वाशिङ मेशिन : स्क्रब बोर्डदेखि पञ्चवास सिष्टमसम्म

Share News

व्यस्त जीवनलाई सहज बनाई कामकाजी परिवारको समय बचत गराउन वाशिङ मेशिन लोकप्रिय बन्दै गएको छ । कपडामा लागेका दाग तथा मयल हटाउन घण्टौं घोट्नुपर्ने बाध्यतालाई वाशिङ मेशिनको प्रयोगले केही मिनेटमा झारेको छ । पानीको अभाव हुने शहरी क्षेत्रमा त वाशिङ मेशिन अनिवार्य हुन थालेको सग्तानी एक्जिम प्रालिका अध्यक्ष विनोद सग्तानी बताउँछन् । वाशिङ मेशिनबाट आफ्नो चाहनाअनुसार रुमालदेखि ज्याकेटसम्म सफा गर्न सकिन्छ । एउटा स्वीच थिचेकै आधारमा कपडा सफा हुने मात्र होइन, सामान्य तरीकाले लुगा धुन लाग्ने समय अन्य उत्पादनशील काममा लगाउन सकिन्छ । वाशिङ मेशिनको यस्तै विशेषताले उपभोक्तामा यसको आकर्षण बढेको सम्बद्ध व्यापारीहरू बताउँछन् । अहिले नेपाली बजारमा थप सुविधासहित नयाँ मोडलका वाशिङ मेशिन भित्र्याउन विक्रेता कम्पनीहरू प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा अहिले विश्वबजारमा चलेका २० भन्दा बढी ब्राण्डका वाशिङ मेशिन उपलब्ध छन् । वर्लपूल, बेको, एलजी, सामसुङ, आईएफबी, गोदरेज, हिटाची, ओनिडा, यासुदा, सान्यो, हाइसेन्स र माइडिया बजारमा उपलब्ध वाशिङ मेशिनका केही ब्राण्ड हुन् । यस्ता वाशिङ मेशिनका आआफ्नै विशेषता छन् । नेपालमा अहिले वार्षिक २० हजार थान वाशिङ मेशिन विक्री हुने अनुमान छ । वाशिङ मेशिनको व्यवसायमा मात्र अहिले १ अर्ब ८० करोड रुपैयाँ लगानी भइसकेको सग्तानी बताउँछन् । सग्तानी एक्जिमले आईएफबी ब्राण्डका वाशिङ मेशिनको बजार प्रवद्र्धन गर्छ । वाशिङ मेशिनको माग सबैभन्दा बढी दशैं/तिहार तथा विवाहको अवसरमा हुने गर्छ । यसबाहेक जाडो मौसममा पनि यसको विक्री बढी हुने व्यवसायीको भनाइ छ । चिसो पानीमा हातले कपडा धुन गाह्रो हुने, हात फुट्ने र पानी तताउन बढी इन्धन खर्च हुने भएकाले मानिसहरू वाशिङ मेशिनतिर आकर्षित भएको उनीहरू बताउँछन् ।

प्रविधिको परिमार्जन

सहजताका लागि प्रयोग हुँदै आएको वाशिङ मेशिनमा नयाँ प्रविधि थपिने क्रम बढ्दो छ । थोरै इनर्जी खपत गर्ने र मोटरको ‘लाइफ’ बढाउन डिजिटल इन्भर्टर जडान भएको मेशिन सामसुङले पछिल्लोपटक सार्वजनिक गरेको छ । यसमा प्रयोग गरिएको सेरामिक हिटरले कपडा धुने तथा १५ मिनेटको क्विक वासले बिजुली खपत कम गर्ने र मेशिनको टिकाउपन बढाएको छ । बटन थिचेपछि लुगा धुने, सुकाउनेसम्मका काम सम्पन्न गरिदिने स्वचालितदेखि यात्रामा बोकेर लैजान मिल्ने पोर्टेबल वाशिङ मेशिन अहिले ग्राहकको रोजाइमा पर्न थालेका छन् । यूरोप, अमेरिकालगायत देशमा अर्धस्वचालित वाशिङ मेशिन पूर्णस्वचालित मेशिनको आगमनसँगै विस्थापित हुने अवस्थामा पुगिसकेको छ । यी देशमा पोर्टेबल वाशिङ मेशिन आइसके पनि नेपालमा भने अझै सहज उपलब्ध हुन सकेको छैन । यद्यपि, पछिल्लो समय नेपालमा नयाँ र सुविधायुक्त प्रविधिको प्रयोग बढ्दै गएको छ । अहिले ‘पञ्चवास सिष्टम’का आफै समय र तापक्रम निर्धारण गर्ने सुविधाका वाशिङ मेशिनसमेत बजारमा उपलब्ध छन् । हाल बजारमा पूर्णस्वचालित र अर्धस्वचालित गरी दुई किसिमका वाशिङ मेशिन उपलब्ध छन् । पूर्णस्वचालित वाशिङ मेशिनबाट धोएका कपडाहरू ९० प्रतिशतसम्म सुकेका हुन्छन् । यस प्रविधिमा मेशिनले आवश्यकताअनुसार प्रयोग गर्ने भएकाले पानी बढी चाहिन्छ । स्वचालित वाशिङ मेशिनले कपडाको प्रकृतिअनुसार आफै धुने र आवश्यक परे पानी तताएर मैलो हटाउने गर्छ । अर्धस्वचालित वाशिङ मेशिनको तुलनामा यसको मूल्य केही महँगो हुन्छ । पूर्णस्वचालित मेशिन टपलोड (अगाडिबाट कपडा हाल्ने) र फ्रण्टलोड (माथिबाट कपडा हाल्ने) गरी दुई मोडलमा उपलब्ध छन् । टपलोडभन्दा फ्रण्टलोड आधुनिक प्रविधि भएकाले यसको बजारमूल्य बढी छ । अर्धस्वचालित वाशिङ मेशिनमा लुगा धोइसकेपछि त्यसलाई पखाल्न अर्कै भाँडोमा हाल्नुपर्ने हुन्छ । घरायसी प्रयोजनमा अर्धस्वचालित मेशिनको प्रयोग बढी हुने गरेको छ । शुरूमा विद्युतीय चुम्बकीय प्रणालीको प्रविधिमा आधारित मेशिनहरू प्रयोगमा भए पनि अहिले माइक्रो चिप्सयुक्त डिजिटलाइज्ड वाशिङ मेशिन प्रयोगमा आउन थालिसकेका छन् ।

वाशिङ मेशिनको सङ्क्षिप्त इतिहास
सन् १७५७ मा पहिलोपटक वाशिङ मेशिनको प्रारूप तयार भएको थियो । ‘स्क्रब बोर्ड’ भनिने प्रारूपलाई वाशिङ मेशिन विकासको पहिलो पाइला मानिएको छ । वाशिङ मेशिन विकासको श्रेय अमेरिकाका जेम्स किङलाई जान्छ । उनले पुरानो मेशिनलाई ड्रममा जडान गरी हातको शक्तिले चलाउन सकिने वाशिङ मेशिन निर्माण गरेका हुन् । जेम्स किङले सन् १८५१ मा अमेरिकाबाट पहिलो वाशिङ मेशिनको ‘पेटेण्ट राइट’ लिएका थिए । तर, त्यो त्यति प्रयोगमा आउन सकेन । सन् १८५८ मा पहिलोपटक घुम्ने वाशिङ मेशिनको विकास भयो । ह्यामिल्टन स्मिथले यसको ‘पेटेण्ट राइट’ लिएका हुन् । सन् १८७४ मा विकास गरिएको वाशिङ मेशिनले लुगाबाट फोहोर निकाल्न सफल भएको थियो । यो वाशिङ मेशिनलाई ह्यामिल्टनले आफ्नी श्रीमतीलाई जन्मदिनका अवसरमा उपहार दिएका थिए । यी सबै वाशिङ मेशिन परम्परागत र घरायसी प्रयोगमा मात्र सीमित बन्न पुगे ।

सन् १९०८ मा बनेको ‘थोर’ भनिने वाशिङ मेशिन विद्युत्बाट चल्ने पहिलो मेशिन थियो । हर्ली मेशिन कम्पनी सिकागोले निर्माण गरेको यो वाशिङ मेशिनमा ड्रम र भित्रबाट खिया नलाग्ने रङ लगाइएको ट्युब जोडिएको थियो । यस मेशिनलाई चलाउन विद्युतीय मोटरको प्रयोग गरिएको थियो । सन् १९१० मा अल्बा जे फिसरले यसको ‘पेटेण्ट राइट’ लिएका हुन् । यस्तो प्रक्रियाबाट विकास भएको वाशिङ मेशिनमा कपडा सुकाउने ड्रायरसमेत जोडिएको हुन्छ । ड्रायरको विकास सन् १८०० को शुरूतिर बेलायतमा भएको हो । त्यस्तै, ‘विद्युतीय क्लोथ ड्रायर’को विकास सन् १९१५ तिरबाट भएको उल्लेख छ ।

फज्जी लजिकमा आधारित वाशिङ मेशिन
वाशिङ मेशिनको निर्माण फज्जी लजिकमा आधारित हुन्छ । फज्जी लजिकले गणितीय सूत्रमा आधारित भई सेन्सरका माध्यमबाट काम गर्छ । सेन्सरकै माध्यमबाट यसले कपडाको वजनका आधारमा आवश्यकताअनुसार उपयुक्त विकल्प छनोट गर्छ । यसले प्रयोगकर्ताले भन्दा छिटो लुगा धुने प्रक्रिया अपनाउँछ । मेशिनले लुगा धुन आवश्यक समय तथा पानीको मात्रासमेत पत्ता लगाउँछ । यसले ‘इफ देन (यसो भएमा कस्तो ?)’ सिद्घान्तमा आधारित भई काम गर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।