फलामे छडमा आत्मनिभर्र उन्मुख

Share News

केही ठूला परियोजनाबाहेकका विकास निर्माणका कामका लागि आवश्यक छडमा नेपाल आत्मनिर्भर भएको छ । सबै उद्योगले वार्षिक कुल ५ लाख मेट्रिक टन फलामे छड उत्पादन गरिरहेका छन् । त्यसमध्ये ८२ देखि ९० प्रतिशत छड खपत हुने गरेको छ । अहिलेसम्म नेपालमा उत्पादित ७० प्रतिशत छडको प्रयोग व्यक्तिगत घर निर्माण र रियल इस्टेट क्षेत्रमा भइरहेको अम्बे स्टीलका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरि न्यौपाने बताउँछन् । तर, विकास निर्माणले गति लिने हो भने यसको क्षेत्र विस्तार हुँदै जाने उनको भनाइ छ ।

हाउजिङ, अपार्टमेण्टलगायत कङ्क्रिटका भवन, जलविद्युत् तथा पुल निर्माणमा फलामे छडको खपत धेरै हुने गरेको छ । हालसम्म नेपालमा ३० भन्दा बढी फलामे छड उद्योग दर्ता भएको तथ्याङ्क छ । यद्यपि, यसमध्ये करीब १३ ओटा कम्पनी चालू अवस्थामा छन् । पञ्चकन्या, हिमाल, हामा, जगदम्बा, अम्बे, लक्ष्मी, एभरेष्ट, अशोक, एभरेष्ट, पशुपति आइरन र साखः स्टील सञ्चालनमा रहेका केही ठूला उद्योग हुन् । प्रायः सबै उद्योगले फलामे छडको विक्रीमूल्य दैनिक पत्रपत्रिकामा प्रकाशित गर्ने गरेका छन् । केही उद्योगले पत्रिकामा प्रकाशित गरेको मूल्य र वास्तविक विक्रीमूल्यमा फरक परेका कारण ग्राहकहरू मारमा परिरहेको कतिपय व्यवसायीहरूको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थाले भवन निर्माणमा ऋण प्रवाह गर्न गरेको कडाइ र लोडशेडिङको समयमा भइरहेको वृद्धिले पनि फलामे छडको खपतमा उल्लेख्य सुधार आउन नसकेको उनीहरूको भनाइ छ ।

नेपालमा फलामे छड ८ देखि ३२ मिलिमिटरसम्मको आकारमा उत्पादन हुने गर्छ । यीमध्ये २० देखि ३२ मिमि साइज रडको प्रयोग मेगा परियोजना निर्माणका लागि गरिन्छ । यस्ता योजनाहरूमा जलविद्युत्, पुल, सुरुङलगायत पर्छन् । त्यस्तै, हाउजिङ निर्माणमा २० मिलिमिटरका छडको अधिक प्रयोग गरिन्छ । व्यक्तिगत घर निर्माणमा भने ८ मिलिमिटरका छडको प्रयोग बढी हुने गरेको छ । अन्य पूर्वाधारको निर्माणमा १०, १२, १६ मिमिका छडको प्रयोग बढी हुन्छ । तर, व्यक्तिको रोजाइ र चाहनाले पनि छडको प्रयोगमा प्रभाव पार्ने व्यवसायीहरूको भनाइ छ ।

विगतका वर्षमा सीटीडी बार (टोर स्टील) मात्र उत्पादन हुने गथ्र्या । तर, २०५९ सालदेखि थर्मेक्स प्रविधिबाट टीएमटी छडको उत्पादन हुन थालेको छ । नेपालमा सबैभन्दा पहिले थर्मेक्स प्रविधिबाट फलामे छडको उत्पादन पञ्चकन्या स्टीलले शुरू गरेको हो । हाल प्रायः सबै उद्योगले टीएमटी फलामे छड उत्पादन गरिरहेको साखः स्टील इण्डष्ट्रिजका मार्केटिङ म्यानेजर गजेन्द्र वज्राचार्य बताउँछन् । टीएमटी फलामे छड उच्च गुणस्तर, लचकदार, शक्तिशाली, खिया नलाग्ने र भूकम्प प्रतिरोधात्मक भवन बनाउन उपयोगी हुन्छ । नेपालमा फलामे छड उत्पादनका लागि नेपाल गुणस्तर (एनएस) चिह्न अनिवार्य लिनुपर्ने व्यवस्था छ ।

मुख्य कच्चापदार्थ
नेपालमा फलामे छड उत्पादनका लागि आवश्यक कच्चापदार्थ ‘फलामे ब्लेड’ भारतबाट आयात हुने गरेको छ । हाल भारतको स्टील अथोरिटी अफ इण्डिया (एसएआईएल) र टाटा स्टीलसँगै अन्य कम्पनीहरूबाट समेत फलामे ब्लेड आयात हुने गरेको साखः स्टीलका मार्केटिङ म्यानेजर वज्राचार्यले बताए । छड उत्पादनका लागि मुख्य कच्चापदार्थ ‘एमएस ब्लेड’ हो । यो ब्लेड दुई किसिमबाट बनाउने गरिन्छ । सीधै खानीबाट फलामे धाउ निकालेर बनाइने ब्लेडलाई ‘प्राइम ब्लेड’ भनिन्छ । त्यस्तै, पत्रु एवम् कवाडी फलामे अवशेषहरू पेलेर बनाइने ब्लेडलाई ‘इनगट ब्लेड’ भनिन्छ । विशेषगरी प्राइम ब्लेडमा कार्बन, सल्फर र फस्फोरसजस्ता तइभ्व सन्तुलित मात्रामा मिसाइने हुँदा यसबाट बन्ने फलामे छडहरू उच्च गुणस्तर र सुरक्षित हुन्छन् । तर, दोस्रो स्रोतबाट उत्पादन गरिने ब्लेडमा उपरोक्त मिश्रणहरू सन्तुलित मात्रामा नहुने र अनावश्यक पदार्थको मिश्रण हुने सम्भावना बढी रहन्छ । त्यसकारण ‘इनगट ब्लेड’बाट बन्ने फलामे छड पूर्ण रूपमा सुरक्षित एवम् गुणस्तरीय नहुन सक्छन् ।

टीएमटीमा आकर्षण
फलामे छड उद्योगहरू टोरस्टीलबाट टीएमटी छडतर्फ आकर्षित भएका छन् । हाल अधिकांश उद्योगले टीएमटी छड उत्पादन गर्न थालेका छन् । पञ्चकन्या, हामा, एभरोल, लक्ष्मी, अम्बे, जगदम्बा टीएमटी छड उत्पादन गर्ने केही उद्योग हुन् । हाउजिङ र ठूला प्रोजेक्टहरूले टीएमटी छडको प्रयोग बढाएका छन् ।

निर्यातको सम्भावना छैन
नेपालबाट फलामे छड निर्यात गर्न सकिने सम्भावना नभएको व्यवसायीहरू बताउँछन् । छड बनाउन आवश्यक कच्चापदार्थ भारतबाट आयात गर्ने गरिएको छ । कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा उत्पादित छडको उत्पादन लागत धेरै पर्न जान्छ । त्यसैले पनि त्यो भारतमा उत्पादन भएको छडसँग प्रतिस्पर्धा गर्न नसक्ने न्यौपानेको भनाइ छ ।

उद्योगका समस्या
फलामे छड उत्पादनको प्रमुख समस्या विद्युत् अभाव हो । तर, छड उत्पादनमा साधारण वा मध्यमस्तरको जेनेरेटरले हुँदैन । धेरै ठूलो क्षमताको जेनेरेटर चाहिन्छ, जुन उद्योगले खरीद गर्न गाह्रो पर्छ । फेरि यस्ता जेनेरेटर डिजेलबाट सञ्चालन गरिन्छ । यसले लागतमा वृद्धि गर्छ । हाल विद्युत् आपूर्ति १० घण्टा मात्र छ । त्यसमा पनि बीचबीचमा ट्रिपिङ (एक्कासि प्रवाहमा आउने रोकावटले विद्युत् बन्द) हुने गरेको छ । यसले काम गरिरहेका मेशिन बिग्रने, भित्र नै सामान अड्कने र क्षति पुग्ने गर्छ । यो समस्या समाधान गर्न छड उद्योगका लागि छुट्टै विद्युत् लाइनको पनि व्यवस्था गर्न सकिन्छ । त्यस्तै, दक्ष जनशक्तिको अभाव पनि यस क्षेत्रको अर्को जल्दोबल्दो समस्या हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।