विश्वकप फूटबल–२०१८ को समूह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क छन् ।
यी चार समूहको सङ्क्षिप्त विश्लेषण :
फ्रान्स : फिफा वरीयताको सातौं स्थानमा रहेको फ्रान्सको विश्वकप यात्रा रोचक छ । सन् १९९० र १९९४ को दुई संस्करणमा विश्वकप छनोटबाटै बाहिरिएको फ्रान्स सन् १९९८ मा विश्वविजेता बन्यो । डिफेण्डिङ च्याम्पियनको रूपमा सन् २००२ को विश्वकपमा सहभागी फ्रान्स समूह चरणबाटै बाहिरियो । फेरि सन् २००६ मा उपविजेता बनेको फ्रान्स सन् २०१० मा समूह चरणबाट माथि जान सकेन भने सन् २०१४ मा क्वार्टर फाइनलसम्मको यात्रा तय ग¥यो । यसले फ्रान्सको विश्वकप प्रदर्शनमा विविधता देखिन्छ । विश्वकप छनोटअन्तर्गत युरोपियन क्षेत्रको समूह ‘ए’को विजेता बनेर विश्वकपमा पुगेको फ्रान्स २० वर्षपछि विश्वकप उपाधि हात पार्ने दाउमा छ । सन् १९३० को पहिलो विश्वकपबाटै यात्रा शुरू गरेको फ्रान्सले हालसम्म १४ पटक विश्वकप खेलेको छ । हालसम्म खेलेका ५९ खेलमा फ्रान्सले २८ मा जित, १९ मा हार र १२ बराबरी खेलेको छ ।

अष्ट्रेलिया : फिफा वरीयतामा ३६औं स्थानमा रहेको अष्ट्रेलियाका लागि यो पाँचौं विश्वकप हो । सन् १९७४ बाट आफ्नो विश्वकप यात्रा शुरू गरेको अष्ट्रेलिया सन् २००६ मा अन्तिम १६ सम्म पुगेको छ र यो नै विश्वकपमा उसको ठूलो उपलब्धि हो । अष्ट्रेलिया यसपटक प्लेअफमार्फत विश्वकपमा छनोट भएको हो । सन् २०१५ मा एशियन कपको उपाधि जितेको अस्ट्रेलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यमा छ । विश्वकपमा खेलेका १३ खेलमा अष्ट्रेलियाले २ मा जित, ८ मा हार र ३ बराबरी खेलेको छ ।
पेरु : सन् १९३० बाटै विश्वकप यात्रा शुरू गरेको भए पनि पेरु ३६ वर्षपछि विश्वकपका लागि छनोट भएको छ । पछिल्लो पटक सन् १९८२ मा विश्वकप खेलेको पेरुले दुईपटक क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको छ भने दुईपटक पहिलो चरणबाटै बाहिरिएको छ । फिफा वरीयतामा ११औं स्थानमा रहेको पेरुले यस पटक समूह चरणमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । रसियामै व्यावसायिक फूटबल खेलिरहेका जेफरसन फरफानले छनोट चरणमा देखाएको प्रदर्शनले पेरुको आत्मविश्वास बलियो देखिएको छ । हालसम्म विश्वकपमा खेलेका १५ खेलमा पेरुले ४ मा जित, ८ मा हार र ३ बराबरी खेलेको छ ।

डेनमार्क : फिफा वरीयतामा १२औं स्थानमा रहेको डेनमार्कले सन् १९५८ देखि नै विश्वकप छनोट खेल खेले पनि सन् १९८६ मा मात्रै छनोट चरण पार गर्न सक्यो । सन् १९९८ मा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको डेनमार्कका लागि त्यो नै विश्वकपको ठूलो उपलब्धि हो । डेनमार्कका लागि यो पाँचौं विश्वकप हो । विश्वकप छनोटमा पोल्याण्डलाई ४–० र आयरल्याण्डलाई ५–१ ले हराएर सनसनी मच्चाएको डेनमार्कको अर्को चरणमा पुग्ने सम्भावना बलियो देखिएको छ । विश्वकपमा हालसम्म खेलेका १६ खेलमा डेनमार्कले ८ मा जित, ६ मा हार र २ बराबरी खेलेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।