विश्वकप फूटबलको समूह ‘डी’मा २ पटकको विश्वविजेता अर्जेण्टिनासँगै पहिलोपटक विश्वकपमा सहभागी टीम आइसल्याण्ड, क्रोएशिया र नाइजेरिया छन् । यी चार टीमको संक्षिप्त विश्लेषण :
अर्जेण्टिना : सन् १९७८ र १९८६ को विश्वविजेता अर्जेण्टिना फिफा वरियतामा पाँचौं स्थानमा छ । सन् १९३० को पहिलो विश्वकपमा उपविजेता बनेको अर्जेण्टिना स्टार खेलाडी मेस्सीको कारण पनि चर्चित छ । सन् १९७४ देखि निरन्तर विश्वकपमा सहभागी भइरहेको अर्जेण्टिना सन् २००२ मा मात्र समूह चरणबाट बाहिरिएको थियो । १२ पटक दक्षिण अमेरिकन च्याम्पियनशिप जितेको अर्जेण्टिना ५ पटक फाइनल पुगेर २ पटक विजेता र ३ पटक उपविजेता बनेर फर्किएको छ । सन् १९९० र २०१४ मा उपाधिनजीक पुगेर निराश बनेको अर्जेण्टिना ३२ वर्षपछि फेरि विजेता बन्ने लक्ष्य बोकेर रसिया विश्वकपमा पुगेको छ । उपाधि दाबेदारको रूपमा हेरिएको अर्जेण्टिनाले हालसम्म विश्वकपमा खेलेका ७७ खेलमा ४२ मा जित, २१ मा हार र १४ बराबरी खेलेको छ ।

आइसल्याण्ड : यसवर्ष पहिलोपटक विश्वकपमा छनोट भएको आइसल्याण्डका लागि रसिया यात्रा बिल्कुलै नौलो अनुभव हो । सन् १९५८ देखि विश्वकप छनोट खेलेको आइसल्याण्डले तेह्रौं पटकमा विश्वकप खेल्ने अवसर पाएको हो । फिफा वरियतामा २२औं स्थानमा रहेको आइसल्याण्डले विश्वकप छनोटको १० खेलमा ७ मा जित, २ मा हार र १ खेल बराबरी खेलेको थियो । आइसल्याण्डको पछिल्लो प्रदर्शन हेर्दा समूह चरणमा हेर्न लायक खेल खेल्ने अनुमान लगाउन सकिन्छ ।
क्रोएशिया : फिफा वरियतामा २०औं स्थानमा रहेको क्रोएशियाका लागि यो पाँचौँ विश्वकप हो । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको क्रोएशियाले उक्त संस्करणमा तेस्रो स्थान प्राप्त ग¥यो र यो नै क्रोएशियाका लागि हालसम्मको ठूलो उपलब्धि हो । त्यसयता सन् २००२, २००६ र २०१४ मा समूह चरणबाट माथि जान नसकेको क्रोएशियाको प्रदर्शन औसत देखिन्छ । यो विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यका साथ रसिया पुगेको क्रोएशियाले हालसम्म विश्वकपमा खेलेका १६ खेलमा ७ मा जित, ७ मा हार र २ बराबरी खेलेको छ ।

नाइजेरिया : फिफा वरियतामा ४८औं स्थानमा रहेको नाइजेरियाले सन् १९६२ देखि विश्वकप छनोट खेले पनि सन् १९९४ मा आएर मात्रै छनोट चरण पार गर्न सक्यो । आठौं पटकको प्रयासमा विश्वकपमा सहभागी हुन सफल नाइजेरिया पाँचपटकको विश्वकपमा २ पटक समूह चरणबाट बाहिरिएर तीनपटक अन्तिम सोह्रमा पुगेको छ । विश्वकप खेलमा खास प्रदर्शन गर्न नसकेको नाइजेरियाले हालसम्म खेलेका १८ खेलमा ५ मा जित, १० मा हार र ३ बराबरी खेलेको छ ।
समग्रमा हेर्दा समूह ‘डी’मा तुलनात्मक रूपमा बलियो देखिएको अर्जेण्टिनाका लागि समूह चरण केही सहज देखिएको छ । क्रोएशिया र नाइजेरियाको औसत प्रदर्शन र आइसल्याण्ड नयाँ टीम भएको हुँदा समूह चरण पार गर्ने दोस्रो टीम यही हुन सक्छ भनेर अनुमान लगाउन त्यति सहज छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।