एनिमेशन तस्वीरहरूको निरन्तर संयोजनबाट विकासित हुने चलायमान अवस्थाको प्रस्तुति हो । यसमा विभिन्न तस्वीरहरूलाई एकअर्कामा जोडेर गतिशील बनाइन्छ । वास्तवमा त्यो गति आँखाको भ्रम हो । आँखाको भ्रमले गर्दा नै त्यसको गतिशीलता अनुभव गर्न सकिन्छ । तस्वीरबाट एउटा पूर्ण एनिमेशन बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ ।
कल्पना मात्र गर्न सकिने विषयलाई सचित्र देख्न पाउँदा कस्तो अनुभूति हुन्छ ? अझ त्यही कल्पना कथाशैलीमा अगाडि बढ्दै छ र त्यसलाई तपाईं खेलका रूपमा पाउनुभयो भने कस्तो महसूस गर्नुहुन्छ ? पक्कै, यस्तो आनन्दका लागि शब्दको वर्णन पर्याप्त नहुन सक्छ । यस्तै रमाइलो र आनन्दको अनुभूति गराउने एनिमेशन प्रविधिले पछिल्लो समय टेलिभिजन तथा थ्रीडी चलचित्रका रूपमा प्रभाव विस्तार गर्दै छ । खर्च तथा जनशक्तिका हिसाबले पनि एनिमेशनको प्रयोग राम्रो माध्यमका रूपमा विकास भइरहेको माया एनिमेशन एकेडेमीका प्रबन्ध निर्देशक इन्द्र बलामी बताउँछन् ।
नेपालमा सञ्चालित एनिमेशन एकेडेमीहरू
– ब्ल्याक बक्स एनिमेशन एण्ड भीएफएक्स एकेडेमी
– माया एनिमेशन एकेडेमी
– रेन मेकर्स एनिमेशन एकेडेमी
– एक्लिप्स एनिमेशन एकेडेमी
– इन्सेसेण्ट रेन एनिमेशन स्टुडियोज
विकसित देशहरूमा धेरै अघिदेखि प्रयोगमा आइसकेको एनिमेशन नेपालको सन्दर्भमा नौलो प्रचलन हो । हुन त एक दशक अघिदेखि नै नेपालमा एनिमेशनको प्रयोग शुरू भइसकेको थियो । तर, व्यक्तिगत प्रयोजनका लागि मात्र त्यस्ता एनिमेशनको प्रयोग गरिँदा यसको प्रभाव निश्चित दायराभित्र मात्र सीमित थियो । तर, अहिले यस्ता एनिमेशनको व्यावसायिक रूपमै प्रयोग गर्ने बानीको विकास भएको बलामीको भनाइ छ । माया एनिमेशनले निर्माण गरेको मारुती सिमेण्टको एनिमेटेड विज्ञापन अहिले विभिन्न टेलिभिजनमार्फत प्रसारण भइरहेको छ । यसबाहेक विभिन्न एनिमेशन एकेडेमीमा विद्यार्थीको उत्साहप्रद सहभागिताले नेपालमा यसको सकारात्मक व्यावसायिक भविष्यलाई पनि सङ्केत गरेको बुझ्न सकिन्छ । अहिले नेपालमा सञ्चालित विभिन्न पाँचओटा एनिमेशन एकेडेमीले यससम्बन्धी तालीम दिइरहेका छन् । नेपालमा एनिमेशनसम्बन्धी एडभान्स कोर्स पूरा गर्न औसत २ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । यस्तो कोर्स अध्ययन गरेका व्यक्तिले मासिक औसत ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बलामीले बताए । एनिमेशनको प्रयोगले सोचलाई चित्रमा बदल्न सक्ने भएकाले पनि यसको फरक विशेषता रहेको ब्ल्याक बक्स एनिमेशनका प्रमुख कार्यकारी अधिकृत सुयोग्य तुलाधर बताउँछन् । ‘एनिमेशनले मानिसको संवेदनालाई चित्रमा तयार गर्न सहयोग पु¥याउँछ,’ उनले भने । समय बचतको दृष्टिकोणले एनिमेशनको प्रयोग अत्यन्त राम्रो मानिन्छ । छोटो समयमा आफूले तयार गरेको विषयवस्तुमा त्यसको सचित्र वर्णन गर्न एनिमेशन प्रयोग गरेको पाइन्छ । विज्ञापन, चलचित्र तथा भिडियो गेम निर्माण गर्न एनिमेशनको बढी प्रयोग हुने रेन मेकर्स एनिमेशनका प्रबन्ध निर्देशक तापस जोशीले जानकारी दिए ।
आउटसोर्सिङमा निर्भर
नेपालमा एनिमेशनको प्रमुख व्यावसायिक आधार भनेको आउटसोर्सिङ (विदेश निर्यात) नै हो । नेपालमा अझै पनि एनिमेशनको पर्याप्त जानकारी नभएकाले आउटसोर्सिङमै निर्भर रहनुपरेको ब्ल्याक बक्सका तुलाधरको भनाइ छ । उनी भन्छन्, ‘आन्तरिक बजारलाई मात्र लक्षित गरेर एनिमेशनमा लगानी गर्न सक्ने अवस्था छैन ।’ समान गुणस्तरसहित कम खर्चमा उपलब्ध हुने भएकाले विदेशीहरू नेपाली एप्लिकेशनमा आकर्षित भएको एकेडेमी सञ्चालकहरू बताउँछन् । ‘विदेशमा १ हजार डलर लाग्ने कुनै एनिमेशन नेपालमा बढीमा २ सय डलरमा खरीद गर्न सकिन्छ,’ तुलाधरले भने । नेपालका सबै एनिमेशन एकेडेमी अन्तरराष्ट्रिय बजारलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको छ । आन्तरिक बजारमा ठूला लगानीकर्ता भित्रिन नसकेको तथा एनिमेशनका लागि खर्च गर्ने मान्यता नरहेकाले पनि नेपाली एनिमेशन निर्माणकर्ता आउटसोर्सिङमा निर्भर रहनुपरेको हो । यद्यपि, एनिमेशनसम्बन्धी जनचेतना बढ्दै गएमा आन्तरिक बजारमै एनिमेशनको खपत हुन सक्नेमा सञ्चालकहरूको विश्वास छ ।
यसरी बन्छ एनिमेशन
एनिमेशन तस्वीरहरूको निरन्तर संयोजनबाट विकासित हुने चलायमान अवस्थाको प्रस्तुति हो । यसमा विभिन्न तस्वीरहरूलाई एकअर्कामा जोडेर गतिशील बनाइन्छ । वास्तवमा त्यो गति आँखाको भ्रम हो । आँखाको भ्रमले गर्दा नै त्यसको गतिशीलता अनुभव गर्न सकिन्छ । तस्वीरबाट एउटा पूर्ण एनिमेशन बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । एनिमेशन बनाउन सर्वप्रथम विषयवस्तुको छनोट महŒवपूर्ण कुरा हो । चलचित्र, विज्ञापन, भिडियो गेम अथवा अन्य कुन उद्देश्यका लागि एनिमेशन बनाउन लागिएको त्यसमा स्पष्ट हुनुपर्छ । सोही आधारमा चित्र तयार गरिन्छ । कम्प्युटरमा सीधै चित्र बनाउन मिल्ने भए पनि प्रायः कलाकारले कापीकलमकै माध्यमबाट चित्र तयार गर्छन् । यसरी बनाइएको चित्रलाई चाहनाअनुसार फेरबदल गर्न सकिने भएकाले सजिलो हुन्छ । चित्र बनाउने क्रममा नै त्यसको पृष्ठभूमिबारे स्पष्ट हुनुपर्छ । त्यसपछि सो चित्रलाई कम्प्युटर प्रणालीमा लैजाने गरिन्छ । यसलाई डिजिटलाइज प्रोसेस पनि भनिन्छ ।
विशेषगरी फोटोशपमा त्यस्तो चित्रलाई उतार्ने गरिन्छ । जुन सफ्टवेयरमा सो चित्रलाई राख्ने गरिन्छ, त्यसलाई डिजिटल स्टोरी बोर्ड भनिन्छ । सोही स्टोरी बोर्डमै चित्रमा गर्नुपर्ने परिवर्तन, मुख्य पात्र तथा पृष्ठभूमिमा गर्नुपर्ने अन्तिम परिवर्तन गर्न सकिन्छ । स्टोरी बोर्डमा तयार गरिएको अन्तिम रूपलाई यसपछि एनिमेशनसँग सम्बन्धित सफ्टवेयरमा रिप्लेस (स्थानान्तरण) गरिन्छ । अहिले नेपालमा माया, थ्रीडी म्याक्स, एडोब प्रिमियर, एडोब आफ्टर इफेक्ट्स, न्यूकलगायत सफ्टवेयर बढी प्रचलनमा छन् । सफ्टवेयरअनुसार त्यसको भिजुअल इफेक्ट, टुल बार तथा सुविधा पनि फरकफरक हुन सक्छ ।
यस्ता सफ्टवेयरमा स्टोरी बोर्डमा तयार गरिएको डिजाइनलाई थ्री डाइमेन्सन (थ्रीडी)मा बदल्ने गरिन्छ । थ्रीडीमा बदलिएको चित्रलाई सफ्टवेयरका माध्यमबाट क्यारेक्टर प्लेसमेण्ट, रिगिङ सेटअप, लाइटिङ टेष्ट, टेक्सचरिङ क्लोथिङलगायत काम गरिन्छ । यसलाई मोडलिङ प्रोसेस भनिन्छ, अर्थात् मुख्य पात्र तथा पृष्ठभूमिको सजावट गर्ने प्रक्रिया । मोडलिङ प्रोसेसमा स्क्रिप्टअनुसारको पात्र तथा पृष्ठभूमिलाई अगाडि बढाउने काम गरिन्छ । मोडलिङ प्रोसेसपछि यसलाई रेण्डरिङ गरिन्छ । रेण्डरिङ तयार भएका सबै सामग्रीलाई एकपछि अर्को तस्वीरको सम्बन्ध देखिने गरी तयार गरिएको एनिमेशनको अन्तिम रूप हो । यो प्रक्रिया सकिएपछि एउटा पूर्ण एनिमेशन तयार हुन्छ । तयार भएको एनिमेशनमा कुनै परिवर्तन गर्नुपरेमा सफ्टवेयरको प्रयोग आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ । एनिमेशनमा स्टुडियोमार्फत आवाज दिन सकिन्छ, जुन एनिमेशन तयार भएपछि मात्र गरिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।