पछिल्लो समयमा प्रोजेक्टर प्रयोगले व्यापकता पाइरहेको छ । नेपालमा खासगरी विद्यालय, कलेज, कर्पोरेट हाउस, बैङ्क, सरकारी निकाय र दातृसंस्थाहरूमा यसको प्रयोग बढेको व्यवसायी बताउँछन् । अहिले शहर–बजारमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रोजेक्टरको प्रयोग बढ्दै गएको वल्र्ड डिष्ट्रिब्युशन नेपालका विक्री तथा बजार प्रबन्धक विदुर थापा बताउँछन् । निजी तथा सरकारी कार्यालयमा यसको माग बढिरहेको छ । वल्र्ड डिष्ट्रिब्युशन नेपालले डेल ब्राण्डका प्रोजेक्टरहरू विगत ४ वर्षदेखि विक्री गर्दै आइरहेको छ । गैरसरकारी संस्था, विद्यालय, कलेज र ठूला व्यावसायिक कम्पनीमा प्रोजेक्टरको माग बढिरहेको स्काई नेपाल प्रालिका प्रबन्ध निर्देशक अर्निराज मानन्धर बताउँछन् । अप्टोमा ब्राण्डका प्रोजेक्टर विक्री गरिरहेको कम्पनीले महीनामा करीब १० ओटा प्रोजेक्टर विक्री गरिरहेको उनले बताए । अहिले प्रोजेक्टरे विक्री वार्षिक करीब १५ प्रतिशत बढिरहेको थापाको भनाइ छ । विशेषगरी प्रोजेक्टरको प्रयोग पढाउन तथा तालीम दिनका लागि भइरहेको पाइएको छ । प्रोजेक्टरका माध्यमबाट सजिलैसँग एकैपटक धेरैलाई सिकाउन तथा देखाउन सकिने भएकाले यसको लोकप्रियता बढेको व्यवसायीको भनाइ छ । एकैपटक ठूलो समूहलाई दृश्य देखाउन प्रोजेक्टर सजिलो माध्यम बनेको छ । बजारको माग बढेसँगै बजारमा कम मूल्यदेखि धेरै महँगो मूल्यका प्रोजेक्टरहरू भित्रिन थालेका छन् । साना कम्पनी, कलेज, विद्यालयलगायत स्थानहरूमा सस्ता प्रोजेक्टरको माग बढी हुने गर्छ । त्यस्तै बढी मूल्यका प्रोजेक्टरहरूको माग स्टेडियम, सिनेमा हल, ठूला सभाहलहरूका लागि हुने गरेको मानन्धर बताउँछन् ।
समस्या
नेपालमा बढ्दै गएको लोडशेडिङ प्रोजेक्टरको प्रयोगमा प्रमुख समस्या बनेको छ । लोडशेडिङका कारण यसको विक्री जति बढ्नुपर्ने हो, त्यति बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । यसको प्रयोगबाट हुने फाइदा तथा सजिलोका बारेमा गाउँगाउँसम्म प्रचारप्रसारको आवश्यकता देखिएको छ । जानकारीको अभाव गाउँघरसम्म यसको प्रयोगले व्यापकता पाउन सकेको छैन । प्रोजक्टरको मूल्य घट्दै गइरहेको छ । धेरै उपभोक्तालाई यसको मूल्यमा आएको कमीका बारेमा जानकारी दिन नसक्नु अर्को कमजोर पक्ष रहेको जेनेरशन नेक्ष्टकी मार्केटिङ म्यानेजर निकिता भीमसरिया बताउँछिन् । ल्यापटपको जस्तै यसको प्रचारप्रसार गर्न सके आगामी वर्षहरूमा यसको विक्री अझ बढ्ने उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।