‘भ्यालेण्टाइन्स डे’ अर्थात् प्रणय दिवस नजिकिँदै गर्दा ‘गिफ्ट’ किन्ने युवायुवतीको सङ्ख्या बढ्दै गएको छ । बदलिँदो समयसँगै अब प्रणय दिवसमा उपहार आदानप्रदान गर्ने प्रचलन केही फराकिलो हुँदै गएको छ । अहिले युवायुवतीले विभिन्न मोबाइल, घडी, क्यामेरालगायत साम्रगी प्रणय दिवसको दिन आफ्ना प्रेमीप्रेमिकालाई उपहारका रूपमा साटासाट गर्ने प्रचलन बढेको हो । यस्ता गतिविधिले आर्थिक क्षेत्रमा पनि सहयोग पुर्याउने सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
प्रणय दिवसको आगमनसँगै खासगरी फूल तथा कार्डको व्यापार अन्य समयको तुलनामा बढी हुने गर्छ । फूलसँगै अहिले प्रेमीप्रेमिकाको नजर सुविधायुक्त मोबाइल, घडी तथा क्यामेरातर्फ पर्दै गएको कतिपय व्यवसायीको भनाइ छ । भ्यालेण्टाइन्स डे नजिकिँदै गर्दा यस्ता सामग्रीको विक्रीमा ५० प्रतिशतसम्म वृद्धि हुने गरेको उनीहरूको भनाइ छ । प्रणय दिवसको चहलपहलसँगै क्यामेराको व्यापारमा पनि वृद्धि आएको छ । तर, कतिपय प्रेमीप्रेमिकाले मनोरञ्जन र खानपानको उत्सवका रूपमा पनि प्रणय दिवसलाई लिने गरेको पाइन्छ ।
अहिले काठमाडौंको न्यूरोडका मोबाइल तथा क्यामेरा पसलमा प्रणय दिसवका लागि उपहार किन्ने युवायुवतीको निकै लामो लाइन लाग्ने गरेको छ । न्यूरोडस्थित ताम्राकार हाउसमा आफ्नी प्रेमिकालाई उपहार दिन मोबाइल पसलमा भेटिएका सरस पौडेल भन्छन्, ‘पछिल्लो समय विभिन्न ठाउँको भ्रमण गरेर मात्र नभई क्यामेरा, घडी तथा मोबाइल उपहार दिएर पनि प्रणय दिवस मनाइन गरेको छ ।’ अहिले क्यामेरा र मोबाइलभन्दा पनि धेरैजसो युवायुवतीले घडीलाई प्रणय दिवसका दिन उपहारका रूपमा दिने गरेको व्यवसायीहरूले बताएका छन् । त्यस्तै, लोकन्थली निवासी यमुना अधिकारीले प्रणय दिवसको दिन आफ्नो प्रेमीलाई क्यामेरा उपहार दिने योजना बनाएकी छिन् । न्यूरोडस्थित एक क्यामेरा पसलमा भेटिएकी उनले सोही प्रयोजनका लागि सोनी ब्राण्डको क्यामेरा उपहार दिने बताइन् ।
रोमनबाट शुरू भएको ‘भ्यालेण्टाइन्स डे’लाई मनाउने प्रचलन अहिले नेपालमा पनि उत्तिकै महत्वका साथ हेरिन थालिएको छ । यो दिवस अव्यक्त प्रेम व्यक्त गर्ने र व्यक्त पे्रमलाई नयाँ रूप दिने माध्यम भएको छ । पछिल्लो समय नेपाली समाजमा किशोरकिशोरीबाट फैलिँदै गएको ‘भ्यालेण्टाइन्स डे’ मनाउन उमेरको हदबन्दी हुन छाडेको छ । अहिले कतिपय पार्क, रेष्टुराँ वा कुनै एकान्तस्थलमा पाका उमेरका मानिससमेत प्रणय दिवसमा रमाउने गरेका छन् । त्यसैले पनि अहिले शहर प्रेममय बन्दै छ । धेरैलाई फुर्सद छैन । प्रणय दिवस कतिपयका लागि प्रेम अभिव्यक्त गर्ने उपयुक्त समय भएको छ भने कसैका लागि अझ मलजल गर्ने माध्यम बनेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।