विश्वकप फूटबल समूह ‘बी’

Share News
विश्वकप फूटबल–२०१८ को समूह ‘बी’मा पोर्चुगल, स्पेन, मोरक्को र इरान छन् । यी चार समूहको सङ्क्षिप्त विश्लेषण : पोर्चुगल : फिफा वरीयतामा चौथो स्थानमा रहेको पोर्चुगल यूरोपियन क्षेत्रको छनोट चरणअन्तर्गत समूह ‘बी’को समूह उपविजेता बन्दै विश्वकपका लागि छनोट भएको हो । दुईपटक सेमिफाइनल पुगेको पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले सोही संस्करणमा हासिल गरेको तेस्रो स्थान नै हालसम्मको ठूलो उपलब्धि हो । सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोर्चुगलको प्रदर्शन विश्वकपमा राम्रो देखिएको छैन । तर, २ वर्षअघि उत्कृष्ट प्रदर्शन गर्दै यूरोकपको उपाधि जितेपछि पोर्चुगलका समर्थक यो विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने आशामा छन् । पोर्चुगलले विश्वकपमा खेलेका २६ खेलमध्ये १३ मा जित, ९ मा हार र चार खेल बराबरी खेलेको छ ।

स्पेन : फिफा वरीयतामा १०औं स्थानमा रहेको स्पेनले सन् २०१० को विश्वकप उपाधि उचाल्यो । सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्पेन १४ पटक विश्वकपमा छनोट भएको छ । सन् २००८ र २०१२ को यूरोपियन च्याम्पियन स्पेन स्पेनिश ला लिगाका कारण पनि विश्वभर चर्चित छ । सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेनलाई यस वर्ष दाबेदारका रूपमा हेरिएको छ । कलात्मक खेलका कारण चर्चा कमाएको स्पेनले हालसम्म विश्वकपमा खेलेको ५९ खेलमध्ये २९ मा जित, १८ मा हार र १२ बराबरी खेलेको छ । मोरक्को : फिफा वरीयतामा ४१औं स्थानमा रहेको मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको छ । सन् १९७० मा पहिलोपटक विश्वकप खेलेको मोरक्कोले सन् १९८६ मा ११औं स्थान हासिल गरेको थियो र यो नै मोरक्कोका लागि विश्वकपमा प्राप्त ठूलो उपलब्धि हो । चारपटक विश्वकपमा सहभागी भएको मोरक्कोले विश्वकपमा खास राम्रो प्रदर्शन गर्न सकेको छैन । हालसम्म विश्वकपमा खेलेका १३ खेलमध्ये मोरक्कोले २ मा जित, ७ मा हार र ४ खेल बराबरी खेलेको छ ।

इरान : फिफा वरीयतामा ३७औं स्थानमा रहेको इरानले हालसम्म चारपटक विश्वकप खेलेको छ । सन् १९७८ मा पहिलोपटक विश्वकप खेलेको इरानले चारपटक विश्वकप खेल्दा पहिलो चरण पार गर्न सकेको छैन । रसियामै व्यावसायिक फूटबल खेलिरहेका सरदार अजमुन मुख्य खेलाडी रहेको इरान यसपटक अर्को चरणसम्म पुग्ने लक्ष्यका साथ रसिया जाने प्रशिक्षक कार्लोस क्विरोजको दाबी छ । हालसम्म विश्वकपमा खेलेको १२ खेलमा इरानले १ मा जित, ८ मा हार र ३ बराबरी खेलेको छ । समग्रमा हेर्दा उपाधि दाबेदारको रूपमा हेरिएको स्पेन र पोर्चुगल तुलनात्मक रूपमा बलियो देखिएको छ । २० वर्षपछि विश्वकपमा फर्किएको मोरक्को र इरान पनि समूह चरण पार गरी प्री–क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ तयारीमा छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।