चितवन गीतानगरका सूर्यबहादुर गुरुङले अहिले ‘डाइरेक्ट टू होम’ (डीटीएच) प्रणालीमार्फत टेलिभिजन हेर्ने गर्छन् । १ वर्षअघि केबलमार्फत टेलिभिजन हेर्दै आएका उनी त्यसबाट स्पष्ट नआएकाले डीटीएच सिष्टममा आकर्षित भएका हुन् । केबल प्रणालीमा बारम्बार समस्या आउने भएकाले डीटीएच प्रयोग गर्न थालेको उनको भनाइ छ । गुरुङ डीटीएच प्रयोग गर्ने प्रतिनिधि पात्र हुन् । टेलिभिजनका अन्य प्रणालीबाट डीटीएचमा आएका नेपालमा धेरै उदाहरण छन् ।
स्पष्ट तस्वीर तथा आवाज, छनोटअनुसारका च्यानल हेर्न सकिने व्यवस्थाले गर्दा डीटीएच अहिले धेरैको आकर्षणमा पर्न थालेको हो । व्यक्तिगत रूपमा स्याटेलाइटमार्फत टेलिभिजन जाडन गर्न महँगो हुने भएकाले पनि डीटीएचलाई अहिले उपयुक्त विकल्पका रूपमा लिन थालिएको छ । डीटीएच प्रविधि नेपालमा नयाँ भएकाले अबका केही वर्षमा यो धेरै ग्रामीण क्षेत्रमा फैलिने डिसहोम मिडिया नेटवर्क प्रालिका बजार तथा विक्री निर्देशक सुदीप आचार्यले बताए । डीटीएच डिजिटल प्रविधिमा आधारित हुने र यसमा केबलभन्दा निकै राम्रो तस्वीर आउने भएकाले नेपालमा यसको राम्रो भविष्य भएको उनी बताउँछन् । नेपालमा डिस होमले मात्र डीटीएच प्रणालीमार्फत डिजिटल च्यानल सेवा (स्मार्र्ट बक्स)को माध्यमबाट टेलिभिजन हेर्न सकिने सुविधा दिँदै आएको छ । सरकारले पनि नेपाल एनालग सिष्टमलाई विस्थापित गर्दै केबल सिष्टममा जाने तयारी गरिरहेको छ । त्यसका लागि एनालग सिष्टमबाट डिजिटलमा गएपछि केबल सेवाप्रदायक कम्पनीले पनि कारोबार तथा ग्राहक सङ्ख्या सरकारलाई बुझाउनुपर्छ ।
गाउँ गाउँ मा डीटीएच
भौगोलिक विकटता भएको नेपालजस्तो देशमा केबलमार्फत टेलिभिजन सञ्चालन गर्दा निकै महँगो पर्न जान्छ । यसैले नेपालका सबै ठाउँमा केबल टेलिभिजनको सम्भावना कमजोर देखिएको हो । तर, नेपालमा जब स्याटेलाइण्ट टेलिभिजन सञ्चालनमा आयो, यसले दूरदराजसम्म पनि टेलिभिजन हेर्न सक्ने सम्भावनालाई साकार बनाएको छ । यसको परिणाम अहिले नेपालका ग्रामीण क्षेत्रका घरको छतमा डीटीएच एण्टेना प्रयोग गरेको देख्न पाइन्छ । रिचार्ज कार्डमार्फत आफ्नो छनोटको च्यानल हेर्न सकिने भएकाले यसले ग्रामीण क्षेत्रका मानिसलाई अनावश्यक झन्झटबाट मुक्त गरिदिएको छ । वार्षिक रूपमा एकैपटक रकम तिरेर अथवा मासिक रिचार्ज कार्डको प्रयोग गरेर टेलिभिजन च्यानल हेर्न सक्ने अवधि यो प्रविधिअन्तर्गत बढाउन सकिन्छ । जडान गर्दा शुल्क केही बढी लागे पनि पछि भने यो निकै राम्रो माध्यम हुन सक्छ । ग्रामीण क्षेत्रमा मुख्य आकर्षण बन्न थालेपछि नेपालको एक मात्र डीटीएच सेवाप्रदायक डिस होमले सस्तो शुल्कमा उपलब्ध गराउने योजना बनाइरहेको आचार्यले बताए । डिस होमले एउटा छाताको माध्यमबाट एउटा टेलिभिजनबाट मात्र होइन, एउटै सानो छातामा बक्स राखेमा चार ओटासम्म टेलिभिजन सेटबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । त्यस्तै, एउटै घर, होटल, अपार्टमेण्टमा धेरै टेलिभिजन राख्न धेरै क्षमताको छाता राखेर टेलिभिजन प्रयोग गर्न सकिन्छ ।
किन डिजिटलमा च्यानल ?
विदेशी डीटीएचलाई विस्थापित गरी नेपाली टेलिभिजन सेवाप्रदायक कम्पनीलाई नियमन गर्न डिजिटल च्यानल प्रणालीमा जान जरुरी छ । अहिले नेपालका केही पहाडी भेग र तराईमा विदेशी डीटीएचका माध्यमबाट विदेशी च्यानल सञ्चालन भइरहेका छन् । आचार्यका अनुसार तराईमा १ लाखभन्दा बढी परिवारले विदेशी डीटीएचमर्फत टेलिभिजन हेर्दै आएका छन् । विदेशी डीटीएच प्रणाली अवैध रूपमा नेपाल भित्रिने हुनाले यसको प्रत्यक्ष प्रभाव कर सङ्कलन तथा नेपाली व्यवसायीहरूलाई पर्ने गरेको छ । त्यसमा पनि विदेशी डीटीएचमार्फत नेपाली च्यानल हेर्न सकिँदैन । यसलाई नियन्त्रण गर्न र केबलमार्फत च्यानल सेवा सञ्चालन गरिरहेकालाई नियमन गर्न पनि डिजिटलमा जानु आवश्यक छ । डिजिटल सिष्टममा गएपछि सबैले अनिवार्य कर बुझाउनुपर्ने हुन्छ । नेपालमा प्रसारणको अनुमति नपाएका च्यानल सञ्चालनमा आएमा यस्तो प्रणालीमार्फत रोक लगाउन सकिन्छ ।
डीटीएचको प्रतिस्पर्धी एमभीडीएस आउने
डिजिटल प्रविधिमा टेलिभिजन च्यानल प्रसारण हुनुले उपभोक्तालाई फाइदा हुन्छ नै । अझ डिजिटलको पनि नयाँ संस्करणको प्रयोग गर्न पाउनु रमाइलो कुरा हो । यसका लागि माई टीभीले दक्षिण एशियामै पहिलोपटक मल्टी भिडियो डिष्ट्रिब्युशन सिष्टम सेवा शुरू गर्ने भएको छ । यो प्रविधिमा रेडियो तरङ्गलाई एण्टेनामार्फत टीभीसम्म पुर्याउन सकिन्छ । त्यस्तो तरङ्गलाई टेलिभिजनसम्म पुर्याउन टावर निर्माण गरिएको हुन्छ । सोही टावरको सङ्केतका आधारमा नै टेलिभिजन च्यानल सञ्चालन गर्न सकिन्छ । कम्पनीले आगामी केही महीनाभित्रै सो सेवा सञ्चालनमा ल्याउने बताएको छ । कम्पनीका अनुसार सो प्रविधिबाट हाई डेफिनेशन (एचडी)मा आधारित १ सय ओटासम्म च्यानल हेर्न सकिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।