पाँच स्थानमा कृषि पर्यटन गाउँ स्थापना गरिँदै

Share News
काठमाडौं । कृषि पर्यटनको विकास तथा प्रवर्द्धनका माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यले देशका विभिन्न पाँच स्थानमा ‘कृषि पर्यटन गाउँ’ स्थापना गरिने भएको छ । त्यसका लागि सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुको पतले, उदयपुरको रौतामाई र नुवाकोटको ककनीमा कामसमेत शुरू भइसकेको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले बताएको छ । पछिल्लो समय मुलुकका थुप्रै स्थान ग्रामीण कृषि पर्यटन केन्द्रका रूपमा विकास हुन थालेका छन् । त्यससँगै ती क्षेत्रको भूगोल, कृषि र पर्यटनलाई जोडेर स्थानीय कृषक घरधुरीको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले त्यस्ता कृषि पर्यटन गाउँ स्थापना गर्न लागिएको हो । यसले रोजगारीका थप अवसर सृजना गरी गरीबी निवारणमा टेवा पुर्‍याउने मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताए । यस्ता गाउँ स्थापनाका लागि प्रतिगाउँ रू. २५ लाख सरकारी अनुदान दिइने छ भने सोही परिमाणमा स्थानीय घरधुरीले लगानी गर्नुपर्ने छ । सहप्रवक्ता सापकोटाका अनुसार प्रत्येक गाउँमा १० देखि १५ घर परिवार समेटिने छन् । पाँचै स्थानमा गरी ७५ घरधुरीको सहभागितामा ‘अग्र्यानिक कृषि पर्यटन स्थापना कार्यक्रम सञ्चालन’का लागि प्रस्ताव छनोट भई काम पनि शुरू भइसकेको छ । चालू आर्थिक वर्षको वार्षिक विस्तृत कार्यक्रममा पनि निजीक्षेत्रसँगको साझेदारीमा प्रतिस्पर्धामा आधारित अग्र्यानिक कृषि पर्यटन गाउँ (अग्र्यानिक भिलेज) स्थापनाका लागि ५० प्रतिशत अनुदान दिने उल्लेख भएको उनले स्पष्ट पारे । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयअन्र्तगतको तरकारी विकास निर्देशनालयले ‘कृषि पर्यटन प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४’ लागू गरेको मन्त्रालयले बताएको छ । मुख्यतः प्राकृतिक, दिगो तथा जैविक कृषिमा आधारित भई ग्रामीण जीवन, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय समुदायलाई आर्थिक एवम् सामाजिक रूपमा लाभ प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यविधिमा उल्लेख छ । कार्यक्रमअन्तर्गत कृषि पर्यटन प्रवर्द्धन गरिने गाउँ, टोल परिसरको सरसफाइ, सुधार, सौन्दर्यकरणका लागि वृक्षरोपण, फूलरोपणजस्त कार्य गरिने छन् । यस्तै जैविक विविधता झल्कने पार्क र पहुँच सडक निर्माणका अतिरिक्त बाटोको स्तरोन्नति पनि गरिने कार्यविधिमा उल्लेख छ । यसबाहेक सडक सुधार, सडक बत्ती जडान, प्रवेशद्वार तथा स्वागतद्वार निर्माण, कृषि पर्यटनमा संलग्न कृषक घरधुरीको आन्तरिक तथा बाह्य रूपमा आवास सुधारका कामहरू पनि कार्यक्रमअन्तर्गत गरिने छन् । यस्ता पर्यटन गाउँमा आबद्ध घरधुरीले कृषि र पशुपक्षीसँग सम्बन्धित विभिन्न कार्यहरूका साथै कला र संस्कृतिको संरक्षणका लागि एक केन्द्र पनि सञ्चालन गर्नसक्ने छन् । त्यस्तो केन्द्रमा बाद्यवादन सामग्री, गीतसङ्गीत र मौलिक पहिरनहरू राखी सङ्ग्रहालयको रूप दिइनेछ । कृषि पर्यटन गाउँको छनोट फरक कृषि उपज, फरक वातावरण, फरक मौलिक संस्कृति तथा वेशभूषा समेट्ने गरी गरिएको छ । स्थानीय स्तरमा उपलब्ध वस्तुको प्रयोग र रैथाने संस्कृति झल्किने गरी गाउँ निर्माण गरिने पनि मन्त्रालयले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।