अहिलेको नयाँ निर्देशिकाअनुसार तालीम दिन ठूलो तथा खुला स्थानको आवश्यकता पर्छ । छोटो अवधिमा नयाँ पाठ्यक्रममा उत्तीर्ण हुने स्तरको तालीम सेण्टर स्थापना गर्न नसकिने व्यवसायीहरू बताउँछन् ।
यातायात व्यवस्था विभागले नयाँ सवारी अनुमतिपत्रका लागि ल्याएको नयाँ नीतिप्रति ड्राइभिङ सेण्टरहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । नयाँ नीति अहिलेका लागि व्यावहारिक नभएको काठमाडौंमा सानो लगानीमा सञ्चालन भएका अधिकांश तालीम सेण्टरका सञ्चालकहरूको भनाइ छ । क्रिएटिभ ड्राइभिङ स्कूल रामशाह पथका सञ्चालक केशव आचार्य भन्छन्, ‘सवारीको ऐना प्रयोगसम्ममा परीक्षण लिने भन्ने कुरा अनियमितता गर्ने बाटो खुला राख्नु हो ।’ नयाँ व्यवस्थाअनुसार अगाडि–पछाडि तथा दायाँबायाँ हर्ने ऐनाको प्रयोग उचित तवरले नगरेमा वा परीक्षणमा स्टार्ट बन्द भएमा ट्रायलमा अनुत्तीर्ण हुन्छ । २०७० वैशाख १ देखि लागू हुने निर्देशिकाको पाठ्यक्रम पनि ढिला आएको तालीम केन्द्रका सञ्चालकहरू बताउँछन् ।
अहिलेको नयाँ निर्देशिकाअनुसार तालीम दिन ठूलो तथा खुला स्थानको आवश्यकता पर्छ । छोटो अवधिमा नयाँ पाठ्यक्रममा उत्तीर्ण हुने स्तरको तालीम सेण्टर स्थापना गर्न नसकिने उनी बताउँछन् । ट्रायलका विभिन्न चरण पार गर्न लाग्ने समय पनि उपयुक्त नभएको व्यवसायीहरू बताउँछन् । अहिलेको नियमअनुसार दुईपाङ्ग्रे सवारीका लागि पाँच मिनेट र चारपाङ्ग्रे सवारीसाधनका लागि १० मिनेट समय निर्धारण गरिएको छ । नयाँ निर्देशिकाअनुसार ल्याइएको अनुमतिपत्र परीक्षा प्रणालीप्रति यती ड्राइभिङ सेण्टर बालाजुकी सञ्चालिका पवित्रा बराल पनि सहमत छैनन् । विगत १५ वर्षदेखि सवारीसाधन तालीम दिँदै आएको उनी बताउँछिन् । ‘कानून बनाएर सरकारले घुमाउरो तरीकाले साना व्यवसायीलाई अवमूल्यन गरेको छ ।’ पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तालीमको लागत बढेको अवस्थामा नयाँ नियमले उपभोक्ता र व्यवसायी दुवैलाई मार पर्ने उनको भनाइ छ । त्यस्तै लाइसेन्स प्राप्त गर्न एसएलसी उत्तीर्ण हुनुपर्ने नियमले कम आय भएका जनतालाई झन् मारमा पार्ने काम भएको बा १ ज ९१२ नंका ट्याक्सी चालक सुशील लामिछाने बताउँछन् । उनी भन्छन्, ‘एसएलसी पास गर्नुपर्ने न्यूनतम योग्यताले धेरैको आयआर्जनको बाटो नै समाप्त हुन्छ ।’ तर, यातायात व्यवस्था विभागका निर्देशक देवीराम भण्डारी भने नयाँ नियमले कसैलाई असर नगर्ने बताउँछन् । उनी भन्छन्, ‘सार्वजनिक सवारी चालकमा बढी जिम्मेवारीबोध आवश्यक पर्ने भएकाले यो व्यवस्था गर्न लागिएको हो ।’ ३ वर्ष अनुभव प्राप्त आठ कक्षा उत्तीर्णलाई पनि सार्वजनिक सवारी अनुमतिपत्र दिने व्यवस्था गरिएको उनले जानकारी दिए । स्याकार कम्पनीले सञ्चालन गर्दै आएको स्याकार सेफ्टी राइडिङ सेण्टर भने नयाँ परिवर्तन गर्न लागिएको व्यवस्था कार्यान्वयनको पक्षमा रहेको छ । सुरक्षित जीवनका लागि कुशल चालक हुनुपर्ने र व्यवहारमै लागू नभई नयाँ व्यवस्थाको विरोध गर्न नुहुने प्रमुख प्रशिक्षक मन्दीप रेग्मी बताउँछन् ।
निर्देशिकामा के छ ?
सरकारले ल्याएको सवारी अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को सङ्क्षिप्त झलक
शीप र ज्ञानको परीक्षण गरिने विषय
- सवारीसाधन स्टार्ट गर्नुअघि, स्टार्ट गर्दा, अगाडि बढाउँदा तथा ओभरटेक लिँदा आवश्यक ज्ञान तथा शीप
- सवारी सङ्केत, ऐना तथा अन्य ट्राफिक सङ्केत उपकरणको प्रयोगसम्बन्धी ज्ञान
- दायाँ र बायाँ कुनातर्फ सुरक्षित मोड्ने क्षमता
- पैदल यात्रुले बाटो काट्ने जेब्राक्रसिङमा गरिने व्यवहार
- सवारीसाधनमा रहेको हाते, स्वचालित तथा विद्युतीय सङ्केतको विनागल्ती स्पष्ट र ठीक समयमा प्रयोग गर्न सक्ने क्षमता
- ट्राफिक चापअनुसार सवारी सन्तुलन राख्ने क्षमता
- उकालो तथा ओरालोमा ब्रेक, गियर, एक्सिलेटरलगायतको उचित प्रयोग तथा नियन्त्रण
- गियरको तुरुन्त तर सुरक्षित परिवर्तन गर्न सक्ने क्षमता आदि
परीक्षण तरीका : चारपाङ्ग्रे तथा ठूला सवारी
- चलाउनुपूर्वको सावधानी र सुरक्षा परीक्षण यसअन्तर्गत सवारीको सीटबेल्ट, ऐना, सङ्केत, स्टार्ट जाँच तथा सवारी शिशाको प्रयोगविधि पर्छन् ।
- चित्र ‘एट’मा परीक्षण अङ्गे्रजी आठ आकारमा परीक्षण गर्ने, सवारी सन्तुलन
- स्पिड ब्रेकर परीक्षण : सवारी नियन्त्रण, ब्रेकको सही प्रयोगलगायत
- ट्राफिक सङ्केत परीक्षण : साइडलाइट प्रयोग विधि, जेब्राक्रसिङमा आवश्यक सावधानी र ट्राफिक लाइटको उपयोगलगायत
- र्याम परीक्षण
- उकालो, ओरालोमा गियर, ब्रेक तथा समग्र
- सवारी नियन्त्रण
- ग्यारेज पार्किङ परीक्षण
- ब्याक गियरको प्रयोग ऐनाबाट टाढा हेर्ने प्रयोगलगायत
मोटरसाइकलको हकमा परीक्षण तरीका
- चलाउनुपूर्वको सावधानी ः सुरक्षाका लगि हेल्मेट, पञ्जा तथा जुत्ताको प्रयोग
- साँघुरो काठमा परीक्षण ः साँघुरो सडकमा सुरक्षित तथा शीपपूर्ण तरीकाले मोटरसाइकल चलाउन
- अन्य मिल्ने परीक्षाहरू चरपाङ्ग्रे सवारीकै नियम लागू हुने अनुत्तीर्ण हुने अवस्था
- सीटबेल्ट, अगाडि–पछाडि तथा दायाँबायाँ हेर्ने ऐनाको प्रयोग उचित रूपमा नगरेमा,
- परीक्षणमा स्टार्ट बन्द भएमा
- चित्र आठ तथा यू–टर्नमा लाइनभन्दा बाहिर गएमा तथा साइड लाइटको प्रयोग नभएमा
- ट्राफिक सङ्केतको पालना नभएमा
- अन्य उल्लिखित सम्पूर्ण नियममध्ये कुनै पनि एकमा असफल भएमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।