चल्तीका मोबाइल अपरेटिङ सिष्टम

Share News

स्मार्टफोन, ट्याब्लेट तथा अन्य डिजिटल मोबाइल उपकरणलाई सुचारु गर्न प्रयोग गरिने अपरेटिङ सिष्टमलाई मोबाइल अपरेटिङ सिष्टम भनिन्छ । आधुनिक मोबाइल ओएसहरूमा कम्प्युटर ओएसमा रहेका विशेषताका साथै टच स्क्रिन, ब्लुटूथ, वाइफाई, जीपीएस मोबाइल न्याभिगेशन, क्यामेरा, भिडियो क्यामेरा, स्पिच रेकग्निशन, भ्वाइस रेकर्डर, म्युजिक प्लेयर आदि समेत सजिलै सञ्चालन गर्न सक्ने क्षमतासहित बनाइएको हुन्छ ।

 

एप्पल इङ्कको आईओएस

एप्पलका आइफोन, आइप्याड, आइपोड टच तथा दोस्रो पुस्ताका एप्पलका टीभी सबैमा आईओएसको प्रयोग गरिएको हुन्छ । यसलाई म्याक ओएसएक्सको परिवर्तित रूप भन्दा फरक नपर्ला । सन् २०११ जुलाई ११ मा आईओएस २ दशमलव शून्य सार्वजनिक नगरेसम्म तेस्रो पक्षका एप्लिकेशनहरू यसमा आधिकारिक रूपमा चल्दैनथे । त्यसबेला जेलब्रेकिङ गरी यस्ता एप्लिकेशनको प्रयोग गरिन्थ्यो ।

 

गूगल इङ्कको एण्ड्रोइड

 एण्ड्रोइड इङ्कले निर्माण गरेको एण्ड्रोइड सन् २००५ मा गूगल इङ्कले खरीद गरेको हो । गूगलले यसको विकास समयसापेक्ष क्रमिक रूपमा गरेको हो । सन् २००७ मा सार्वजनिक गरिएपछि यसलाई प्रयोगकर्ताहरूले अत्यधिक रुचाएका थिए । २ दशमलव शून्यभन्दा अगाडि निकालिएका (१.०, १.५, १.६) एण्ड्रोइड विशेषगरी मोबाइलहरूमा प्रयोग गरिएका थिए । एण्ड्रोइड ट्याब्लेटहरूमा हाल २ दशमलव शून्य तथा यसका नयाँ समिकरणको प्रयोग भएको छ । एण्ड्रोइड ३ दशमलव शून्य ट्याब्लेटहरूका लागि विकास गरिएको हो । मोबाइलमा यसको आधिकारिक प्रयोग गरिएको छैन । एण्ड्रोइडका केही नयाँ समिकरणहरू मिठाइँ तथा डेजर्टहरूको नाममा पनि राखिएका छन् । जस्तै, कपकेक (१.५), फ्रोजन योगर्ट (२.२), हनिकम्ब (३.०), आइसक्रीम स्याण्डविच (४.०) आदि । अधिकांश मोबाइल सेवाप्रदायकले एण्ड्रोइडको प्रयोग गरेको पाइन्छ । एचटीसीको ड्रिम सार्वजनिक भएदेखि एण्ड्रोइड ओएसको प्रयोग गरिएका धेरै उपकरण सार्वजनिक भएका छन् । सन् २०११ नोभेम्बर १५ मा एण्ड्रोइडले ५२ दशमलव ५ प्रतिशत स्मार्टफोनको बजारहिस्सा ओगट्न सफल भएको थियो ।

 

विण्डोज ओएस

डेस्कटपको दुनियाँमा विश्वकै अग्रस्थानमा रहेको विण्डोज अपरेटिङ सिष्टम मोबाइल फोनमा पनि उपयुक्त स्थान बनाउने प्रयासमा छ । माइक्रोसफ्टले निर्माण गरेको यो ओएसको पछिल्लो संस्करण विण्डोज एट धेरै स्मार्टफोन निर्माणकर्ताले प्रयोग गर्न थालेका छन् । सन् २०१० मा निर्माण गरिए पनि सन् २०११ देखि मात्र मोबाइलमा विण्डोज ओएसको प्रयोग शुरू गरिएको हो । नोकिया, एचटीसी तथा सामसुङजस्ता विश्वप्रसिद्ध मोबाइल निर्माण कम्पनीले विण्डोज ओएसको प्रयोग गर्दै आएका छन् । 

 

ब्ल्याकबेरीको ब्ल्याकबेरी १०

ब्ल्याकबेरी १० लाई ब्ल्याकबेरी स्मार्टफोन तथा ट्याब्लेटका लागि एक मात्र ओएस भन्न सकिन्छ । यसलाई विगतमा ब्ल्याकबेरी बीबीएक्स भनेर चिनिन्थ्यो । यही ओएस मात्र ब्ल्याकबेरीका भविष्यमा निस्कने स्मार्टफोन तथा ट्याब्लेटमा प्रयोग हुने देखिन्छ ।

 

नोकियाको सिम्बियन ओएस

स्मार्टफोनको विश्वबजारमा सिम्बियनले सबैभन्दा बढी बजारहिस्सा ओगटेको छ । उत्तर अमेरिकन बजारमा भने अन्य कम्पनीका ओएसको तुलनामा यो पछि परेको छ । सिम्बियन एनटीटी डोकोमोसँगको सम्बन्धका कारण जापानमा यो बलियो स्थितिमा रहेको छ । ⋲याण्डसेट उत्पादक कम्पनीहरू जस्तै बेन्क्यू, फुजित्सु, एलजी, मित्सुबिसी, मोटोरोला, नोकिया, सामसुङ, शार्प तथा सोनी इरिक्शन आदिले सिम्बियनको प्रयोग आफ्ना उपकरणमा गर्ने गरेका छन् । हाल फुजित्सु, नोकिया, सामसङ, शार्प र सोनी इरिक्शनले समेत सिम्बियनमा आधारित उपकरणहरूको निर्माण गरिरहेका छन् । सन् २००९ भन्दा अगाडि यसले मल्टिपल युजर इण्टरफेस (यूआईक्यू)लाई समेत यूआईक्यू प्रविधिमार्फत सपोर्ट गथ्र्याे । नोकियाले अहिले सिम्बियनको जिम्मा एसेञ्चर कम्पनीलाई प्रदान गरेको छ । यसले सन् २०१६ सम्म यस ओएसका लागि काम गर्नेछ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।