आधुनिक अर्थतन्त्रमा फलाम तथा स्टील विकासको अभिन्न अङ्ग बनेको छ । कुनै पनि देशका मानिसको सामाजिक आर्थिक विकास र जीवनस्तरको मापन गर्न उनीहरूले गर्ने फलाम तथा स्टीलको खपतलाई पनि आधार मान्न थालिएको छ । छडको अधिक प्रयोग निर्माण परियोजना, रियल इस्टेट र व्यक्तिगत घर निर्माणमा हुन्छ । छड मुख्य दुई प्रकारका हुन्छन् । तिनीहरूलाई टीएमटी र सीटीडी बार (टोरस्टील) गरी वर्गीकरण गरिएको छ । टीएमटीलाई नयाँ प्रविधिमा आधारित छड मानिन्छ । सीटीडी भने पुरानो प्रविधि (आउटडेटेड)मा आधारित टोरस्टील छड हो । विश्वका धेरै मुलुकबाट हराइसकेको यो प्रविधि नेपालमा एउटा मात्र उद्योगले प्रयोग गरिरहेको छ । टीएमटी छडको ग्रेड ५ सय हुन्छ । त्यसैले, यसलाई बढी शक्तिशाली र लचकदार मानिन्छ । कुनै पनि विकास परियोजनामा यो छड अनिवार्यजस्तै भइसकेको छ । तर, टोरस्टील छडको ग्रेड भने ४ सय १५ मात्र हुन्छ । यसकारण यो टीएमटी छडभन्दा कम गुणस्तरको मानिन्छ ।
टीएमटी छड
‘थर्मो मेकानिकल्ली ट्रिटेड’ छडलाई छोटकरीमा टीएमटी छड भनिन्छ । धातुविज्ञानमा आधारित भएर विभिन्न प्राविधिक चरण पार गरेपछि मात्र टीएमटी छड तयार हुन्छ । टीएमटी छड तयार गर्न यसलाई कडा र ताप सहने क्षमताको बनाइन्छ । यसप्रकारका छड उत्पादनका लागि ‘क्वेञ्चिङ एण्ड टेम्परिङ प्रविधि’ अपनाइएको हुन्छ । ‘क्वेञ्चिङ’ प्रक्रियाले छडलाई शक्तिशाली बनाउन सहयोग गर्छ । टीएमटी छड तयार गर्न विभिन्न चरण पार गर्नुपर्छ । सबैभन्दा पहिला स्टील बिलेट (कच्चापदार्थ भट्टीमा हालेर उच्च तापक्रममा तताइन्छ । त्यसपछि विस्तारै निश्चित आकारमा परिवर्तन गरिन्छ र पानीमा डुबाइन्छ । यसले गर्दा फलाम सङ्कुचित भई त्यसले निश्चित आकार लिन्छ । लगत्तै प्राविधिक रूपमा तापक्रम नियन्त्रण गरेर छडको ‘मेकानिकल’ गुणहरू ठीक ठाउँमा राख्ने काम हुन्छ । छडको बाहिरी सतह चिसो भइसकेपछि यसको केन्द्र (भित्री भाग) मा रहेको ताप पनि बाहिर निकाल्ने काम गरिन्छ । अन्त्यमा विस्तारै छडलाई चिसो बनाउने ‘कूलिङ बेड’मा राख्ने काम हुन्छ ।
टोरस्टील छड (सीटीडी)
कङ्क्रिट बलियो बनाउन सीटीडी छडको प्रयोग गरिन्छ । यसलाई ‘कोल्ड ट्वीटेड डिफर्म’ स्टील बार पनि भनिन्छ । यस किसिमका छडलाई मागअनुसार उत्पादन कम्पनीले तयार गर्ने गर्छ । टीएमटी छडको तुलनामा टोरस्टील छड बनाउने प्रविधि पुरानो मानिन्छ । साथै, खिया लाग्ने सम्भावना पनि बढी हुन्छ । अहिले यसप्रकारको फलामे छड उत्पादन गर्ने कम्पनीको सङ्ख्या विश्वमै घट्दो क्रममा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।