साउदी अरेबिया : फिफा विश्व वरीयतामा ६७औं स्थानमा रहेको साउदी अरेबिया सन् १९९४ बाट विश्वकपमा प्रवेश गरेको हो । उक्त प्रतियोगितामा मोरक्को र बेल्जियमलाई हराएर प्रि–क्वार्टरफाइनलसम्म पुगेको साउदी अरेबियाले त्यसयता विश्वकपका कुनै पनि खेल जित्न सकेको छैन । यसर्थ साउदी अरेबिया तुलनात्मक रूपमा कमजोर समूह हो । साउदी अरेबियाले हालसम्म विश्वकपमा खेलेका १३ खेलमध्ये दुईओटामा जित, नौओटामा हार र दुई बराबरी खेलेको छ । इजिप्ट : फिफा वरीयतामा ४५औं स्थानमा रहेको इजिप्टका लागि विश्वकपमा यो तेस्रो सहभागिता हो । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टले एकैपटक सन् १९९० मा दोस्रो सहभागिता देखायो । अफ्रिकन फूटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि विश्वकपमा भने इजिप्टको प्रदर्शन बिर्सनलायक छ । तर, यसपटक स्टार खेलाडी मोहम्मद सलाहका कारण इजिप्टले नयाँ इतिहास रच्ने आशा गरिएको छ । हालसम्म विश्वकपमा खेलेका चार खेलमा इजिप्टले दुई बराबरी र दुईमा हार बेहोरेको छ ।
उरुग्वे : इतिहासलाई फर्केर हेर्दा समग्रमा उरुग्वेले विश्वकपमा हासिल गरेको उपलब्धि अन्य समूहको तुलनामा ठूलो छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिलपछिको बलियो टोली उरुग्वे देखिएको थियो । सन् १९३० मा विश्वकप फूटबलको पहिलो प्रतियोगिता आयोजना गरी पहिलो उपाधि हात पारेको उरुग्वेले दोस्रो उपाधि सन् १९५० मा हात पार्यो । त्यसयता तीनपटक सेमिफाइनलसम्म पुगेको उरुग्वेले थप महŒवपूर्ण उपलब्धि हासिल गर्न सकेको छैन । सन् २०१४ मा १२औं स्थानमा रहेको उरुग्वे यस वर्ष अनुभवी खेलाडीका साथ समूह चरणका लागि बलियो स्थितिमा देखिन्छ । उरुग्वेले हालसम्म विश्वकपमा खेलेका ५१ खेलमध्ये २० मा जित, १९ मा हार र १२ ओटामा बराबरीको नतिजा निकालेको छ ।
यो विश्लेषणबाट उरुग्वे र इजिप्टको प्री–क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो देखिन्छ । फूटबल सम्भावनाको मात्रै खेल होइन । त्यसैले खेल मैदानमा जे हुन्छ, त्यो सम्भावनाविपरीत पनि भइदिन सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।