चुलियो चालूखाता घाटा

Share News
काठमाडौ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को वैशाखसम्ममा देशको चालूखाता रू. २ खर्बले घाटामा छ । गत आवको पुसदेखि निरन्तर ऋणात्मक रहेको यस्तो घाटामा विस्तार भएसँगै समग्र शोधनान्तर घाटा पनि बढेको छ । फलस्वरूप, देशको बाह्य सन्तुलन चुनौतीपूर्ण बन्दै गएको राष्ट्र बैङ्कले बताएको छ । बैङ्कले सार्वजनिक गरेको १० महीने समष्टिगत आर्थिक प्रतिवेदनले चालूखाता रू. १ खर्ब ९१ अर्ब २ करोडले घाटामा रहेको देखाएको हो । गत आवको यसै समयमा त्यस्तो खाता रू. ७ अर्ब ५७ करोडले घाटामा थियो । अर्थशास्त्रीले चालूखाता घाटा निरन्तर बढ्नुलाई जोखीमपूर्ण हुने भनेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. शङ्कर शर्माले चालूखाता निरन्तर घाटामा रहँदा अर्थतन्त्र दुर्घटनामा पर्नसक्ने जोखीम रहने अभियानलाई बताए । राष्ट्र बैङ्कले ‘आयात बढेकाले चालूखातामा घाटा भएको’ भनेको छ । चालू खाता घाटा चुलिँदै गएपछि समग्र शोधनान्तर रू. १८ अर्ब ९३ करोडले घाटामा छ । ९ महीनासम्म यस्तो घाटा रू. १४ अर्ब ६० करोड थियो । गतवर्षको यसै अवधिमा रू. ५३ अर्ब ८१ करोडले बचतमा रहेको शोधनान्तर अहिले घाटामा गएको हो । त्यसैगरी चैत्रसम्म ५ दशमलव ३ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति वैशाखमा घटेर ४ दशमलव १ प्रतिशतमा सीमित छ । गत आर्थिक वर्षको १० महीनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत थियो । यसमा खाद्य मुद्राफीति बढेको र गैरखाद्य घटेको छ । गतवर्षको १० महीनासम्म ६ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फीति समीक्षा अवधिमा ४ दशमलव ८ प्रतिशतमा सीमित छ । लत्ताकपडा, जुत्ता तथा घरायसी उपयोगका सामानको मूल्य वृद्धिदर तुलनात्मक रूपमा कम रहेपछि यस समूहको मुद्रास्फीति सीमित रहेको हो । समष्टिगत आर्थिक प्रतिवेदनले १० महीनामा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई रू. ६ खर्ब ७ अर्ब पुगेको देखाउँछ । ९ महीनामा विप्रेषण आप्रवाह रू. ५ खर्ब ४० अर्ब ३८ करोड थियो । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बनेपछि विदेशबाट प्राप्त हुने रकम बढेको बताइएको छ । श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्यामा कमी आए पनि विप्रेषण बढ्नुले विदेशी श्रमबजारमा नेपाली कामदारको तलब बढेको वा औपचारिक माध्यमबाट आउने रकम बढेको जानकारहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।