मुलुकमै उत्पादित छालाजन्य सामग्रीमा नेपाली उपभोक्ताको आकर्षण निकै बढेको छ । ‘दोस्रो छालाजुत्ता तथा वस्तु प्रदर्शनी २०६९’ को दोस्रो दिन शनिवारसम्म १५ हजारभन्दा बढीले अवलोकन गर्नु र रू. २० लाखको व्यवसाय हुनु यसैको एउटा उदाहरण हो । २६ माघदेखि राष्ट्रिय सभागृहमा भइरहेको मेलामा उपभोक्ताको भीड थामिनसक्नु छ । प्रदर्शनी फागुन ५ गतेसम्म सञ्चालन हुने आयोजक नेपाल छालाजुत्ता उत्पादक सङ्घले बताएको छ । गुणस्तरीय छालाबाट बनेका आकर्षक सामग्री विशेष छूटका साथ पाउने भएकाले मेलामा उपभोक्ता आकर्षित भएका नेपाल छालाजुत्ता उत्पादक सङ्घका अध्यक्ष रामहरि तोलाङ बताउँछन् । मेलामा उपलब्ध सबैजसो सामग्रीमा न्यूनतम ६ महीनाको वारेण्टी सुविधा प्रदान गरिएको छ ।
७५ ओटा स्टल रहेको मेलामा ७४ स्टलमा छालाका जुत्तामात्रै उपलब्ध छन् । ‘लेदर डिजाएर प्रालि’को स्टलमा मात्र छालाका पर्स, बेल्ट, ज्याकेट, किरिङलगायत सामग्री छन् । नेपालमा ज्याकेट, ब्यागजस्ता सामग्री उत्पादन गर्ने उद्योग थोरै भएकाले पनि मेलाका यस्ता उत्पादनको उपस्थिति न्यून रहेको अध्यक्ष तोलाङको भनाइ छ । नेपालमा उत्पादित छालाजन्य सामग्रीको माग विदेशमा समेत छ । तर, नेपालका उत्पादकले मुलुकभित्रकै माग पूर्ति गर्न नसकेको अवस्थामा तत्काल निर्यातको सम्भावना भने नभएको अध्यक्ष तोलाङको भनाइ छ । नेपाली उत्पादन आकर्षक बन्दै गएकाले पनि ती सामानको माग बढेको डिजाएर प्रालिकी निर्देशक मन्दिरा डङ्गोलले बताइन् ।
नेपालमा वार्षिक ६५ देखि ७० लाख जोर जुत्ता खपत हुने गरेको छ । त्यसमध्ये करीब ४० प्रतिशत बजार स्वदेशी छालाजुत्ताले ओगटेको अध्यक्ष तोलाङको अनुमान छ । पछिल्ला वर्षहरूमा नेपालमा वार्षिक १० देखि १५ प्रतिशतका दरले जुत्ता बजार वृद्धि हुँदै गएको व्यवसायी बताउँछन् । शहरी क्षेत्रमा मात्र एक परिवारले वार्षिक करीब ७ हजार रुपैयाँसम्मको जुत्ता खरीद गर्ने गरेको तथ्याङ्क छ ।
व्यावसायिक हिसाबले हेर्ने भने पनि नेपालमा वार्षिक करीब १५ अर्ब रुपैयाँको जुत्ता खपत हुने गरेको छ, जसमध्ये करीब ४ अर्ब रुपैयाँबराबरको स्वदेशी छालाजुत्ता खपत हुने गरेको उद्यमीको अनुमान छ । तथापि, राज्यले छालाजन्य उद्योगलाई सहयोग नगरेको उद्योगीहरूको गुनासो छ । ‘हामीले पनि राज्यलाई सक्नेजति राजस्व तिरिरहेका छौं,’ अध्यक्ष तोलाङ भन्छन्, ‘तर, हाम्रो समस्याबारे सरकारले चासो दिएको छैन ।’ नेपाललाई छालाजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सङ्घले प्रयास गरिरहेको छ । उनी भन्छन्, ‘सरकारले हाम्रो प्रयासमा साथ देओस् भन्ने हाम्रो अनुरोध हो ।’
दक्ष जनशक्ति अभाव
हुन त छाला उद्योगहरूले चर्को लोडशेडिङ, लगानीमा बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर, कच्चापदार्थ आयात गर्नुपर्ने बाध्यता, असमान भन्सारदरलगायत समस्या सामना गरिरहेका छन् । तर, सबैभन्दा प्रमुख समस्या यस उद्योगमा दक्ष कामदार अभाव हुनु हो । अहिले पनि छालाजुत्ता उद्योगलाई सयौं सङ्ख्यामा कालीगढ अभाव छ । सङ्घका महासचिव राजेश कोइराला भन्छन्, ‘दक्ष कालीगढ अभावमा सङ्घका सदस्य रहेका ३२ ओटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।’
नेपालमा छालाजुत्ता बनाउने एउटा दक्ष जनशक्ति तयार गर्न न्यूनतम १ लाख रुपैयाँ लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । तर, यसरी तयार भएको जनशक्ति विदेशिने समस्या अति नै धेरै रहेको उद्योगीको भनाइ छ । दक्ष जनशक्ति उत्पादनका लागि तालीमकेन्द्र सञ्चालन गर्न विभिन्न प्रयास भए पनि सरकारले चासो नदेखाएको उद्योगीको गुनासो छ । उद्योगीले आफ्नै पहलमा तालीम उपलब्ध गराई दक्ष जनशक्ति तयार गर्ने काम गरिरहेका छन् । तर, यस्तो तालीम पाउनेको सङ्ख्या बजारको मागभन्दा निकै कम छ ।
नेपाली छालाजुत्ता उद्योग
यसकारण मागअनुसार कामदार पूर्ति हुन नसकेको उद्योगीको तर्क छ । त्यसो त, नेपालमा छालाजन्य कामलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति छ । त्यस कारण पनि यस पेशामा कालीगढ अभाव देखिएको उद्योगीहरूको बुझाइ छ । ‘साना तथा निमुखाले मात्र जुत्ताचप्पलको काम गर्ने हो भन्ने मानसिकता छ,’ उपाध्यक्ष तथा मेला संयोजक जिवन नेपाली भन्छन्, ‘त्यसैले पनि दक्ष जनशक्ति अभाव भएको हो ।’
अस्वस्थ प्रतिश्पर्धा
नेपालमा एक जोर छालाजुत्ता तयार गर्न कम्तीमा ३२ प्रकारका कच्चापदार्थ प्रयोग गर्नुपर्ने उद्यमीहरू बताउँछन्, जसमध्ये ठूलो परिमाण नेपालबाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । तर, सरकारको असमान भन्सारदरका कारण उत्पादन लागत बढ्न गएको उद्योगीको भनाइ छ । ‘एक जोर सोल आयात गर्दा रू. ४० देखि ४५ सम्म भन्सार तिर्नुपर्छ,’ अध्यक्ष तोलाङ भन्छन्, ‘जबकि एक जोर तयारी जुत्ता आयात गर्दा रू. १ सयदेखि १ सय ५० सम्म मात्र भन्सार तिरे पुग्छ ।’ यस्तो अवस्थामा विदेशी जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको उनी बताउँछन् ।
यता, तस्करी तथा भन्सार छली गरी नेपालमा जुत्ता–चप्पल भित्रने गरेको उद्योगीहरू बताउँछन् । अवैधानिक रूपले भित्रिएका सस्ता जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाका कारण पनि स्वदेशी उत्पादनको बजार साँघुरिएको उनीहरूको भनाइ छ । अर्कातर्फ, विदेशी चुत्ता–चप्पलमा स्वदेशी कम्पनीको लोगो टाँसेर विक्री–वितरण पनि बढिरहेको उद्योगीको आरोप छ । फलतः स्वदेशी उत्पादनको साखमा समेत प्रश्न चि≈न लाग्ने गरेको उद्योगीहरू बताउँछन् । सरकारले अवैधानिक तरीकाबाट भित्रने जुत्ता–चप्पल मात्र नियन्त्रण गर्न सके स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना हुने उद्योगीहरू बताउँछन् । ‘स्वदेशी छालाजुत्ताको बजार हिस्सा विस्तार गर्न पनिे अवैध जुत्ता–चप्पल आयात रोक्नुपर्छ’ सङ्घका कोषाध्यक्ष लक्ष्मण मङ्ग्रातीको तर्क छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।