साझा बसमा प्रिपेड सिष्टम

Share News

साझा यातायात सहकारीले यात्रुको सुविधाका लागि आगामी चैतको तेस्रो हप्तादेखि उपत्यकामा पुनः साझा  बस सञ्चालनमा ल्याउन लागेको छ । उपत्यकामा सार्वजनिक यातायात चढ्ने यात्रुहरूलाई सहजपूर्ण यातायातको सुविधा दिन पुनः साझा यातायात सञ्चालनमा ल्याउन लागिएको साझा यातायात सहकारीका प्रबन्धक महेन्द्रराज पाण्डे बताउँछन् । तर, साझा यातायात चढ्ने यात्रुले बसमा चढ्न अग्रीम पैसा तिर्नुपर्छ । ‘साझा यातायातमा यात्रा गर्ने सेवाग्राहीका लागि टिकटको व्यवस्था गरिएको छ,’ पाण्डेले भने, ‘कुनै पनि यात्रुले यात्रा गर्नुपूर्व टिकट किनेर मात्र चढ्नुपर्छ ।’ साझा यातायातलाई मर्यादित र व्यवस्थित बनाउन पनि अग्रीम टिकटको व्यवस्था गरिएको पाण्डेले बताए ।

यात्रुले टिकट लिए÷नलिएको नियमन गर्न बसभित्र क्लोज सर्किट टेलिभिजन (सीसीटीभी)समेत राखिनेछ । सीसीटीभीले टिकट लिए÷नलिएको अनुगमन गर्नुका साथै यात्रुको सुरक्षामा समेत सहयोग पुग्नेछ । नियमनका लागि गाडीभित्र दुईओटा सीसीटीभी राखिने पाण्डेको भनाइ छ । साझाले शुरूमा उपत्यकाभित्र दुई रुटमा बस सञ्चालनमा ल्याउनेछ । पहिलो चरणमा सातदोबाटो नारायणगोपाल चोक र कलङ्की एयरपोर्ट रुटमा बस सञ्चालनमा ल्याउन लागेको हो । हाल रुट परमिटका लागि यातायात व्यवस्था कार्यालयमा फाइल दर्ता गरिएको पाण्डेको भनाइ छ । साझाले सातदोबाटो, लगनखेल, जाउलाखेल, त्रिुपरेश्वर लाजिम्पाट हुँदै नारायणगोपालचोकसम्म एक रुट सञ्चालनमा ल्याउनेछ भने कलङ्कीदेखि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, नयाँबानेश्वर हुँदै एयरपोर्टसम्म अर्को रुट सञ्चालनमा ल्याउनेछ । तत्कालका लागि थोरै गाडी भएकाले रिङरोडमा भने नचलाइने साझाले बताएको छ । पहिलो चरणमा दुई रुटमा १६ ओटा बस सञ्चालनमा ल्याइने साझाले बताएको छ ।

हाल अन्य सार्वजनिक सवारीप्रदायक संस्थाहरूले सरकारी भाडादरभन्दा ५० देखि १ सय प्रतिशतसम्म बढी भाडा लिइरहेका छन् । यातायात व्यवस्था विभागले चक्रपथ परिक्रमाको अधिकतम भाडादर २५ रुपैयाँ निर्धारण गरे पनि व्यवसायीले भने यात्रुसँग ५० रुपैयाँभन्दा बढी लिँदै आएका छन् । त्यस्तै रिङरोडभित्र चल्ने सवारीसाधनमा पनि सरकारी भाडादरभन्दा बढी शुल्क लिँदै आएका छन् । तर, साझाद्वारा सञ्चालित सवारीसाधनमा भने सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी शुल्क तिर्न नपर्ने पाण्डेको दाबी छ । साझाले सञ्चालनमा ल्याएको बसमा दुईओटा ढोका रहेका छन् । पछाडिको ढोकाबाट यात्रु चढ्ने व्यवस्था गरिएको छ । अगाडिको ढोकाबाट मात्र ओर्लन मिल्नेछ । स्वीचमार्फत बसको ढोका खोल्ने तथा लगाउने व्यवस्था गरिएको छ । ढोका खोल्ने तथा बन्द गर्ने स्वीच भने चालकले नै चलाउनेछ । चालकद्वारा नै ढोका खोल्ने तथा बन्द गर्ने व्यवस्था भएपछि यात्रुहरू हतारमा चढ्दा वा ओर्लंदा दुर्घटना नुहुने पाण्डेको दाबी छ । हाल बसमा रङरोगन तथा ड्राइभिङ टेष्ट गर्ने काम भइरहेको साझाले जानकारी दिएको छ । 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।