विश्वकप फूटबल समूह ‘एच’

Share News
यसपटकको विश्वकपमा संलग्न सबै टीमहरू उत्कृष्ट छन् । विश्वकप फूटबल २०१८ को समूह ‘एच’मा भएका टीमहरू पनि कम छैनन् । समूह ‘एच’मा रहेका टीमको सङ्क्षिप्त विश्लेषण : यी चार समूहको सङ्क्षिप्त विश्लेषण : पोल्याण्ड : विश्वकपमा दुईपटक तेस्रो स्थानमा समेटिएको पोल्याण्ड सन् १९८६ यता विश्वकपको समूह चरणबाट माथि आउन सकेको छैन । यूरोकप २०१६ मा निकै राम्रो खेलेपनि पोर्चुगलको पेनाल्टी बचाउन नसक्दा क्वार्टर फाइनलमा चित्त बुझाउनुपरेको थियो । यसपटक समूह चरणका १० खेलमा ८ खेल जितेर सहजै फाइनलमा आएको पोल्याण्डले जितका लागि २८ गोल गरेको थियो । पोल्याण्ड सन् १९३८ मा पहिलोपटक विश्वकपमा सहभागी भएको थियो । त्यसपछि एकैचोटि सन् १९७४ मा मात्रै विश्वकप प्रतियोगितामा खेल्ने अवसर पायो । २००२ र २००६ को विश्वकपमा समूह चरणमा समेटिएको पोल्याण्डले यसपटक विश्वकपमा चम्किने आशा यसका समर्थकहरूले गरेका छन् । यसपटकको समूह चरणमा सबैभन्दा बढी सम्भावना पोल्याण्डकै छ । पोल्याण्ड भन्नेबित्तिकै सबैको दिमागमा रोबर्ट लेवेण्डोस्कीको मुहार आउँछ । तर, यस टीममा लेवेण्डोस्कीबाहेक वोचेख स्टेज्ने, कामिल ग्लिक र ज्रेगोर्ज क्रिकोवाइकलगायत अन्य राम्रा खेलाडी पनि छन् । फिफाको वरीयतामा आठौं स्थानमा रहेको पोल्याण्डले विश्वकपमा खेलेका ३१ खेलमा १५ मा जित ११ मा हार र ५ मा बराबरी खेल्यो । यी खेलमा पोल्याण्डले कुल ४४ गोल गरेको थियो भने ४० गोल खाएको थियो ।

सेनेगल : समूह एचमा सबैभन्दा कमजोर टीम सेनेगल हो भन्ने तपाईं सोच्नुहुन्छ भने तपाईं एकदम गलत हुनुहुन्छ । सेनेगलले पहिलोचोटि वर्ल्डकप फाइलन सन् २००२ मा मात्रै खेलेको हो । तर, त्यही वर्ष यसले विश्वविजेता फ्रान्सलाई समूह चरणबाटै घर पठाएर विश्वभरका फूटबल फ्यानलाई नै अचम्मित तुल्याएको थियो । उक्त वर्ष सेनेगल क्वार्टरफाइनलसम्म पुग्न सफल बन्यो । क्वार्टरफाइलनमा स्वीडेनले एक गोलले टीमलाई हराएको थियो । यसपटकको विश्वकपमा सेनेगलको दोस्रो सहभागिता हो । समूह चरणका ६ खेलमध्ये ४ मा जित र २ बराबरी खेलेर सेनेगल सहजै विश्वकपमा आएको छ । यो टीममा युवा र अनुभवी दुवै थरी खेलाडी छन् । सदियो मने र कालिडो कोलिबेली टीमका सबैभन्दा आशलाग्दा खेलाडी हुन् । कान्छा खेलाडी विशेषगरी, केटा बाल्डे डियाओ पनि निकै आशलाग्दा छन् ।फिफाको वरीयतामा २७औं स्थानमा रहेको सेनेगलले विश्वकपमा अहिलेसम्म ५ खेलमात्र खेलेको छ । यी खेलमध्ये २ मा जित, १ मा हार र २ मा बराबरी खेलको थियो । यी खेलमा सेनेगलले कुल ७ गोल गर्दा ७ गोल खाएको थियो । यसपटक पनि १६ वर्षअघिकै जस्तो प्रदर्शन गर्ने आशा टीमका समर्थकहरूले गरेका छन् ।कोलम्बिया : कोलम्बिया पहिलोपटक १९६२ को विश्वकपमा सहभागी भएको थियो । तर, उक्त वर्ष समूह चरणबाटै बाहिरिनुप¥यो । १९६६ देखि १९८६ सम्म चयन नभएपनि १९९० मा उसले राउण्ड अफ १६ मा चित्त बुझाउनुप¥यो । त्यसपछिका क्रमशः २ संस्करणमा कोलम्बियाले खासै राम्रो खेल्न सकेन । १६ वर्षसम्म विश्वकफबाट बाहिर बसेपछि गत संस्करणमा क्वार्टरफाइनलमा पुग्नु उसको अहिलेसम्मकै ठूलो उपलब्धि हो ।कोलम्बियाले निकै आक्रामक खेल खेल्छ । समूहमा डेभिन्सन साञ्चेज, येरी मिनाजस्ता कयौं राम्रा डिफेण्डर छन् । गत संस्करणको विश्वकपबाट चम्किएका जेम्स रोड्रिग्वेजलाई त भुल्ने कुरै भएन । त्यतिबेला ६ गोलको योगदान दिएका उनी प्रतियोगिताको सबैभन्दा धेरै गोलकर्ता पनि हुन् । पछिल्ला ४ वर्षमा रोड्रिग्वेज फूटबलमा सबैभन्दा ठूलामध्ये एक नाम बनेका छन् । टीम क्याप्टेन रडामेल फाल्को, कार्लोस साञ्चेज पनि आशलाग्दा खेलाडी हुन् ।फिफाको वरीयतामा १६औं स्थानमा छ कोलम्बिया । विश्वकपमा अहिलेसम्म १८ खेल खेलेको कोलम्बियाले ७ मा जित, ९ मा हार र २ मा बराबरी खेलको थियो । यी खेलमा सेनेगलले विपक्षीविरुद्ध कुल २६ गोल गर्दा विपक्षी टीमको २७ गोल खाएको थियो । २०१४ को विश्वकपकै पारामा रोड्रिग्वेजले प्रदर्शन गरे भने कोलम्बियाले समूह विजेताका लागि पोल्याण्डलाई चुनौती दिन सक्छ ।

जापान : विश्वकपका पछिल्ला संस्करणमा जापान पाँचपटक सहभागी भएको छ । पहिलोपटक सन् १९९८ मा सहभागी भएर समूह चरणको तीनै खेल हारेर ३१औं स्थानमा चित्त बुझाएको थियो । तर, त्यसयता अहिलेसम्म अन्तिम खेलहरूमा खेल्ने अवसर यसले गुमाएको छैन । यी खेलमा जापान तीनपटक समूह चरणबाटै बाहिरिँदा दुईपटक अन्तिम १६ मा पुग्न सफल भयो ।विश्वकप छनोट चरणभर जम्मा ७ गोलमात्र गरेको जापानले दशमध्ये चार खेलमा एक गोल पनि खाएन । गोलरक्षक इजी कावाशिमाले आफूलाई राष्ट्रिय टोलीका निकै भरपर्दो खेलाडी सावित गरेका छन् । शिन्जी ओकाजाकी जापानका सबैभन्दा ठूला फूटबल स्टार हुन् । ओकाजाकीबाहेक ताकुमा असानो र गेन्की हारागुची पनि टीम जापानका हेर्न लायक खेलाडी हुन् । जापानको आक्रामक शैलीले अहिलेसम्म विश्वकपमा उसलाई धेरै ठूलो उपलब्धि भने दिलाउन सकेको छैन । तर, यसले समूह चरणबाट टीमलाई माथि भने लैजान सक्छ ।फिफा वरीयतामा ६१औं स्थानमा छ जापान । विश्वकपमा अहिलेसम्म खेलेका १७ खेलमध्ये उसले ४ मा जित, ९ मा हार र ४ मा बराबरी खेलको थियो । यी खेलमा विपक्षीलाई १४ गोल गर्दा उसले २२ गोल खाएको छ । २००२ र २०१० को विश्वकपमा अन्तिम १६ मा पुग्नु नै जापानको ठूलो उपलब्धि हो ।यसअघिका विश्वकप प्रदर्शनीलाई हेर्दा प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना कोलम्बिया र पोल्याण्डको बढी देखिन्छ । तर, यो त अनुमान मात्रै हो । फूटबल सम्भावनाको मात्रै खेल होइन । कहिलेकाहिँ खेल मैदानमा नसोचेको टीमले पनि अद्वितीय प्रदर्शन गर्न सक्छन् ।

प्रस्तुति : रमा सुवेदी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।