आजको खेल : जर्मनीविरुद्ध मेक्सिको (२०ः४५ बजे)

Share News
समूह ‘एफ’मा रहेका दुई टीम जर्मनी र मेक्सिकोबीच आज १२औंपटक खेल हुँदै छ । यसअघि खेलेका ११ खेलमध्ये ६ खेलमा जर्मनी विजयी भएको छ भने मेक्सिकोले १ पटकमात्र जित हात पारेको छ । चारपटक बराबरी खेलेका यी दुई टीमको पहिलो भेट सन् १९६८ मा मेक्सिकोमा भएको थियो । उक्त इण्टरनेशनल फ्रेण्डली म्याचमा गोलरहित बराबरी खेलेका दुई टीमको विश्वकपका लागि भने यो चौथो भेट हो । सन् १९७८ मा विश्वकपका लागि भएको पहिलो भेटमा जर्मनीले मेक्सिकोलाई ६–० ले पराजित गर्दै पहिलो चरणबाटै घर पठाएको थियो भने जर्मनी दोस्रो चरणबाट घर फकिएको थियो । त्यसपछि सन् १९८६ विश्वकपको क्वाटरफाइनलमा गोलरहित बराबरी खेलेपछि पेनाल्टीमार्फत जर्मनीले ४–१ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो भने मेक्सिको क्वाटरफाइनलबाटै घर फर्किएको थियो । विश्वकपका लागि तेस्रोपटक यी दुई सन् १९९८ मा खेलेका थिए । अन्तिम १६ अन्तर्गतको खेलमा जर्मनी २–१ को जित निकाल्दै क्वाटरफाइनल पुगेको थियो भने मेक्सिको अन्तिम १६ बाटै घर फर्किएको थियो । चारपटकको विश्वविजेता जर्मनी मेक्सिकोमाथि हावी हुने देखिन्छ भने दुईपटक विश्वकपको सेमिफाइनलमा पुगेको मेक्सिको पनि जर्मनीका लागि बलियो प्रतिस्पर्धी बन्ने देखिन्छ । यी दुईको पछिल्लो भेट सन् २०१७ मा फिफा कन्फेडेरेशन कपको सेमिफाइनलमा भएको थियो । उक्त खेलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।