क्षमताको आधा मात्र उत्पादनमै फलामे छडमा आत्मनिर्भर

Share News

फलामे छड तथा स्टील उद्यागहरूले क्षमताको आधा मात्र उत्पादन गर्दा पनि नेपाल फलामे छडमा आत्मनिर्भर बनेको छ । हाल विशेष खालका परियोजनाका अतिरिक्त अन्य सम्पूर्ण निर्माण कार्यका लागि आवश्यक छडको माग नेपाली उद्योगहरूले नै पूरा गरेका छन् । सम्पूर्ण उद्योगले गरेर नेपालमा वार्षिक ५ लाख टन फलामे छड उत्पादन गर्छन् । साथै, बिजुली र जनशक्तिको समस्या नहुने हो भने यो उत्पादन बढाएर १० लाख टनमा पुर्‍याउन सकिने सम्भावना भएको व्यवसायीहरू बताउँछन् ।

हाल उद्योगहरूले क्षमताको ५० प्रतिशत मात्र उत्पादन गरिरहेको हामा आइरन एण्ड स्टील इण्डष्ट्रिज प्रालिका नायव महाप्रबन्धक राजुकुमार थापाको भनाइ छ । यस कुरासँग साखः स्टील इण्डष्ट्रिजका मार्केटिङ म्यानेजर गजेन्द्र वज्राचार्य पनि सहमत छन् । त्यस्तै अहिले आफुहरूले कुल उत्पादनको ५० देखि ६० प्रतिशत मात्र डण्डी उत्पादन गरिरहेको अम्बे स्टीलका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरि न्यौपाने बताउँछन् ।

उद्योगहरूको उत्पादन क्षमता नेपाली बजारको मागभन्दा धेरै छ । उद्योगहरूले क्षमताको आधा मात्र उत्पादन गर्दा पनि सबै उत्पादन विक्री हुन सकेको छैन । हाल भइरहेको कुल उत्पादनको करीब ८२ देखि ९० प्रतिशत छड मात्र खपत हुने गरेको न्यौपानेको भनाइ छ । फलामे छडको विक्रीमा कम्पनीहरूबीच मूल्यमा तीव्र प्रतिस्पर्धा रहेको वज्राचार्यको भनाइ छ । उपत्यकामा निजी घर बन्न कम भएको तथा ठूला हाउजिङ पनि उल्लेख्य मात्रामा नबनेकाले यस वर्ष फलामे छडको विक्री ३० प्रतिशतले घट्ने उनले बताए । उपत्यका बाहिर भने यहाँको तुलनामा छडको खपत सन्तोषजनक रहेको उनले जानकारी दिए । बजेट समयमा नआएको, बैङ्कहरूले घरजग्गाको ऋणमा कडाइ गरेको र राजनीतिक अस्थिरताले यस वर्ष छडको विक्रीमा २५ प्रतिशतले कमी आउने राजुकुमार थापा बताउँछन् ।

नेपालबाट फलामे छड निर्यात गर्न सकिने सम्भावना नभएको व्यवसायीहरूको भनाइ छ । कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा उत्पादन भएको छडको उत्पादन लागत धेरै पर्न जान्छ । त्यसैले, नेपाली छडले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । निर्यातको सम्भावना नभएपछि उद्योगीहरू स्वदेशी बजारमा मात्र भर पर्नुको विकल्प नरहेको वज्राचार्यको भनाइ छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।