पर्यटकीय गन्तव्य बन्दै दाङ

Share News

माघ २८ गतेदेखि दाङको घोराहीमा ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला–२०६९’ शुरू हुँदैछ । ‘दाङ महोत्सव–२०६९ को अभियान, बहुउद्देश्यीय सभागृह निर्माण’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवले दाङको समग्र आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । दाङमा आधुनिक र सुविधासम्पन्न सभागृह निर्माणका लागि महोत्सवबाट सङ्कलित रकम लगानी गरिने जिल्ला उद्योग वाणिज्य सङ्घ अध्यक्ष मधुसूदन वैद्यले बताए । यसबाहेक महोत्सवबाट सङ्कलित रकमको केही अंश यस क्षेत्रका उद्योगी–व्यवसायीको व्यावसायिक सुरक्षा कोष स्थापनामा खर्च गरिने उनले बताए । ‘दाङसहित राप्तीका पाँचओटै जिल्लामा उत्पादित वस्तु प्रदर्शनी तथा विक्री–वितरणका लागि कोसेली घरसमेत शुरुआत गरिनेछ,’ वैद्यले भने, ‘वातावरण संरक्षण कोष स्थापनाको योजना पनि बनाएका छौं ’।

महोत्सवले दाङ तथा त्यसआसपासका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउने स्थानीय व्यवसायी बताउँछन् । दक्षिण एशियाकै सबैभन्दा ठूलो मानिएको दाङ उपत्यका संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महोत्सव सहयोगी हुने आयोजकको विश्वास छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा कृषि र पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने अध्यक्ष वैद्यको भनाइ छ ।

जिल्लामा उत्पादित वस्तु राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउन महोत्सवले सहयोग पुग्ने उनले बताए । ‘दाङलाई आगामी दिनमा औद्योगिक गन्तव्य स्थल बनाउन लगानीमैत्री वातावरण निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराइनेछ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् राप्ती अञ्चल प्रतिनिधि धु्रवराज श्रेष्ठ ‘भारी’ले भने । महोत्सवले व्यावसायिक चेतना वृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उपभोगमा सहजता ल्याउन ग्राहक तथा उत्पादनकर्ताबीच प्रत्यक्ष भेट गराउने उनले बताए । महोत्सवमार्फत राप्ती क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु तथा जडीबुटीबारे उपभोक्तालाई जानकारी गराई यसको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्य छ । महोत्सव ५ लाखभन्दा बढी दर्शकले अवालोकन गर्ने अपेक्षा गरिएको छ ।

किन जाने दाङ ?
दाङ मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको सम्भाव्य क्षेत्र हो । यस जिल्लामा थुप्रै ऐतिहासिक मठमन्दिर, गुफा र तालहरू छन् । जिल्लामा प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिएका क्षेत्रहरू पनि थुपै्र छन् । यस क्षेत्रमा श्री सिद्धरत्ननाथ गोरक्ष मन्दिर चौघेरा, वराह क्षेत्र मन्दिर, बाह्रकुने दह, अम्बिकेश्वरी मन्दिर, पाण्डवेश्वर मन्दिर, लरैना ताल, जखेरा ताल, रिहार कुण्ड, त्रिसिद्धीश्वरी मन्दिर, प्राकृतिक झरना, चमेरे गुफालगायत स्थानीयस्तरका थुप्रै रमणीय स्थल रहेका छन् । प्यूठानको प्रसिद्ध स्वर्गद्वारी मन्दिर पुग्न दाङकै बाटो भएर जानुपर्छ । ‘वर्षेनि लाखौं भारतीय पर्यटक दाङ हुँदै स्वर्गद्वारी जान्छन्,’ दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष ओवीन्द्रबहादुर महराले भने, ‘यसले जिल्लामा होटल व्यवसायको राम्रो सम्भावना देखाएको छ ।’ तर, उचित व्यवस्थापन हुन नसक्दा पर्यटक दाङमा नबसेर सीधै स्वर्गद्वारी जाने गरेको उनले बताए । दाङमा सुविधायुक्त होटल तथा यातायात व्यवस्था हुन सके चाँडै नै पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय व्यवसायीको भनाइ छ । दाङमा दर्शनीय दर्जनौं प्राकृतिक तथा धार्मिक स्थल छन् ।

महोत्सवका आकर्षणहरू

  • दाङको आर्थिक विकासका आधार विषयक गोष्ठी ।
  • योग शिविर तथा धार्मिक प्रवचन ।
  • राष्ट्रिय तथा स्थानीय कलाकारको संलग्नतामा मध्यपश्चिमस्तरीय लोकदोहोरी गीत प्रतियोगिता एवम् लोक सांस्कृतिक प्रस्तुति ।
  • विविध साहित्यिक प्रतियोगिता ।
  • विद्यालयस्तरीय नृत्य प्रतियोगिता ।
  • विश्वकै सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगी र नेपालकी सबैभन्दा होची महिला ईश्वरीमाया छिनालसँग प्रत्यक्ष भेट कार्यक्रम ।
  • स्थानीय उत्पादनको विशेष प्रदर्शनी तथा विक्री ।
  • हेलिकोप्टरद्वारा दाङको पर्यटकीय क्षेत्र अवलोकन तथा स्वर्गद्वारी मन्दिर दर्शन व्यवस्था ।
  • स्थानीय थारू, मगर, नेवार जातिको फूड फेष्टिभल एवम् अन्य जातिका पहिचान झल्कने नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन ।


महोत्सवमा प्रदर्शन हुने वस्तु, सेवा तथा सुविधा

  • कोसेली घरबाट स्थानीय पहिचान झल्कने वस्तु विक्री ।
  • स्थानीय घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीय कलाकारबाट बनाइएका काठ, बाँस एवम् माटोजन्य वस्तु प्रदर्शनी एवम् विक्री ।
  • सूचना प्रविधि तथा अटो मोबाइल्स प्रदर्शनी एवम् विक्री ।
  • कृषिजन्य उत्पादन प्रदर्शनी (विशेषगरी बेसार, मह, तोरी तेल, मसुरो दाल, अदुवा, कोदो, फापर, डोका, नाम्ला आदि) तथा जडीबुटी प्रदर्शनी एवम् विक्री ।)
  • उद्यमी बन्न चाहनेलाई स्टार्ट अप एजेन्सीद्वारा व्यावसायिक परामर्श ।
  • दैनिक उपभोग्य सामग्री तथा ताजा तरकारी मह, च्याउ एवम् फलफूल प्रदर्शनी एवम् विक्री ।
  • सुरक्षाको उचित व्यवस्था, सशुल्क पार्किङ, विद्युत्, पिउने पानी, टेलिफोन एवम् शौचालय सुविधा ।
  • स्थानीय पर्यटकीय स्थल विशेष छूटमा अवलोकन, भ्रमण सेवा ।
  • बैङ्किङ तथा वित्तीय सेवा ।
  • पर्यटक सूचना केन्द्र ।
  • एम्बुलेन्स, दमकल सेवा एवम् प्राथमिक उपचार व्यवस्था ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।