पूँजीबजारमा महिला लगानीकर्ता

Share News
काठमाडौं । पछिल्लो समय शेयरबजारमा महिलाको आकर्षण बढ्दै गएको पाइएको छ । हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयसम्म महिलाको सहभागिता बढ्दो छ । केही वर्ष अघिसम्म महिलाहरू प्राथमिक बजारमा मात्र आकर्षित हुने गरेकोमा हाल दोस्रोे बजारमा पनि उनीहरूको उत्साहजनक उपस्थित देखिन थालेको छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारमा रहेका महिलाले उनीहरूको कमाइ (विप्रेषण) शेयरमा लगानी गरिरहेको पूँजीबजारबारे प्रशिक्षण दिँदै आएका सन्तोषराज बजगाईंले बताए । पढेलेखेका र जागीरे महिला मात्र नभएर गृहिणीहरू समेत दोस्रो बजारमा आउन थालेको उनको भनाइ छ । यस्तै, आफ्नो कारोबारको २० देखि २५ प्रतिशत महिला हुने गरेको ब्रोकर कम्पनीहरू बताउँछन् । श्वेता सेक्युरिटिजकी अध्यक्ष सुचिता खनाल घरजग्गामा खरीदमा जस्तै धितोपत्र कारोबारमा पनि महिलालाई छूटको व्यवस्था भइदिए यसमा उनीहरूको सहभागिता अझै बढ्ने विश्वास गर्छिन् । पूँजीबजारमा महिलाले आफ्नो लगानी कसरी सुरक्षित गर्छन् त ? केही महिलाको अनुभव : बबी शेरचन बबी शेरचन २०६५ सालदेखि पूँजीबजारमा संलग्न छिन् । २५ हजार लगानी गरी शेयरबजार प्रवेश गरेकी शेरचनले अहिले आफ्नो पूँजी २ करोड पुगेको बताइन् । शेयर बजारमा बुझेर मात्र लगानी गर्न उनले महिलालाई सुझाइन् । आफूसँग भएको पूँजीमध्ये शेयर बजारमा सबै लगानी गर्न नहुने उनको अनुभव छ । उनका अनुसार केही रकम आफैसँग राख्नुपर्छ । बजार अवस्था राम्ररी नबुझी भएको पूरै पूँजी शेयरमा लगानी गर्नेहरू अहिले पछुताएको उनको भनाइ छ । उनले शेयर बजारबाट भएको आम्दानीबाट घरखर्च चलाउने गरेकी छिन् । साथै, यही आम्दानीबाट एक महिलालाई आप्mनो सहयोगीका रूपमा राख्न पनि पुगेको उनले सुनाइन् । सन्ध्या रायमाझी विगत ५ वर्षदेखि शेयरबजारमा आबद्ध सन्ध्या रायमाझीले रकम बैङ्कमा राख्नुको सट्टा शेयर बजारमा लगानी गर्ने बताइन् । अहिले गरेको लगानी बुढेसकालको सहारा हुने उनको बुझाइ छ । लगानीमा नयाँपन महसूस ल्याउन उनले छोराछोरीको जन्मदिनमा उनीहरूको नाममा शेयर किन्ने गरेको अनुभव सुनाइन् । फुर्सदको समय घरमै बस्नुभन्दा शेयरबजारबारे बुझ्न गृहिणी महिलालाई उनको अनुरोध छ । फुर्सदको टीभीमा सिरियल हेरेर बिताउनुभन्दा शेयरबजारलाई बुझेर लगानी गर्न सके आर्थिक रूपमा आत्मनिर्भर हुन सकिने उनले बताइन् ।बिन्दु अर्यालअन्तरराष्ट्रिय बजारमा शेयरको माहोल देखेर नेपालको पूँजी बजारमा प्रवेश गरेकी बिन्दु अर्याल अहिले बजारमा आएको लाभकरको अन्योलले असन्तुष्ट छिन् । आफूले लगानी शुरू गर्दाको समय बजार सुधारिएको अवस्थामा रहेकाले केही नाफा कमाए पनि अहिले बजार घटेकाले थोरै घाटामै रहेको उनले बताइन् । अन्तरराष्ट्रिय बजारमा समस्या देखिए तत्कालै सम्बन्धित निकायबाट सुधारात्मक पहल हुने गरेकाले नेपालको जस्तो घाटा त्यहाँका लगानीकर्ताले बेहोर्नुनपरेको उनको बुझाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।