विश्वकपका सर्वाधिक गोलकर्ता

Share News

रुसमा फिफा विश्वकप शुरु हुन अब मात्रै २ दिन बाँकी छ । फूटबलको यस महासङ्ग्रामको विश्वभरका फूटबल फ्यानहरुले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । हुन त हरेक पटक विश्वकपमा टिमहरुबीच मात्रै होइन खेलाडीहरुबीच पनि घमासान युद्ध हुने गर्छ, उपाधी हासिल गर्न । यस पटक विश्वकपमा सहभागी कुल ७ सय ३६ मध्ये ५३ खेलाडी यस्ता छन्, जसले विश्वकपमा कम्तिमा एक गोल गरेका छन् । यस पटक सहभागी मध्ये सर्वाधिक गोलकर्ताहरु निम्नानुसार छन्ः

सबैभन्दा धेरै गोल गर्ने पुरानो पुस्ताका खेलाडीको खोजी हुँदा हामीमध्ये सबैको मस्तिष्कमा सबैभन्दा पहिला क्रिष्टियानो रोनाल्डो वा लियोनल मेसीको नाम आउँछ । तर विश्वकपको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा यी दुबैको नाम छैन । विश्वकप इतिहासमा सबैभन्दा बढी गोलकर्ताको सूचीमा शीर्ष पाँचमा पर्ने खेलाडीहरु निम्नानुसार छन्ः

५. पेले (ब्राजिल): फूटबल फ्यानहरुमाझ पेले नौलो नाम होइन । १७ वर्षकै उमेरमा विश्वकप खेलेका पेलेले विश्वकपमा १४ ओटा खेलमा राष्ट्रिय टोली ब्राजिललाई १२ गोलको योगदान दिएका छन् । पेलेले आफ्नो देशका लागि चार पटक विश्वकप खेलेका थिए । यसमध्ये पहिलो वर्ष सन् १९५८ मा उनले ४ गोल गरेका थिए । त्यस्तैगरी, सन् १९६२ र सन् १९६६ मा १/१ गोल र सन् १९७० मा ४ गोल गरेका थिए । ब्राजिललाई अन्तरराष्ट्रिय फूटबलको उपाधि जिताउनमा पेलेले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ब्राजिलले पाँच पटक विश्वकप जितेको छ । यसमध्ये तीन जीत पेले सहभागी भएको वर्ष अर्थात् १९५८, १९६२ र १९७० मा हासिल भएको थियो । फूटबल जगतबाट बिदा लिएको यतिका वर्ष बितिसक्दा पनि विश्वभरका फूटबल खेलाडीका लागि उनी सबैभन्दा ठूलो जीवित उत्प्रेरणाका रुपमा रहेका छन् । पेले शताब्दीकै उत्कृष्ट खेलाडी र शताब्दीकै उत्कृष्ट फिफा खेलाडीको उपाधिबाट समेत सम्मानित छन् । ४. जष्ट फोन्टेन (फ्रान्स): फ्रान्सका रिटायर्ड फूटबलर हुन् जष्ट फोन्टेन । एउटै संस्करणको विश्वकपमा सबैभन्दा बढी गोल गरेको रेकर्ड छ उनको पोल्टामा । सन् १९५८ मा राष्ट्रिय टोलीका लागि ६ खेलमा फोन्टेनले १३ गोल गरेका थिए । त्यस वर्ष उनले गोल्डन बूट पनि जितेका थिए । उनको यो रेकर्ड यतिका वर्ष बित्दा पनि कसैले तोड्न सकेको छैन । सन् १९६२ मा उनले आफ्नो जीवनको अन्तिम खेल खेलेका थिए । सन् १९६० मा खेल्ने क्रममा उनले २ पटक खुट्टा भाँचे र त्यसपछि समेत लगातारको चोटका कारण २८ वर्ष ११ महीनाको उमेरमै फूटबलबाट सन्यास लिन बाध्य भए । राष्ट्रिय टोलीका लागि खेलेका विभिन्न २१ क्याम्पमा उनले ३० गोल गरेका छन् । यसको अर्थ फोन्टेनले प्रत्येक क्यापमा औसत १ दशमलव ४३ गोल गरेका छन् । त्यति चाँडै खेल जीवन त्याग्नु नपरेको भए उनी अहिले यो सूचिमा सबैभन्दा माथि हुन्थे होलान् । अहिलेसम्म पनि उनी विश्वकपमा सर्वाधिक गोल गर्ने चौथौं खेलाडी हुन् । ३. गेर्ड मूलर (जर्मनी): विश्वकपमा तेस्रो सर्वाधिक गोलकर्ताको उपाधि जर्मन स्ट्राइकर गेर्ड मुलरको पोल्टामा छ । मुलरले आफ्नो पहिलो विश्वकप सन् १९७० मा खेलेका थिए । सो संस्करणमा उनले आप्mनो टिमका लागि १० गोल गरेका थिए । सन् १९७४ मा भने उनले ४ गोल गरे । यसमध्ये एक गोल त नेदरल्याण्डसँगको अन्तिम खेलमा निर्णयक गोल बन्यो । त्यस वर्ष जर्मनीले विश्वकप उपाधि जितेपछि २८ वर्षकै उमेरमा उनले अप्रत्याशित रुपमा अन्तरराष्ट्रिय प्रतियोगिताबाट सन्यास लिए । तर क्लब करियरलाई भने मुलरले सन् १९८२ सम्म पनि निरन्तरता दिए । मुलरले २ पटक जर्मन फूटबलर अफ दि इयर जितेका छन् । राष्ट्रिय टिमका लागि खेलेका ६२ खेलमा उनले ६८ गोल गरेका छन् । मुलर ‘क्लिनिकल फिनिशिङ’का लागि निकै चर्चित छन् । अलटाइम इन्टरनेशनल गोलकर्तामा मूलर १२ औं स्थानमा छन् । ४० वर्षसम्म मुलर जर्मनीका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए । २. रोनाल्डो (ब्राजिल): स्पिडमा ड्रिब्बिलङ गर्ने, क्लिनिकल फिनिशिङ र झक्याएर बल हान्ने कलाका लागि चिरपरिचत छन् ब्राजिलका ९ नम्बर जर्सी धारी खेलाडी रोनाल्डो । आफ्नो पालामा उनी संसारकै सबैभन्दा डरलाग्दा स्ट्राइकर थिए । आफ्नो फूटबल करियरमा राष्ट्रिय टिमका लागि खेलेको १९ खेलमा रोनाल्डोले १५ गोल गरेका छन् । उनले सन् १९९६, सन् १९९७ र सन् २००२ मा फिफा वर्ष खेलाडी जितेका छन् । सन् १९९७ र सन् २००२ मा उनले गोल्डन बूट पनि जितेका थिए । सन् १९९८ मा राष्ट्रिय टिमका लागि रोनाल्डोले ४ गोलको योगदान दिएका थिए । करियर उत्कर्ष भएको बेलामा घुँडामा गम्भीर चोट लागेपछि करियर डरलाग्दो गरी अन्त्य हुने हो कि भन्ने आँकलन समेत भए । तर सबैलाई गलत साबित गर्दै सन् २००२ मा जापानमा आयोजित विश्वकपमा उनले ८ गोल गरेर तेस्रो पटक वर्ष खेलाडी बने र ब्राजिललाई उपाधि पनि दिलाए । सन् २००६ मा पनि उनले ब्राजिलका लागि ३ गोलको योगदान दिएका थिए । सोही वर्ष उनले अन्तरराष्ट्रिय खेल जगतबाट सन्यास लिए । त्यसयता सन् २०१४ सम्म उनी विश्वकपका सर्वाधिक गोलकर्ता थिए । तर यस अघिको विश्वकपमा उनको त्यो रेकर्ड तोडियो । १. मिरोस्लाव क्लोज (जर्मनी): गत संस्करणको विश्वकपमा जर्मनीको जीतमा क्लोजले २ गोलको मात्रै योगदान दिएका थिए । तर यस अघिका तीन संस्करणमा १४ गोल गरेर क्लोज फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकपमा १६ गोल गरेर उनले ब्राजिलियन गोलमशिन रोनाल्डोको सर्वाधिक गोलकर्ताको उपाधि पनि खोसे । आफ्नो देशका लागि खेलेका १ सय ३७ खेलमा क्लोजले ७१ गोल गरेका छन् । क्लोजले पहिलो पटक २००२ मा विश्वकपमा हिस्सा लिएका थिए । त्यतिबेला उनले पाँच गोल गरेका थिए त्यो पनि टाउकोले । सन् २००६ मा राष्ट्रिय टोलीका लागि ५ गोल गरेर गोल्ड बूट जितेका क्लोजले सन् २०१० मा पनि ४ गोलको योगदान दिएका थिए । २०१४ को उपाधिसँगै सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएपछि विश्वकप फाइनल सकिएको एक महीनापछि उनले अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लिने घोषणा गरे ।

प्रस्तुतिः रमा सुवेदी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।