समूह एफ : बलियो जर्मनी, कमजोर कोरिया

Share News
विश्वकप फूटबल २०१८ को समूह ‘एफ’मा डिफेण्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् । यी चार टीमको सङ्क्षिप्त विश्लेषण : जर्मनी : सन् २०१४ को आयोजक ब्राजिललाई घरेलु मैदानमा सेमिफाइनल खेलमा ७–१ ले पराजित गर्दै सनसनी मच्चाएको जर्मनीले फाइनलमा अर्जेण्टिनालाई १–० ले हराउँदै चौथोपटक विश्वकप उपाधि जित्यो । विश्वकपमा जर्मनीको प्रदर्शनी स्तरीय देखिन्छ । जुनसुकै टीमका लागि पनि चुनौती बन्ने गरेको जर्मनीले सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेयता १८ पटकको सहभागितामा सन् १९३८ मा मात्रै पहिलो चरणबाट बाहिरिएको छ । अन्य सबै खेलमा क्वाटरफाइनलसम्म पुगेकै छ । १३ पटक सेमिफाइनल र ८ पटक फाइनल खेलेको जर्मनीले ४ पटक उपाधि जितेको छ । हाल फिफा वरीयतामा पहिलो नम्बरमा रहेको जर्मनी विश्वकप उपाधिको दाबेदारको रूपमा रहेको छ । विश्वकपमा जर्मनीले हालसम्म खेलेका १०६ खेलमध्ये ६६ मा जित, २० मा हार र २० बराबरी खेलेको छ ।

मेक्सिको : फिफा वरीयतामा १५औं स्थानमा रहेको मेक्सिको सन् १९७० र १९८६ मा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको छ । सन् १९३० को पहिलो विश्वकपबाटै सहभागी भइरहेको मेक्सिकोको यो १६औं विश्वकप हो । सन् १९९४ देखियता लगातार अन्तिम १६ बाट बाहिरिएको मेक्सिकोले यसपटक समूह चरण पार गर्ने अपेक्षा छ । विश्वकपमा मेक्सिकोले हालसम्म खेलेका ५३ खेलमध्ये १४ मा जित, २५ मा हार र १४ बराबरी खेलेको छ । स्वीडेन : यसपटक विश्वकप छनोटको प्लेअफमा इटलीलाई पराजित गर्दै रसिया विश्वकपमा प्रवेश पाएको स्वीडेनको यस वर्षको प्रदर्शन सम्झनलायक हुने अपेक्षा छ । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको स्वीडेनले सन् १९५८ को विश्वकपको फाइनलमा ब्राजिलसँग पराजित भएपछि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । सन् १९३८, १९५० र १९९४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको स्वीडेन सन् २०१० र २०१४ मा छनोट नै हुन सकेन । फिफा वरीयतामा २४औं स्थानमा रहेको स्वीडेनले विश्वकपमा हालसम्म खेलेका ४६ खेलमध्ये १६ मा जित, १७ मा हार र १३ बराबरी खेलेको छ ।

दक्षिण कोरिया : फिफा वरीयतामा ५७औं स्थानमा रहेको दक्षिण कोरियाका लागि यो दशौं विश्वकप हो । सन् १९५४ देखि विश्वकपमा सहभागी भएको दक्षिण कोरिया सन् २००२ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता सन् २०१० मा अन्तिम १६ मा स्थान बनाएको दक्षिण कोरिया अरू सबै खेलमा समूह चरणबाट बाहिरिएको छ । विश्वकपका लागि एशिया छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरी गरेपछि दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । विश्वकपमा दक्षिण कोरियाले हालसम्म खेलेका ३१ खेलमध्ये ५ मा जित, १७ मा हार र ९ बराबरी खेलेको छ । समग्रमा हेर्दा समूह ‘एफ’मा डिफेण्डिङ च्याम्पियन जर्मनी सबैभन्दा बलियो र उपाधि दाबेदारका रूपमा देखिन्छ भने सबैभन्दा कमजोर एशियाली टीम दक्षिण कोरिया देखिन्छ । अन्य दुई टीमको प्रदर्शनी औसत छ । यसर्थ, अन्तिम १६ मा पुग्ने दोस्रो टीमको अनुमान लगाउन त्यति सहज छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।