आयातित जुत्तालाई निरुत्साहित गर्नु मेलाको उद्देश्य हो

Share News

रामहरी तोलाङ
अध्यक्ष, नेपालछाला जुत्ता उत्पादक सङ्घ


नेपालबाट दिनहुँ हजारौं युवा कामको खोजीमा विदेश गइरहेका छन् । तर, स्वदेशमै महीनाको करीब रू. २० हजार सजिलै कमाउन सकिने छालाजुत्ता पेशा नेपाली युवाले नरुचाएको पाइएको छ । त्यस्तै, सञ्चालनका रहेका छालाजुत्ता उद्योगमा पनि दक्ष जनशक्ति अभाव, लोडशेडिङ, सहकारी चर्को ब्याजदर, कर्जाका लागि चाहिने धितो तथा पूँजी अभावलगायत समस्या विद्यमान छन् । जसका कारण परम्परागत रूपमा सञ्चालन हुँदै आएका साना उद्योग धराशयी बन्दै गएका छन् । दश जनशक्ति उत्पादनका लागि हाम्रो सङ्घ कुनै पनि प्रकारका तालीम दिन तयार छ । तर, सरकारले त्यसका लागि आर्थिक सहयोग गर्नुपर्छ । त्यस्तै, आवश्यक कच्चापदार्थ आयात गर्दासमेत उद्योगहरूले समस्या भोगिरहेका छन् । कच्चापदार्थमा भन्सार सहुलियत नहुँदा स्वदेशी उद्योगले आयातित जुत्तासँग प्रतिस्पर्धा गर्न कठिन बन्दै गएको छ । कच्चापदार्थको भन्सारदर महँगो हुँदा हाम्रो उत्पादनको मूल्य बढ्न गएको हो । भन्सार छली गरी आएका जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाका कारण प्रतिस्पर्धा गर्न कठिन बन्दै गएको छ । यसपटकको मेलामा विशुद्ध छालाजन्य जुत्ता–चप्पल मात्र रहनेछन् । नेपालमा पनि राम्रा जुत्ता–चप्पल उत्पादन हुन्छन् भन्ने प्रमाणित गर्नु मेलाको मुख्य उद्देश्य हो । त्यस्तै, विदेशबाट गरिने छालाजुत्ता आयात निरुत्साहित गर्नु मेलाको अर्को उद्देश्य हो ।

हामी दक्ष जनशक्ति निर्माण तथा स्वदेशी उत्पादन वृद्धि गरी देशलाई जुत्ता–चप्पलमा आत्मनिर्भर बनाउन चाहन्छौं । तर, भन्सारमा तिर्नुपर्ने करको दायराले हामीलाई समस्या परेको छ । एक जोर जुत्ता आयात गर्दा रू. १ सयदेखि १ सय ५० सम्म भन्सार तिर्नुपर्छ । तर, कच्चापदार्थका रूपमा भित्रने एक जोर सोलको भने रू. ४० देखि ४५ सम्म भन्सार तिर्नुपर्छ । एक जोर जुत्ता तयार गर्न कम्तीमा ३२ थरी कच्चापदार्थ चाहिन्छ । व्यवसायीले ३२ थरी कच्चापदार्थमा सोही अनुपातमा भन्सार तिर्नुपर्दा उत्पादन लागत बढेको छ । सरकारले भन्सारदरमा परिवर्तन गरिदिओस् भन्ने हाम्रो अनुरोध हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।