सन् १९९० को दशकअघि सिनेमामा प्रयोग हुने आवाजको बारेमा दर्शकको निकै गुनासो हुने गथ्र्यो । अस्पष्ट तथा आवाजको दोहोरोपनले गर्दा दर्शकले सिनेमामा पनि त्यस्तो फरक आवाजको अनुभव गर्न पाएका थिएनन् । यसले चलचित्रको कथानक राम्रो भए पनि प्रस्ट आवाजको अभावमा उत्कृष्ट प्रभाव पार्न सकेको थिएन । अहिले कतिपय सिनेमा त्यसको आवाज प्रणालीले गर्दा नै प्रसिद्ध भएको पाइन्छ । सिनेमाको आवाजलाई परिवर्तनको यो अवस्थासम्म ल्याउने प्रणालीको नाम हो, डोल्बी डिजिटल । सन् १९९२ मा ब्याटम्यान रिटर्नस नामक चलचित्रमा पहिलोपटक यस्तो आवाज प्रणालीको प्रयोग भएको थियो । यसको परिणामस्वरूप यस चलचित्रले बेष्ट म्युजिक इफेक्टको अवार्डसमेत पाएको थियो । सन् १९९४ सम्म यसलाई डोल्बी स्टेरियो नामले चिनिन्थ्यो । डिजिटल आवाजलाई कोडमा परिवर्तन गर्न सघाउ पुर्याउने यो आधुनिक प्रविधि हो । यसले उच्च गुणस्तरको आवाज समायोजन तथा सञ्चार गर्न सहज पुर्याएको छ ।
डोल्बी डिजिटल अडियो लेजर डिस्कदेखि लिएर डीभीडी भिडियो डिस्क, कम्प्युटरका लागि बनाइएको डीभीडी रोम डिस्क, डिजिटल प्रविधि प्रयोग गरिएको केबल लाइन, स्याटेलाइटबाट प्रसारण गरिने डाइरेक्ट ब्रोडकाष्ट स्याटेलाइटमा समेत प्रयोग गरेको पाइन्छ । अहिलेको प्लेब्याक प्रणालीमा पनि यसको प्रयोग गरेको पाइन्छ । यसको व्यापक प्रयोग भने हाई डेफिनेशन (एचडी) टीभीको प्रसारणका साथै डीभीडी, ब्ल्यू रे डिस्क तथा गेमिङका साधनमा प्रयोग गरेको पाइन्छ ।
डोल्बी डिजिटलको विकास मानिसको कानमा थप भार नपर्ने गरी बनाइएको छ । यसैले अहिलेका कतिपय चलचित्र सफल हुनुमा डोल्बी डिजिटललाई पनि प्रमुख कारण मान्ने गरिन्छ । यो प्रविधिले चलचित्र, डीभीडी तथा गेमिङमा स्पष्ट आवाज प्रदान गर्छ । अहिले ठूला चलचित्र अवार्डमा साउण्ड इफेक्टलाई विशेष प्राथमिकता दिइनुमा यसको आगमन प्रमुख कारण रहेको प्रविधिविज्ञहरू बताउँछन् ।
डोल्बी डिजिटललाई दृश्यसँग प्रत्यक्ष मिल्ने गरी ३५ एमएम रिलिज प्रिण्टमा क्रमबद्घ रेकर्ड गरिन्छ । चलचित्रको डाटा बक्स (भिजुअल तथा साउण्ड)मा रहेको प्वालमा यसलाई मिलाएर राख्ने गरिन्छ । डोल्बी डिजिटल प्रोग्रामले पाँच फरक दिशाबाट आवाज सम्प्रेषण गर्छ । साथै, यसमा रहने फरक किसिमको आवाजले नयाँ अनुभव दिलाउँछ । मानिसको सुन्ने क्षमताभन्दा १० गुणा कम ब्याण्डविथ क्षमताको हुने यो आवाजलाई प्वाइण्ट वान च्यानल भनेर पनि चिनिन्छ ।
डोल्बी डिजिटलका उपलब्ध संस्करणहरू
- डोल्बी डिजिटल ईएक्स
- डोल्बी डिजिटल लाइभ
- डोल्बी डिजिटल प्लस
- डोल्बी डिजिटल सराउण्ड ईएक्स
- डोल्बी डिजिटल रेकर्डिङ
- डोल्बी डिजिटल सिनेमा
- डोल्बी डिजिटल स्टेरियो क्रिएटर
- डोल्बी डिजिटल फाइभ प्वाइण्ट वान क्रिएटर
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।