजारमा हेलिकोप्टर बूकिङ भएको बुझिएको छ । एकपटकको उडानमा पाँचजनाले अवलोकन गर्न सक्नेछन् ।

आयोजक समितिले महोत्सवमा आएका अवलोकनकर्ताका लागि प्यूठानको स्वर्गद्वारी, दाङ उपत्यका, घोराही सिटी अवलोकनलगायतका विभिन्न चारओटा प्याकेजको व्यवस्था गरेका छन् । त्यसअनुसार घोराहीदेखि प्यूठानको स्वर्गद्वारीसम्मको उडानलाई ३० मिनेटको प्याकेजमा राखिएको छ । घोराही–स्वर्गद्वारी फलाईओभर, दाङ उपत्यका र घोराही सिटी अवलोकटको प्याकेज पनि अवलोकनकर्तालाई उपलब्ध छन् । तीमध्ये घोराही–स्वर्गद्वारी प्योकजको ९ हजार ५ सय रुपैयाँ शुल्क रहेको छ । घोराही–स्वर्गद्वारी फलाईओभर, दाङ उपत्यका, घोराही सिटी अवलोकनका लागि क्रमशः ८ हजार, ७ हजार र ४ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक नारायण भुषालका अनुसार अहिले दङ्गालीहरू हेलिकोप्टर चढ्न उत्सुक देखिएका छन् । ‘अहिलेसम्म विभिन्न चारओटा प्याकेजका लागि करीब १ सयभन्दा बढी टिकेट विक्री भइसकेको छ,’ उनले भने । हेलिकोप्टर चढ्न उत्सुक हुनेमा उमेर ढल्किसकेका र तीर्थयात्रा गर्न चाहने वृद्धवृद्धाहरू रहेको उनले बताए । दाङ–स्वर्गद्वारी ल्याण्डिङ प्याकेजमा पाँचजना मिलाएर आउने अवलोकनकर्तालाई रू. ५ सय छूट दिइनेछ । जिल्लामा हुने अधिकांश महोत्सव सर्कस, मौतका कुवा, बाल उद्यानलगायतका मनोरञ्जनका कार्यक्रममा सीमित हुँदै आएका छन् । तर, अहिलेको महोत्सव पृथक् हुने आयोजक समितिका संयोजक वैद्यको दाबी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।