समूह ‘ई’ : इतिहास र सम्भावना

Share News
विश्वकप फूटबलको समूह ‘ई’मा पाँचपटकको विश्वविजेता ब्राजिलसँगै स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया छन् । यी चार टीमको संक्षिप्त विश्लेषण : ब्राजिल : सबैभन्दा बढी पाँचपटक विश्वविजेता बनेको ब्राजिल सन् १९३० को पहिलो विश्वकपदेखि हालसम्मका सबै संस्करणमा सहभागी हुने एकमात्र टीम हो । सन् २०१४ को विश्वकप आयोजना गरेको ब्राजिल घरेलु मैदानमा जर्मनीसँग ७–१ को लज्जास्पद हारसँगै सेमिफाइनलबाट बाहिरिएको थियो । पहिलो विश्वकप खेलेको २८ वर्षपछि ब्राजिल सन् १९५८ मा पहिलोपटक विश्वविजेता बन्यो । सन् १९६२ मा लगातार दोस्रोपटक विश्वविजेता बनेको ब्राजिल सन् १९६६ मा भने समूह चरणबाटै बाहिरियो । त्यसपछि पुनः सन् १९७० मा तेस्रो पटक विश्वविजेता बन्ने पहिलो टीम बन्यो । त्यसयता सन् १९९४ र २००२ मा विश्वविजेता बनेको ब्राजिलको विश्वकपमा गर्विलो इतिहास छ । यसैकारण विश्वभरि ब्राजिलका समर्थकको भाग ठूलो छ । यो विश्वकप छनोटमा १८ खेलमध्ये एउटा मात्रै खेल गुमाएको ब्राजिल १२ खेलमा जित हात पार्दै विश्वकपमा छनोट हुने पहिलो टीम बन्यो । यो विश्वकपका लागि बलियो उपाधि दाबेदारका रूपमा हेरिएको ब्राजिल फिफा वरीयतामा दोस्रो स्थानमा छ । ब्राजिलले हालसम्म विश्वकपमा खेलेका १०७ खेलमध्ये ७० मा जित, १७ मा हार र १७ बराबरी खेलेको छ ।

स्वीट्जरल्याण्ड : फिफा वरीयतामा छैटौं स्थानमा रहेको स्वीट्जरल्याण्ड सन् १९३४ देखि नै विश्वकपमा सहभागी भएको हो । हालसम्म खेलेका १० विश्वकपमा तीनपटक क्वाटरफाइनलसम्मको यात्रा स्वीट्जरल्याण्डले तय गरेको छ । सन् १९६६ पछि एकैपटक सन् १९९४ मा आएर विश्वकपका लागि छनोट भएको स्वीट्जरल्याण्डले सन् २००६ देखि यता निरन्तर विश्वकप खेलिरहेको छ । सन् २०१७ का वर्ष खेलाडी ग्रेण्ट हाकाको प्रदर्शनले पनि स्वीट्जरल्याण्डका समर्थक आश्वस्त छन् । पछिल्लो समय राम्रो लयमा देखिएको स्वीट्जरल्याण्डले यसपटक पनि क्वाटरफाइनलसम्मको यात्रा तय गर्ने अनुमान लगाउन सकिन्छ । स्वीट्जरल्याण्डले विश्वकपमा हालसम्म खेलेका ३३ खेलमध्ये ११ मा जित, १६ मा हार र ६ बराबरी खेलेको छ । कोष्टारिका : फिफा वरीयतामा २३औं स्थानमा रहेको कोष्टारिकाको यो पाँचौं विश्वकप हो । सन् १९९० देखि विश्वकप यात्रा शुरू गरेको कोष्टारिका सन् १९१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुग्यो । क्षेत्रीय प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कोष्टारिकाले विश्वकपमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपि, यसपटकको विश्वकप छनोटका १६ खेलमध्ये २ खेलमात्रै गुमाएर ९ खेलमा जित हात पारेको कोष्टारिकाको विश्वकप उपस्थिति बलियो नै हुने अनुमान छ । विश्वकपमा हालसम्म स्वीट्जरल्याण्डले खेलेका १५ खेलमध्ये ५ मा जित, ६ मा हार र ४ बराबरी खेलेको छ ।

सर्बिया : फिफा वरीयतामा ३४औं स्थानमा रहेको सर्बिया सन् १९३० को पहिलो विश्वकपमा सेमिफाइनलसम्म पुग्ने टीम हो । सन् १९६२ मा दोस्रोपटक सेमिफाइनल पुगेको सर्बियाले त्यसयता राम्रो प्रदर्शन गर्न सकेको छैन । सन् २०१० मा समूह चरणबाटै बाहिरिएको सर्बिया सन् २०१४ मा छनोट हुन सकेन । समूह ‘ई’मा तुलनात्मक रूपमा कमजोर टीम सर्बियाले विश्वकपमा हालसम्म खेलेका ४३ खेलमध्ये १७ मा जित, १८ मा हार र ८ बराबरी खेलेको छ । समग्रमा हेर्दा समूह ‘ई’मा बलियो टीम ब्राजिल देखिन्छ भने सर्बिया तुलनात्मक रूपमा कमजोर देखिन्छ । अन्य दुई टीमको उपस्थिति पनि राम्रो अवस्थामा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।